• २०८१ बैशाख ८ शनिबार

बाल चित्रकथा ‘सपनाको व्यापारी’ प्रकाशित

kharibot

काठमाडौं । टर्किस लेखक मिनिके गिन्युसको बाल चित्रकथा ‘सपनाको व्यापारी’लाई कथालयले प्रकाशन गरेको छ ।

कथालाय इन्कका डाइरेक्टर राजीवधर जोशीले यसलाई नेपाली भाषामा अनुवाद गरेका हुन् । यसमा वागर अघाईका चित्र समावेश छन् । 

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा उपस्थित छन् ।

कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग परेको छ । किनकि ऊ सानो भए पनि उसका सपना निकै ठूला छन् । 

सानोपंखी चरा सपनाका व्यापारी आउनेबारे बुझ्न उल्लुकाकालाई सोध्न पुग्छ । त्यसपछि उनीहरू अघि बढ्छन् ।

एकाएक आकाशमा रंगीबिरंगी चराहरू देखा पर्छन्, ती बिस्तारै कागहरूको देशमा आइपुग्छन् ।

बहुमूल्य सामान लिएर आएका ती सपनाका व्यापारीले सबैलाई आफ्नो रुचिअनुसारको सामान बेचेर फर्कन्छन् ।

ठूलाठूला सपना बोकेर हिँड्ने सानोपंखीको रोजाइमा कुन सामान पर्यो होला ? के त्यसबाट ऊ खुसी भयो होला ?

यसमा सानोपंखीको मनोदशालाई पनि प्रस्तुत गरिएको छ । 

सात वर्ष वा त्यसभन्दा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न यो कथा उपयुक्त छ । यसमा चराहरूको संसार प्रस्तुत गरिएकाले बालबालिकालाई कल्पनाशील बनाउन पनि सिकाउँछ ।

३० वर्षयता लेखन र प्रकाशनको क्षेत्रमा सक्रिय गिन्युसको जन्म सन् १९६८ मा भएको हो ।

टर्कीको राजधानी इस्तानबुलमा प्राथमिक शिक्षा हासिल गरेकी उनले बोगाजिकी विश्वविद्यालयमा टर्किस भाषा र साहित्यको अध्ययन गरिन् ।

१९९२ देखि १९९४ सम्म अंग्रेजी शिक्षकको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ ।

१९९४ मै मास्टर्स डिग्री हासिल गरेकी उनले सन् २००१ मा डक्टरेटको उपाधि लिइन् । 

बालबालिकाका लागि उनका २० भन्दा बढी पुस्तक प्रकाशनमा छन् । विशेषगरी टर्कीको प्राथमिक तहका लागि उनले किताव लेखेकी छन् । 

पुस्तककी चित्रकार अघाईको जन्म १९९२ मा तेब्रिजमा भएको हो ।

तेहरान विश्वविद्यालयबाट टेक्सटाइल र फेसन विधामा स्नातक उनले चित्रकारितामा स्नातकोत्तर पूरा गरिन् ।

हाल उनी यिल्डिज प्राविधिक विश्वविद्यालयबाट कला र डिजाइनमा पीएचडी गरिरहेकी छन् । उनले २००८ देखि बालबालिकाका पुस्तकमा चित्र बनाउन थालेकी हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै