• २०८१ बैशाख ८ शनिबार

अम्लान फूल : नेपाली गजलमा अर्को एउटा सुगन्धित पुष्प

kharibot

काठमाडौँ । भारतमा मुगल शासकको आगमन सँगै फारसी संस्कृति पनि भित्रियो र जहाँजहाँ मुगलहरूले राज्य गरे, त्यस ठाउँका शौरसेनी, पाली आदी भाषा बिस्थापित भएर अदालती र राजकीय भाषा फारसी हुनपुग्यो । फारसी भाषा सँगसँगै गजल पनि भित्रियो ।

मुगल शासनमा कविहरू गजल तर्फ पनि आकर्षित भए र गजल लेख्नको लागि फारसी सिक्नै पर्ने आवश्यकता भयो । दिल्लीमा शौरसेनी पाली भाषाको अपभ्रंश भाषा कागजी भाषा थियो र त्यस बेला आम मानिसले बोल्ने भाषालाई खडी बोली भनिन्थ्यो । फारसी भाषाको आगमन पछि दिल्लीमा फारसी र खडी बोली मिश्रित रूपमा बोलिन थालियो । त्यसबेलामा गजल फारसी भाषामा मात्र लेखिन्थ्यो । 

बाह्रौँ शताब्दीमा खुसरोले पहिलो पटक आम भाषा (खडी बोली) र फारसी भाषाको अनौठो सङ्गम गराएर गजलको सुरुवात गरे र यसलाई हिन्दवी भने । यसपछि गजल हिन्दवी र फारसी दुई भाषामा लेख्न सुरु भयो । मुसलमान सायरहरूले फारसीको साथ छोडेनन् भने अन्यले भने हिन्दवी भाषामा लेख्न थाले । 

आज हिन्दी भनेर बोलिने भाषाको सुरुवात यसरी भएको थियो । यही हिन्दी भाषालाई मधेसवादी दलहरूका नेताहरूले हामीले प्राचिनकालदेखि नै बोल्दै आएको भाषा भन्दा हाँसो उठ्छ । हिन्दुस्तानमा यसरी हिन्दवी र फारसी दुवै भाषामा गजल लेखिन थालिएपछि गजल हिन्दुस्तानका हरेक शहरमा व्याप्त हुन थाल्यो ।   

आज हिन्दी भनेर बोलिने भाषाको सुरुवात यसरी भएको थियो । यही हिन्दी भाषालाई मधेसवादी दलहरूका नेताहरूले हामीले प्राचिनकालदेखि नै बोल्दै आएको भाषा भन्दा हाँसो उठ्छ । हिन्दुस्तानमा यसरी हिन्दवी र फारसी दुवै भाषामा गजल लेखिन थालिएपछि गजल हिन्दुस्तानका हरेक शहरमा व्याप्त हुन थाल्यो ।   

मोतीराम भट्टभन्दा पहिले नै नेपालमा गजल सन् १८५९ मा बेगम हजरत महलसँगै (जसको चिहान अझै रत्नपार्कको उत्तरपूर्वमा पुलमुनि छ) भित्री सकेको थियो । नेपालगन्ज, दाङ्ग, बुटवल, राप्ती नदीका छेउछाउ र काठमाण्डौँमा बेगम हजरत महलसँग आएर बसेकाहरूले गजल नलेखेका होइनन् । तर थोरैले लेखे, फारसीमा लेखे र बुढापाकाको मुखबाट सुनिने बाहेक त्यसको कुनै प्रमाण भने प्राप्त छैन । बि।सं। १९२८ साल तिर मोतीराम भट्टको बनारस यात्रा पश्चात् बि.सं. १९४० सालमा नेपाली साहित्यमा गजल भित्रियो र यसको श्रेय मोतीराम भट्टलाई नै जान्छ । श्री ३ देव शम्शेर शिक्षित थिए, सुधारवादी थिए र मोतीराम भट्ट देव शम्शेरको चाकारीमा जाने गर्दथे । यिनैको संरक्षण प्राप्त मोतीराम भट्टले शिक्षाको साथसाथै साहित्यको क्षेत्रमा निकै योगदान दिए । बनारस बसाइमा मोतीरामले फारसी, उर्दू र सङ्गीतका साथै भारतेन्दु हरिश्चन्द्ररसँगको सङ्गतको प्रभावबाट गजललाई नेपाल भित्र्याए । देव सम्सेरको आशीर्वाद प्राप्त मोतीले यसको प्रबर्धन गर्न मोती मण्डलीको स्थापना गरे । देव सम्सेरलाई गजलमा रुचि थियो र आफै पनि “गजब” उपनामले गजल लेख्थे भन्ने भनाई छ । त्यसैले देव सम्सेरको पालामा मोतीलाई सजिलो भएको थियो । तर देव र मोतीको साथ देवको राजनैतिक अवसानका कारणले धेरै टिक्न भने सकेन ।

सन १८५७ को सैनिक विद्रोह समन गर्ने कार्यमै भारत पुगेका जंगबहादुरका भाइ धीर शम्शेरले लखनउबाट जौहर बानो या जौहर ज्यान (पछि गएर जुहार बेगमका नामले चिनिएकी जुद्ध शम्शेरकी आमा) लाई भित्र्याएका थिए भने रणोव्दिपको पाला देखि दरबारमा श्रीपञ्चमीको दिन देखि नाचगान गर्नको लागि भारतबाट उस्तादहरू झिकाइएका थिए । लखनउको नवाबी दरबारको इतिहासको समाप्तिका कारण नेपालमा शरण लिन आइपुगेकी बेगम हजरत महलसँग कतिपय तवायफहरू पनि नेपाल छिरेका थिए, जसका प्रमुख कार्य भनेको गानाबजाना र नाचगान नै थियो । यिनका नाचगाना र गानाबजानामा त्यस बेला प्रचलित कव्वाली, ठुमरी, दोहा र गजल आदी नै प्रयुक्त हुन्थे । यी सबैको समिश्रणबाट नेपालमा मुगल संस्कृति झाँगिन थाल्यो । धीर सम्सेकी ल्याईते महारानी जौहर बानोले दरबारमा आफ्ना सुसारेहरूलाई मुगल रिवाज अनुसार तमिज, अदब, खानपान र तौरतरिकाको तालिम दिएकी थिइन् । 

यहीँबाट कवाफ, पुलाव, खीर, बिरयानीका साथसाथै सुख्खा फलहरू काजु किसमिस आदी) को अत्यधिक प्रयोग हुन थाल्यो, जुन् मुगल खानामा अत्यधिक प्रयोग हुन्थे भने मुगल संस्कारमाझैँ सबैलाई आदर गरेर बोल्ने संस्कारको सुरुवात भयो र बोलिँदा उच्चआदरार्थि शब्दहरूको प्रयोग गरिन थालियो । दरबारमा “नमस्कार” को बदलामा दर्शन, हजुर, निगाह, जुनाफ, वली अहद आदी अनेकन् शब्दहरूको प्रयोगका साथै विशेष मौकामा दाम राखेर ढोग्ने चलन पनि सुरुभयो । स्मरण योग्य कुरा के भने यसभन्दा अघि राजा सुरेन्द्र ले जंगबहादुरलाई समेत आदरबिहिन ठाडो “खस” तथा “तँ” जस्ता शब्दहरूले सम्बोधन गर्दथे ।

मोतीरामले नेपालमा गजल भित्र्याए पनि लखनवी धारको श्रृंगारिक गजल भित्र्याए, दिल्ली धारका गजल भने भित्रिएनन् । भक्तिधारामा बगिरहेको नेपाली साहित्यले श्रृंगारिक गजलमा हुने बक्रोक्ति त राम्ररी ठम्याउन नसकेको अवस्थामा दिल्ली धारका गहन सुफिवादका लेप लागेका गजल कसरी बुझुन् ! 

मोतीरामले नेपालमा गजल भित्र्याए पनि लखनवी धारको श्रृंगारिक गजल भित्र्याए, दिल्ली धारका गजल भने भित्रिएनन् । भक्तिधारामा बगिरहेको नेपाली साहित्यले श्रृंगारिक गजलमा हुने बक्रोक्ति त राम्ररी ठम्याउन नसकेको अवस्थामा दिल्ली धारका गहन सुफिवादका लेप लागेका गजल कसरी बुझुन् ! यसैले मोतीरामपछि धेरै काल नेपालमा गजल ओझेलमा पर्यो । ज्ञानुवाकर पौडेल नै ती प्रथम व्यक्ति हुन् जसले नेपाली गजललाई व्युँताए । यसैले उनी स्तुत्य छन्, बन्दनीय छन् । त्यति बेला गजलको बारेमा विस्तृत अध्ययन गर्न न त यथेष्ट पुस्तकहरू थिए, न त पुस्तकालयमा गजल सम्बन्धी राम्रा पुस्तकहरू नै थिए, त्यतिबेलाको त्यो अवस्थामा ज्ञानुवाकरले आफ्नो सुझबुझ र ज्ञानले ठम्याएर गजल लेखे, गजललाई नेपालीमाझमा निक्कै चाखलाग्दो विधा पनि बनाए । यसको लागि उनी प्रातःस्मरणीय व्यक्ति हुन् ।  

नेपाल, भारत र अफगानिस्तानको पहाडी भूभाग र यससँग जोडिएका मैदानी भागमा समेत गाइने लोकगीतको ढब लगभग लगभग उस्तै छ । नेपालकै लोकगीतको मूल खोज्दै जाँदा भाषागत् आधारमा कर्णाली प्रदेशमा गाइने न्याउला लोकगीत पुरातन देखिन आउँछ । पहाडी भूभागका लोकगीतहरूको ढब जस्तै न्याउलाको पनि ढब छ । दुई दुई पाउमा बाँधिएका यी लोकगीतको पहिलो पाउले इतिहास, प्रकृति, लोकब्यबहार, भूगोल, रहनसहन, संस्कृति र आमजीवनको हरेक गतिविधि लगायात प्रायशः सबै कुराको जानकारी दिँदै पाउको पुछारमा अर्को पाउको लागि अन्त्यानुप्राश शब्द राखिएको हुन्छ । झट्ट हेर्दा लोकगीतका कप्लेट्स र गजलको शेरको प्रकृति र स्वरूप उस्तै उस्तै देखिन्छ । तर प्रकृति उस्तै देखिए पनि प्रविधि र आन्तरिक तत्त्वहरू भने उस्तै छैनन्, बेमेल छन् । लोकगीतमा जहाँ पहिलो पाउ र दोश्रो पाउ बीच भावगत अन्तरसम्बन्ध हुँदैन (यदाकदा हुन पनि जान्छ) तर शेरमा भने दुवै पाउ बीच भावगत अन्तरसम्बन्ध हुन्छ । नेपाली लोकगीत र शेरको संरचना ढाँचामा भएको यही मेलको कारणले नेपाली भाषामा गजल लेख्न सजिलो हुन गएकोले गजल फस्टाउँदै जाँदै छ । दुई पङ्क्तिमा सिङ्गै महाकाव्य निचोरेर राख्न सक्ने शेरको खुबी भएको कारणले नेपालमा गजल युवा पुस्तादेखि लिएर हरेकले अहिले कलम चलाउने विधा भएको छ । 

यही मेसोमा शान्ति शर्मा पनि आफ्नो दिवान (गजल सङ्ग्रह) “अम्लान फूल” लिएर आएकी छिन् । अम्लान फूलको बिमोचनमा परिस्थितीवस जान नपाएको हुटहुटी अघिल्लो हप्ता एक कार्यक्रममा शान्ति शर्माले उहाँको दिवान हातमा थमाइदिएपछि मेटिन त मेटियो, तर दिवान पढेपछि केही लेख्ने हुटहुटी फेरि जाग्यो र एक पाठकको हैसियतले अम्लान फूल गजल सङ्ग्रहका बारेमा केही बिचार राख्दै छु ।

“अम्लान” अर्थात् नओइलिने फूल । अधरमा सदैव मुस्कान सजाउनु हुने गजलगो शान्ति शर्माको व्यक्तित्व पनि लगभग एक फूलझैँ कोमल, सुगन्धित र मिनसार रहेकोले होला उहाँले आफ्ना गजलहरूलाई फूलको उपमा दिनु भएको छ ।

“अम्लान” अर्थात् नओइलिने फूल । अधरमा सदैव मुस्कान सजाउनु हुने गजलगो शान्ति शर्माको व्यक्तित्व पनि लगभग एक फूलझैँ कोमल, सुगन्धित र मिनसार रहेकोले होला उहाँले आफ्ना गजलहरूलाई फूलको उपमा दिनु भएको छ । यो सायद प्रकति नै हो, नारी फूलसित ज्यादा नजिक हुन्छन् र उपमामा पनि फूलकै ज्यादा प्रयोग गर्दछन् । त्यसैले श्रृष्टिका सम्बाहक डिम्बधारी नारी हृदयले आफ्ना फूलहरूलाई अम्लान भन्नुको अर्थ मातृत्वको सप्को ओढाएझैँ अनुभूत हुन्छ । मित्रलाल शर्मा स्मृति पुस्तकालयले प्रकाशन गरेको यस गजल सङ्ग्रहमा साठी वटा गजलहरू सङ्गहित छन् । थुप्रै पुस्तकको आवरण बनाएर ख्याति कमाइसकेका साहित्यकार तथा रेडियोधर्मि रमेश पौडेलले नै यसका सङ्ग्रहको आकर्षित आवरण बनाउनु भएको छ र सङ्ग्रहको नामलाई सार्थक पार्नु भएको छ ।  

मुगल साम्राज्यमा कालमा भारतमा गजलको दुई मुख्य केन्द्र थिए, दिल्ली र लखनउ । सत्रौं शताब्दी तिर जब दिल्लीमा बारम्बार सत्ताको लागि लडाई र आक्रमण हुनथाल्यो, तब सायरहरू लखनउतिर लागे । त्यसैले दिल्ली र लखनउ सायरीको दुई प्रमुख केन्द्र बन्न पुगे । दिल्ली मुगल शासनको सुरुवातदेखि केन्द्रीय स्थल रहँदै आएकोले यहाँ सुफिसन्तहरुको पनि निकै प्रभाव थियो । त्यसैले दिल्लीका सायरहरूको गजलमा सुफिवाद र मानवियताको प्रभाव थियो । तर भोग विलासको केन्द्र लखनउका गजलमा भने विलास, प्रेम र स्त्री प्रसङ्ग नै प्रमुख विषय बनेको थियो । मोतीराम भट्टले पनि लखनउ धारकै गजल ज्यादा लेखे । राणा शासनमा भक्तिधारा बाहेक प्रेमप्रसंगका रचनाहरू नै हुनु अनौठो थिएन । 

अम्लान फूलमा पनि धेरै जसो गजल यही लखनउ धारका छन् । साठीवटा गजलहरूमध्ये लगभग सबै गजलहरूका विषय प्रेमप्रसंग नै छ । यसैले मिलन, बिछोड, प्रेम पीडा आदिका प्रसंगहरू नै गजका शेरहरूमा पाइन्छ । तथापि, गैर मुसलसल गजलहरूमा भने केही शेरहरू सुफिवादी, आत्मपरक र दर्शनका पनि छन् ।

आँसुमा आगो छ र त पोल्छ
भोकमा विद्रोह छ र त बोल्छ (पेज ३८)

कहाँनेरि दुख्छ भनी नसोधिदेऊ बिन्ती
नरोऊ छरी मोतीदाना माया मेरै हुन् ती (पेज५०)

यसै गरी सुफिवादको चास्नीमा डुबाएर लेखएिको एउटा गजल छ (पेज ५८) 
सपना फूल र जूनको कुरै नगर्नू
पत्थर प्रेम र उनको कुरै नगर्नू
    
फारसी संस्कार, तौरतरिका, तमिज, अदब आदिका प्रभाव सुरु देखिनै गजलमा परेको कारण गजलमा प्रयुक्त हुने भाषा तथा शब्दहरू उच्चआदरार्थि र कोमल हुनु आवश्यक छ भने शत्रुलाई सम्बोधन गरिँदा समेत आदरार्थि र कोमल शब्दहरू नै प्रयोग गर्नु आवश्यक ठानिन्छ । यसैले गजलमा सिधा आक्षेप, लांक्षना र गाली बेइज्जती गरिँदैनन् । भाषा, शब्द, शब्दावली, कोमलता, हार्दिकता आदिका आधारमा हेर्दा यस सङ्ग्रहका गजलहरू मुलायम छन् । एकाध गजलमा र शेरहरूमा आक्षेप र लांक्षना पनि लगाइएका छन् । यसरी सिधा आक्षेप लगाउनुको साटो बक्रोक्ति प्रयोग गरेको भए कति सुन्दर हुन्थ्यो १ 

जिन्दगीभर आँसु झारेँ तिमै कारणले
चाहनालाई ज्युँदै मारेँ तिम्रै कारणले  (पेज ४५)

शासकको सानमा अदव, तमिज, आदर सन्मानका साथ पढिने कसिदाबाट गजल विकसित भएकोले गजलमा आक्षेप या लांक्षना लगाउनु गजलिय मर्यादा भित्र पर्दैन । साहित्यमा आफ्नो गँथासो सुनाए पनि त्यो आमव्यक्तिको दुख पीडाको रूपमा पोखिनु पर्छ । यो मान्यताबाट गजल पनि अछुतो भने रहेको छैन । 

गजल र शेरहरूमा आफ्नै गँथासोहरू, दुख पीडाहरू आत्मपरक रूपमा लेख्नुले आमव्यक्तिहरूका भावनालाई प्रतिनिधित्व गर्दैन । सङ्ग्रहका कतिपय गजल तथा शेरहरूमा यो कुरा दोहरिएको छ, ती शेरहरू निजात्मक छन्, आत्मपरक छन् । त्यसैले तिनका प्रभाव पाठकमा न्यून पर्दछन् ।

गजल एक गेय विधा भएकोले लय अत्यावश्यक छ र यो गजलको एक मूल तत्त्व पनि हो । गजल कहिन्छ तर गाइँदैन (अहिले गाइने पनि गरिन्छ, त्यो भिन्दै  कुरा हो) ।

जमातको केन्द्रमा बसेर कहिने गजलमा मिसराका दुवै पाउका ध्वन्यात्मक लम्बाइ समान नभएमा ९मिटर लामो छोटो भएमा० त्यसको श्रोतामा पर्न जाने असर न्यून हुन्छ । गजलको यस मूल तत्त्वलाई आत्मसात् गरेका गजलगोले संग्रहका गजलहरुमा लयलाई निक्कै ध्यान दिएका छन् । एकाध गजलका कुनै स्थानलाई छोडेर यस सङ्ग्रहका सबै गजलहरू लयात्मक छन् ।

नेपाली गजलको विडम्बना के छ भने यो सधैँ गीतको अत्यधिक प्रभाव र छायाँमा रहँदै आएको छ । अन्त्यानुप्रास गीतमा पनि हुन्छ र गजलमा पनि । तर गजल र गीतमा प्रयोग गरिने अन्त्यानुप्रास, जसलाई काफिया भनिन्छ, भने वास्तवमै फरक छन् । गीतमा प्रयोग गरिने अन्त्यानुप्रास स्वरसम भए पुग्दछ तर गजलमा यो स्वीकार्य हुँदैन, काफिया दोष देखा पर्छ र गजल नै अगजल हुन जान्छ । स्वरूपका आधारमा हेर्दा दोहा र शेर पनि उस्तै उस्तै नै देखिन्छन्, तर तात्विक भिन्नता भने छ । यस सङ्ग्रहका गजलहरू लयप्रधान भएता पनि कतिपय गजल भने गीतको प्रभावबाट मुक्त हुन सकेको छैन । यस आधारमा ती रचनाहरूलाई गजल नै भनिहाल्न मन मान्दैन । 

यो मुटुको मीठो स्वर अनि ताल तिमी
मेरो निःस्वार्थ प्रेमको उन्मुक्त छाल तिमी
माछी हुँ म त्यो मनको निश्चल पोखरीमा
एक्लै मुस्कुराउँदै तान्ने माया जाल तिमी (पेज २०)

इन्टरनेटमा नेपालीहरूको पहुँच बढ्न थालेसँगै गजल फेरि हाइलाइटमा आयो । गजलका बारेमा चर्चा परिचर्चा हुन थाले, लेखिन थालियो, वाचन हुन थाल्यो र गजलका बारेमा बुझ्नेहरूको जमात बढ्दै गयो । तर यसैको दुःश्परिणाम के भयो भने अहिले एकातिर गजलको बारेमा राम्ररी अध्ययन नै नगरी रदिफ काफिया र केही गजलका प्राविधिक शब्दहरूको ज्ञान नै यथेष्ट हो भन्ने ठानेर तुकबन्दी मिलाएर गजल गर्न थालिएको छ भने अर्कोतिर रातारात चर्चित हुने आशामा नेपाली भाषामा थुप्रै हिन्दी भाषाका शब्दहरू पनि प्रयोगमा आउन थालेका छन् । यसमा केही शब्दहरू त यस्ता पनि छन्, जसले अर्थको अनर्थ दिन्छ । यो प्रभावबाट अम्लान फूल पनि अछुतो रहेको छैन । मीठासपूर्ण पाठ गर्दै जाँदा बीच बीचमा आउने हिन्दी शब्दहरूले पाठकलाई किरिकिरि अवश्य लगाउनेछ । यसको सम्पूर्ण दोष लेखकलाई मात्र भने जाँदैन । सम्पादन नहुनु, भए पनि सूक्ष्म रूपमा नहेरिनु र देखिएका त्रुटि उपर बेवास्ता गर्नुले कृतिलाई नै कमसल तुल्याइदिने कुरा बिर्सनु हुँदैन । दर्द, खुस्बु, मस्ती, खिल्खिलायो, दर्दभरि, सान आदि शब्दहरूका नेपाली पर्यायवाची शब्द नभएका होइनन्, तर सम्पादक र गजलगो दुवैले अल्छी गरेको भने स्पष्ट महशुश हुन्छ ।

गजलमा तखल्लुस दुई प्रकारले प्रयोग गरिन्छ । पहिलो आत्मसम्वादका रूपमा र दोश्रो द्विअर्थात्मक रूपमा । आत्मसम्बादका रूपमा प्रयोग गर्दा आफैले आफैलाई सम्बोधन गरिन्छ । द्विअर्थात्मक रूपमा तखल्लुसको प्रयोग गर्दा तखल्लुस प्रयोग गरिएको स्पष्ट बोध नगराई तखल्लुसलाई शेरको एक शब्दका रूपमा नै प्रयोग गरिन्छ ।

गजलमा तखल्लुस दुई प्रकारले प्रयोग गरिन्छ । पहिलो आत्मसम्वादका रूपमा र दोश्रो द्विअर्थात्मक रूपमा । आत्मसम्बादका रूपमा प्रयोग गर्दा आफैले आफैलाई सम्बोधन गरिन्छ । द्विअर्थात्मक रूपमा तखल्लुसको प्रयोग गर्दा तखल्लुस प्रयोग गरिएको स्पष्ट बोध नगराई तखल्लुसलाई शेरको एक शब्दका रूपमा नै प्रयोग गरिन्छ । सङ्ग्रह भरी गजलगोले सोह्र स्थानमा तखल्लुसको प्रयोग गरेका छन् र दुवै प्रकारले प्रयोग गरिएका ती तखल्लुस साह्रै कलात्मक, अर्थपूर्ण र अनुकरणीय छन् । यस आधारमा तखल्लुसको प्रयोगमा गजलगो पूर्णरुपमा सफल भएका छन् ।
 
गजल लेखिँदैन, यो त फुर्छ पो १ यसैले भावको संवेगमा बहँदै जाँदा कतै कतै श्रृंखला टुटनु या शेरका मिसरा–ए–उला र मिसरा–ए–सानि बीच भावको तादात्म्यता नमिल्नु स्वाभाविक हो । एकाध शेरहरूमा यो कमजोरी स्पष्ट देखिन्छ, तथापि, यो क्षम्य छ । गजलका बान्की हेर्दा सबै गजलमा प्रयोग गरिएका भाषा कतै सरल छन्, कतै झर्रो नेपाली छन् त केही गजलहरू काव्यात्मक र कलात्मक अभिव्यक्तिहरूका पनि छन् । समयको विभिन्न कालखण्डमा श्रृजित रचनाहरूमा यसरी अभिव्यक्ति दिने भाषमा एकरूपता नहुनु स्वाभाविक नै हो । गजलहरू सरस छन्, यिनमा कुनै छलकपट छैन, मिलावट छैन र जीवनको भोगाइ र बोध भएका सत्यलाई गजलगो स्पष्ट रूपमा लेखेका छन् । यस सङ्ग्रहका गजलहरूमा श्रृंगार, करुण र शान्त रसको प्रधानता पाइन्छ । गजलका कतिपय शेरहरूले निश्पृत गरेका श्रृंगार रसले कतै बडो सुखानुभूति दिन्छन्, प्रेमको काल्पनिक लोकमा बिचरण गराएर छुट्टै प्रकारको सुखानुभूति दिन सक्षम छन् । यसै सङ्ग्रहका करुण रसका शेरहरूले मन द्रविभूत पार्न पनि पछि पर्दैनन् । पढ्दै जाँदा पीडा बोधले आँखा रसाएको पत्तै हुँदैन । कतै कतै गजलगोले स्थितप्रज्ञ भएर शान्त रसको सरिता पनि बहाएका छन् ।  

मान्छेको लेखाइमा उसको शिक्षा, ज्ञान, विवेक र चेतना मात्र होइन, आमाबाबुले दिएको संस्कार समेत जोडिएको हुन्छ, लेखाइमा ती कुराहरूको हरेक स्पष्ट आउँछ । यस आधारमा हेर्दा यस सङ्ग्रहका सबै गजलहरू साह्रै सुन्दर छन् । गजलमा कतै कुनै उत्ताउलोपन छैन, भाषा सौम्य छ, बिचार स्पष्ट छ । यो गजलगोको पहिलो कृति भएता पनि यसमा भएका एकाध मिहिन त्रुटि बाहेक कुनै अक्ष्यम्य गल्ती नहुनुले गजलगो आफ्नो कर्ममा प्रतिबद्ध भएको आभाष दिन सक्नुलाई म सफलता नै ठान्दछु । मान्छेले प्राण विसर्जन गरेपछि मात्र कर्महीन हुन्छ । त्यसैले आउँदा दिनमा गजलगोले औँल्याइएका त्रुटिहरूलाई हटाउँदै अझ राम्रो कृति लिएर आउन अवश्य सफल हुनेछ भन्नेमा विश्वस्त छु । 

हार्दिक शुभकामना । 

कृति : अम्लान फूल
कृतिकार : शान्ति शर्मा
विधा : गजल
प्रकाशक : मित्रलाल शर्मा स्मृति पुस्तकालय  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै