• २०८१ बैशाख ८ शनिबार

बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले देशका विभिन्न स्थानमा बाढी पहिराका कारण जनजीवन प्रभावित भएको जनाउँदै प्रभावितलाई तत्काल उद्धार एवम् राहतको प्रबन्ध गर्न सरकारसंग माग गरेका छन् ।

बैठकको शून्य समयमा बोल्ने अधिकांशले सांसदले प्राकृतिक विपत्तिसँग लड्ने प्रभावकारी कार्यक्रम र योजनाको प्रबन्ध गर्न माग गरेका छन् । बैठकमा सांसद नविना लामाले मङ्गलबार रातिको अविरल वर्षाका कारण काठमाडौँका विभिन्न नदी करिडोरमा क्षति पुर्याएको जनाउँदै प्रभावितलाई राहतको प्रबन्ध गर्न माग गरीन् ।

सांसद नरबहादुर धामीले गत वर्षको बाढी प्रभावितले अहिलेसम्म राहत नपाएको गुनासो गरे । सांसद नारायणप्रसाद खतिवडाले  मङ्गलबार रातिको अविरल वर्षाका कारण नुवाकोट  जिल्लाका विभिन्न स्थानमा बाढी र पहिराले जनजीवन प्रभावित पारेको जनाउँदै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरे ।

सांसद दलबहादुर रानाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहाडी र हिमाली क्षेत्रमा तटबन्धको कार्यक्रम अगाडि नबढाएकामा गुनासो गर्दै त्यस्ता कार्यक्रम तत्काल सुरु गर्न माग गरे । सांसद दिलकुमारीले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण गरी नागरिकताविहीन नागरिकको समस्याको समाधान गर्न राष्ट्रपतिको ध्यानाकर्षण गराइन् ।सांसद दीपकप्रकाश भट्टले महाकाली सिँचाइ आयोजनाको निर्माण ढिलो भएको जनाउँदै तालुकदार मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद दुर्गाबहादुर राउतले जनयुद्धका क्रममा घाइते तथा अपाङ्गता भएका नागरिकले आवश्यक राहत तथा सुविधा पाउन नसकेको हुँदा तत्काल समस्या समाधान गर्न आग्रह  गरे । सांसद दुर्गाकुमारी विकले तरकारी तथा फलफूल आयात गर्दा गैरखाद्य पदार्थ रहे नरहेको परीक्षण गर्ने व्यवस्था भन्सारहरुमा जडान गरिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन् । सांसद दुर्गा पौडेलले बढ्दो आत्महत्याको कारण पत्ता लगाउनुपर्नेमा जोड दिइन् ।

सांसद देवप्रसाद गुरुङले प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा संविधान र कानुनले रिक्तताको परिकल्पना नगरेको भन्दै उनले तत्काल कानुन ल्याउनुपर्नेमा जोड दिइन्  । सांसद प्रकाश रसाइली स्नेहीले मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयभित्र अनियमितता भइरहेको गुनासो सुनिएको जनाउँदै यस्ता अधिकारीलाई कारबाहीको दायरामा ल्याउन माग गरे  । सांसद प्रमिला राईले अविरल वर्षाका कारण उदयपुरका नागरिक  असाध्यै प्रभावित भएकाले उनीहरुको गाँसबासको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद प्रेम सुवालले पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न माग गरे ।

उनले काठमाडौँ उपत्यकाभित्र हेभी सवारी साधन चल्दा जनजीवन प्रभावित भएको जनाउँदै यसलाई रोक्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै