• २०८१ बैशाख १४ शुक्रबार

बाँकेमा कार्यविधि नहुँदा सञ्चालन हुन सकेन खुला कारागार

kharibot

राँझा । बाँकेको गनापुरमा दुई वर्षअघि नै खुला कारागारको संरचना तयार भए पनि कार्यविधि नभएका कारण सञ्चालन हुन सकेको छैन ।

नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा करिब एक करोड ७५ लाख लागतमा ३६ कोठे खुला कारागार भवन दुई वर्षअघि निर्माण भइसकेको छ। खुला कारागार परिसरमा एकदशकअघि नै निर्माण भएको साढे दुईतले १८ कोठे प्रशासनिक भवन जीर्ण हुँदै गएको छ । 

खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि सञ्चालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको बाँके जिल्ला कारागार प्रमुख जेलर रामकुमार सोनकरले बताए  । 

उनका अनुसार, दुई तिहाइ कैद भुक्तान गरिसकेका र आचरण सुधार भएका कैदीलाई निश्चित शर्तका आधारमा खुला कारागारमा राख्ने अवधारणाअनुसार बाँकेको गनापुरमा खुला कारागार स्थापना गरिएको हो ।

खुला कारागार सञ्चालन कार्यविधि नबन्दै भौतिक संरचना निर्माण भएका कारण अहिले संरचना बेवारिसे अवस्थामा पुगेका हुन् ।

खुला कारागार सञ्चालनका लागि सुझाव पठाए पनि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआएको जेलर सोनकरको भनाइ छ । 

खुला कारागारमा कैदी बस्ने ३६ कोठे दुई वटा भवन छन् । दुवै भवनमा कैदीका लागि ६–६ वटा शौचालय छन् ।

खुला कारागार परिसरमा निर्मित कारागार भवन र प्रशासनिक भवन एकजना चौकीदारको भरमा छोडिएको छ । 

संरचना निर्माण भएको ठाउँमा खुला कारागारको छ बिघा र तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ ।

उक्त जमिन खुला कारागारमा राखिएका कैदीलाई खेतीका लागि दिने नीति अघि सारिएको थियो ।

“कैदीले दिनभरि खेतीपातीको काम गर्ने र बेलुकी खुला कारागारमा आएर हाजिरी लगाउने र त्यहीँ बस्ने अवधारणाका साथ खुला कारागार बनाइएको हो”, जेलर सोनकरले भने ।

खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य रहेका छन् ।

तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या भएको जेलर सोनकरले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै