• २०८१ बैशाख ८ शनिबार

गठबन्धनको आस र त्रासमा माओवादी

kharibot

काठमाडौं । सरकारले मङ्सिर ४ गतेका लागि एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै देश अब आम निर्वाचनमा होमिएको छ । संबिधान निर्माणपछि भएको निर्वाचनको ५ बर्षे कार्यकाल समाप्त हुदै गर्दा दोस्रो आम निर्वाचनमा देश जाने निश्चित भएको छ । यस अवसरमा हाल गठबन्धनसँग सत्तामा रहेको माओवादी केन्द्रका कस्ता चुनौती रहेका छन् ? कस्तो रणनितिसहित माओवादी निर्वाचनमा जानसक्छ भन्ने बारे विश्लेषण गरिएको छ ।

माओवादी केन्द्र र प्रचण्ड पर्याय नै हुन् । प्रचण्ड अहिलेको नेपालको राजनीतिमा चतुर खेलाडी हुन् । उनी जनयुद्धपछि संसदीय राजनीतिमा छिटो अंकगणितीय राजनीति सिकेका नेता पनि हुन् । अघिल्लो निर्वाचनमा सत्तामा रहेकै बेला एमालेसँग पार्टी एकीकरणको घोषणा सहित गठबन्धन गरेर देशलाई तरंगित गरेका थिए । त्यसपछि निर्वाचनमा पाएको सफलता, ओलीसँगको असमझदारी हुदै पार्टी पूर्ववत अवस्थामा फर्किनेसम्मको घटनाक्रममा प्रचण्ड सधै सत्ताको केन्द्रमा रहे । नेकपा बिघटन भयो, ओलीले बालुवाटार छोड्ने अवस्था आयो तर प्रचण्ड जहाँ थिए त्यहि नै छन् । उनी सत्ताको केन्द्रमा नै छन् । अब यस निर्वाचनमा पनि उनी माओवादीको सोहि भूमिका हासिल गर्ने रणनीतिका साथ निर्वाचनमा जादै छन् र उनले अन्तिम पटक देशको नेतृत्व गर्ने महत्वकांक्षा सार्बजनिक रुपमा व्यक्त पनि गरेका छन् । यसमा उनका अगाडी धेरै चुनौती अवश्य छन् । यसबारे चर्चा गरौँ ।

गठबन्धन

अहिले प्रचण्डलाई सफलता दिलाउने प्रमुख आधार गठबन्धन भएपनि गठबन्धन नै उनको अगाडी प्रमुख चुनौती पनि रहेको छ । स्थानीय चुनावमा कार्यकर्ताको तहसम्म गठबन्धन हुन नसक्दा खासगरी माओवादी केन्द्रले पछिल्लो चुनावमा जस्तो सफलता पाउन नसकेको देखिए पछि यसको कार्यान्वयन चुनौती पूर्ण रहेको छ । गठबन्धनमा सबैभन्दा बढी जनाधार रहेको काँग्रेसका धेरै जसो नेता कार्यकर्ता गठबन्धनका नाममा माओवादीलाई भोट हाल्ने पक्षमा देखिदैनन । काँग्रेसको नेतृत्व पनि कुनै न कुनै रुपमा प्रचण्डलाई 'साइज' मा राख्ने रणनीतिमा रहेको देखिन्छ । संसदमा माओवादीको अहिलेभन्दा बढी उपस्थिति रहेमा प्रचण्डको सत्तामा बार्गेनिंग पावर बढ्नेमा कांग्रेस नेतृत्व सचेत छ ।

तर प्रचण्ड भने गठबन्धनकै सहारामा माओवादीलाई निर्णायक दल बनाउने रणनीतिमा रहेका छन् । चुनावपछिको परिस्थितिमा माओवादी बिना केन्द्रमा सरकार बन्न नसक्ने अवस्था सिर्जना गर्ने अहिलेको माओवादी केन्द्र र प्रचण्डको रणनीति हो । अब यसका लागि काँग्रेसले गठबन्धनमा रहेका दलहरुसँग कसरी सिट बाँडफाँडमा सहमति जनाउछ भन्ने कुरामा निर्भर गर्दछ ।

त्यस्तै अर्कोतर्फ निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गर्दा गठबन्धनका दलहरु एकै निर्वाचन चिन्हमा चुनाव लड्न सक्ने प्रावधान राखेपछि केहि आशंका बढेको छ । यसमा पनि प्रचण्डको रणनीतिक मुभ होकी भन्ने आशंका गरिएको छ । केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै समझदारी गरेर चुनावपछिको भागबण्डा गरेर गठबन्धन एउटै चुनाव चिन्हमा चुनाव लड्छकी भन्ने आशंका पनि गरिएको छ ।

जे होस् अहिले प्रचण्ड नत गठबन्धन छोड्न सक्ने अवस्थामा छन् नत गठबन्धनबाट आफ्नो राजनीतिक ऊद्देश्य पुरा हुन्छ भन्नेमा ढुक्क रहेका छन् । उनी अहिले गठबन्धनको आस र त्रासमा रहेको देखिन्छ ।

कमजोर संगठन

माओवादी केन्द्रको पार्टी संगठन प्रचण्डको वरिपरी नै रहेको छ । देशभर संगठन रहेपनि त्यो माओवादी एक्लै सत्तामा राखिराख्ने तहको छैन । महाधिवेशन पछि केन्द्रमा पदाधिकारी चयन गर्नमै प्रचण्डले सकेका छैनन् । आन्तरिक रुपमा पार्टीमा प्रचण्डपछिको उत्तराधिकारीका लागि भएका अन्तरसंघर्षले माओवादी केन्द्रको संगठन निर्माणमा असर गरेको छ । धेरै जसो पछिल्ला निर्वाचनमा गठबन्धन नै गरेर भाग लिएकाले माओवादी नेतृत्वको कुनै पनि निर्वाचनमा असली परीक्षा भएकै छैन । गत निर्वाचनमा एमालेसँग तालमेल गरेर चुनाव लडेको माओवादी केन्द्र यस पटक काँग्रेससहितका दलसँगको तालमेल पछि कम्तिमा अहिले कायम रहेका सिट जोगाउनुपर्ने चुनौती रहेको छ । यसका लागि माओवादीको चुस्त संगठानिक अवस्था देखिदैन ।

सधै सत्तामा

माओवादी केन्द्र पछिल्ला सरकारहरुमा प्राय: सबै सरकारमा सहभागी रहेको छ । सधै सरकारमा रहने र सरकारले गरेका नराम्रा कामको अपजस आफुले नलिने माओवादीको प्रवृति देखिएको छ । जस्तो ओली नेतृत्वको सरकारमा एकै पार्टीको रुपमा माओवादी पनि सरकारमा थियो । तर चलाख प्रचण्डले तिन बर्षभन्दा बढी ओलीको नेतृत्वको सरकारले गरेका सबै नराम्रा कामको दोष ओलीलाई लगाएर आफु उम्किए । तर यथार्थ त्यस्तो होइन । सँगै सरकारमा रहेर, सोहि क्याबिनेटले गरेका निर्णयको भागीदार माओवादी पनि हो र हुनुपर्छ तर यथार्थमा त्यस्तो देखिएन । अघिल्लो चुनाव अघि पनि माओवादीले अर्थात् प्रचण्डले यस्तै गरेका थिए । आफु सत्तामा काँग्रेससँग साझेदार बनेर सत्ताको स्वाद लिइनै रहे ।

चुनाव अघि एमालेसँग तालमेल र पार्टी एकता गरेर सरकारका सबै नराम्रा कामको अपजस काँग्रेसलाई भिराइदिए । जसको असर काँग्रेसलाई चुनावमा पर्यो र नराम्रोसँग पराजित हुन पुग्यो ।

यस पटक भने माओवादी केन्द्र सत्तामै रहेर चुनावमा जादै छ । यस बिचमा अर्थमन्त्री जनार्दन शर्मा प्रकरण निकै चर्किएको छ । शर्मालाई दोहोराएर अर्थमन्त्री बनाएको मुल्य माओवादीले चुनावमा चुकाउनुपर्ने हुनसक्छ । अर्थमन्त्रीको रुपमा शर्माले राम्रो काम गर्न नसकेको आमरुपमा बुझाइ छ । बजेट निर्माण विवादित बनेको, अर्थमन्त्रीले गलत निर्णयह लिएका कारण अर्थतन्त्र संकटमा परेको आरोप अर्थमन्त्रीसहित सिंगो माओवादीलाई रहेको छ । अब यी सब आरोप र आलोचनालाई लिएर माओवादी केन्द्र चुनावमा जादै छ । गठबन्धनको सहारा भएपनि सधै सत्ता केन्द्रित राजनीति गरेको माओवादी केन्द्रलाई यो चुनाव सोचे जस्तो सजिलो देखिदैन । 

निष्कर्षमा, माओवादी केन्द्र अर्थात प्रचण्ड काँग्रेससहितका गठबन्धनका दलहरुसँग चुनावमा जाने निश्चित नै भयो । यस अघि समाजवादी केन्द्र बनाउने, एमालेसँग नै तालमेल गर्ने जस्ता प्रयास नभएका होइनन् तर अब निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा गठबन्धनले तालमेल गरेर जाने निर्णय नै गरिसकेको छ । रणनीतिक रुपमा माओवादी केन्द्र चुनावपछि फेरी पनि तेस्रो दल तर निर्णायक पार्टी बन्ने अवस्था देखिने संकेत त देखिन्छ तर अंकगणितीय रुपमा कति शक्तिशाली बन्छ या अहिलेको जस्तै शक्तिशाली बन्छ भन्नेमा भने चुनौती रहेको देखिन्छ ।

गठबन्धनप्रति आमरुपमा रहेको नकारात्मकता, सधै सत्तामा रहेर पनि ठोस रुपमा काम गर्न नसकेको, प्रचण्ड केन्द्रित पार्टी र राजनीति जस्ता कुराले माओवादीलाई चुनावमा अपेक्षित सफलता पाउने कुरामा बाधक रहेको देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै