• २०८१ बैशाख ८ शनिबार

काव्य र चोरी

kharibot

विपुल सिजापति

नेपाली साहित्यमा चोरीका धेरै कुराहरु आएका छन् । निबन्धमा शंकर लामिछाने, कथामा रमेश विकल, विशेश्वर कोइराला र कवितामा लेखनाथ पौड्याललाई पनि चोरीको बात लागेका छन् । केही अघि एउटा हिलो लाग्छ नाइलनको सारीमा बोलको गीतलाई लिएर संगित चोरीको (यस बारेमा पछि चर्चा गरिने छ) पनि निक्कै चर्चा भएको थियो ।

काव्यको सुरुवात लोकगीतबाट भएकोमा कुनै शंका छैन । संसारका हरेक लोकगीतमा पाइने प्राचीन तत्त्व भनेको अन्त्यानुप्राश हो र यस आधारमा संसारका हरेक लोकगीतको ढब उस्तै छ, जसको वर्णन तल गरिने छ । काब्यमा अन्त्यानुप्राशबाट उच्चारणगत लम्बाई (मिटर या फोनेटिक लेन्थ) बराबर गर्ने र उच्चारणगत लम्बाईलाई पनि व्याकरणीय सुद्धताको आधारमा (सिलेविक लेन्थ) बराबर गर्ने परम्परा वैदिक कालमै विकास भयो र छन्द (जेन्द) को निर्माण भयो ।

(होर्नुहोस् काव्यको प्रारम्भ विन्दु वेद)

वैदिक कालदेखि नै काव्यमा अनुकरण गर्ने कार्य भएको छ । धेरै कविहरुले नयाँ छन्द निर्माण पनि गरेका छन् र छन्द निर्माण गर्न नसक्ने कविहरुले स्थापित पुरानै छन्दमा काव्य लेखेका छन् । तथापि, अरुले प्रयोग गरेका शब्द या पाद (पदांश) नगरी लेख्न असम्भव छ ।

नात्स्यचौरः कविजनो नात्स्यचौरो वणिग्जनः
उत्पादकः कविः कश्चित् कश्चिच्च परिवर्तकः
आच्छादकस्ता चान्यस्तथासंवर्गकोपरः

चोरी नगर्ने कुनै व्यापारी छैन चोरी नगर्ने कुनै कवि छैन । कुनै कवि उत्पादक हुन्छन् नयाँ रचना गर्छन्, कुनै कवि परिवर्तक हुन्छन् अरुको रचनालाई फेरबदल गरेर आफ्नो बनाउँछन्, कोही कवि अच्छादक हुन्छन् अरुको सबै रचनाका लुकाएर आफ्नो प्रचार गर्छन् भने कोही त डाँकु नै हुन्छन्, अरुको रचनालाई खुल्लमखुल्ला आफ्नो भनेर प्रकाशन गर्दछन् ।

चोरी कारण र कारक

प्रशंसा मानिसको कमजोरी हो । रुप गुण र सामथ्र्यको प्रशंसाको लागि मानिस सदैव लालायीत हुन्छ र यो श्रजनाको एक मूल पनि हो । सरस्वतीले सवैलाई एक न एक कला दिएकी हुन्छिन्, कोही गाउन जान्दछन्, कोही बजाउन, कोही चित्र कोर्न, कोही निर्माण गर्न इत्यादी । यिनै एक कलाको भरमा मानिसले आफ्नो पेट भर्ने गर्दछ । तथापी, यिनै कला मध्ये पनि जीविकोपार्जन गर्ने कला भने समाजमा गौँड देखिन्छ । एक सिकर्मी झ्याल ढोका बनाउन दक्ष छ र त्यसमा कार्चोपी गर्न सक्दैन भने मानिसको नजरमा त्यो प्रशंसा लायक कला नभएर सामान्य जीविकोपार्जन गर्ने क्षमता मात्र हुन्छ । यसरी जीविकोपार्जक कलालाई सबैले सरल रुपमा लिन सक्दैनन् या चाहँदैनन् र आफूमा निहित या आकर्षित अन्य कलाबाट प्रशंसित हुन चाहन्छन्, यो कारण हो भने मानविय कमजोरी, आफ्नो क्षमता र विधाको अपूर्ण ज्ञान, समयाभाव र बिना परिश्रम प्रशंसित हुने चाहना कारक हुन्, जसले चोरी गर्न पुग्दछन् ।

कसैबाट काव्य रचना सम्भव हुनुको पछाडि बिद्वानहरूले तीन प्रमुख कारणहरूको उल्लेख गरेका छन्, शक्ति, व्युत्पत्ति र अभ्यास । शक्ति या प्रतिभा दुई प्रकारका हुन्छन्, सहजा अर्थात जन्मजात्, (उदाहरार्ण महाकवि देवकोटा जन्मजात विलक्षण प्रतिभाका धनी थिए) र उत्पाद्या अर्थात् गहन अध्ययन । समाधी अर्थात् मनको एकाग्रता या मानसिक परिकल्पना (भित्री प्रयत्न) र अभ्यास (बाहिरी प्रयत्न) को संयोगबाट शक्ति उत्पन्न हुन्छ ।  

प्रतिभा जन्मजात नभए पनि शास्त्र, विधा, लौकिक ज्ञान आदिको सूक्ष्म अवलोकन र गहन अध्ययनबाट शक्ति उत्पन्न गर्न सक्षम व्युत्पत्ति मानिन्छ । तथापि, शक्ति र व्युत्पत्ति दुवै नै कलाको लागि अनिवार्य मानिए पनि अभ्यास बिना काव्य रचना सम्भव छैन । शक्ति र व्युत्पत्तिको अभ्यासबाट मात्र उत्तम काव्य रचना सम्भव छ ।

गीत पनि काव्य हो र काव्य रचनाको लागि शिक्षा, संस्कार, संगाती, रचना, शब्द, अर्थ, अलंकार, उक्ति, रस, मार्ग शास्त्रार्थ गुण आवश्यक मानिन्छ । यी मध्येका तीन गुणहरु पनि नभए काव्यकार मानिदैन । एक सक्षम काव्यकार हुनको लाथि विद्या तथा उपविद्या (गीतवाद्य ६४ कलाहरुको ज्ञान) बाहेक सज्जन विद्वानको संगाती, देशवार्ताको ज्ञान, लोक व्यबहार, गोष्ठि, प्राचिन काव्यको ज्ञान पनि आवश्यक छ । नेपाली संगीत क्षेत्रमा गोपाल योञ्जन शक्ति व्युत्पत्ति र अभ्यास, यी तीनै गुणले अभिपूर्ण थिए । गोपाल योञ्जनलाई संगीतको ज्ञान थियो, गायनको ज्ञान थियो र काव्यको पनि राम्रो ज्ञान थियो । नेपाली संगीत क्षेत्रमा गोपाल योञ्जन बराबर विरलै थिए या होलान् ।

काव्यमा तीन प्रकारका वेमेलहरु हुन्छन्, शब्द वेमेल, अर्थ वेमेल र रस वेमेल  । सार कुरा के भने काव्यमा शब्द बेमेल हुनेबित्तिकै बेमेल हुन्छ, अर्थ बेमेलले रस उत्पत्ति रोक्दछ भने रस वेमेलले भएमा भाव खुल्दैन र त्यसले काव्यको प्राण लिन्छ ।
दुई बेमेल शब्दको मिलाप, रस अनुसार गलत शब्दको चयन या अर्थ ननिस्कने शब्दहरु भएमा त्यसलाई शब्द बेमेल भनिन्छ । पद या शब्दबाट अर्थको व्युत्पत्ति हुँदैन या वाक्य या पादले अर्थ खुलाउँदैन भने अर्थ बेमेल भनिन्छ । यसै गरेर काव्यको रस अनुसारको शब्द चयन नभएमा रस व्युत्पत्ति नहुने हुँदा यसलाई रस बेमेल भनिन्छ । सुकमित गुरुङले गाएको रेलिमाई रेलिमाई रेलिमाइ लाहुरे दाइको रेलिमाई रेलिमाई गीतको मुखडा शब्द बेमेल हो, यसमा लाहुरे शब्द बाहेक अन्य कुनै शब्द र वाक्यले कुनै अर्थ या रस निष्पत्ति गर्दैन । रन्जित गजमेर राम्रा संगीतकार हुन् तर उनमा व्युत्पत्तिको कमि भएका कारण एक गीतमा मिर्मिरे साँझ शब्दको प्रयोग गरेका छन् । एउटा कविता संग्रको नाम सगरमाथाको गहिराई पनि अर्थ वेमेल शब्द हो । नदिमा कमल भन्नाले पनि अर्थ बेमेल हुन्छ, बगेको पानीमा कमलको फूल हुँदैन । रातो रंग विजय, युद्ध, सूर्यको लागि प्रयोग हुन्छ र यसले वीर रसको निष्पत्ति गर्दछ, सेतो रंग शान्ती या शोकको प्रतीक हो, यसले करुण रसको निष्पत्ति गर्छ । यसरी काव्यमा रस अनुसारको शब्द चयन भएन भने रस वेमेल हुन्छ । कतिपय कविहरुले प्रतीकको रुपमा यस्ता वेमेल शब्दको प्रयोग गरिरहेका छन्, जसलाई अन्धानुकरण गर्नेहरु पनि छन् । यस्तो अन्धानुकरण पनि अज्ञानवस गरिएको चोरी नै हो ।

काव्य चेत सामान्य मानिसमा पनि हुन्छ । सामान्य मानिसले पनि कुरा गर्दा के छन्द न छाँटको, या ताल न सुरको भन्ने गर्दछ । अर्थात्, छन्द नभए पनि छाँटको हुनु पर्छ, सुर या तालमा बाँधिएको हुनु पर्छ भन्ने बोध सामान्य मानिसलाई पनि हुन्छ । काव्यको गहन बोध नभए पनि या यसै हो भनेर छुट्याउन नसके पनि कता कति के नमिलेको चैँ छ भन्ने सहज आभाष लगाउन भने सक्छन् । कथा, कविता गीत, गजल, नाटक निबन्ध या काव्यका अन्य जेसुकै विधा हुन्, गद्य हुन् या पद्य हुन्, तिनका आआफ्नै आकार प्रकार, सिद्धान्त आदि छन् । मानिसले पनि गद्य र पद्य बीचको भिन्नता आदिम कालदेखि नै छ ुट्याएर आएको छ, बुझेर आएको छ । पद्य भन्ने बित्तिकै निश्चित नापको गायन मैत्री रचना भन्ने सामान्य ज्ञान सबैमा छ ।

गजल पद्य रचना हो, मानिसहरुको अगाडि पाठ गरिन्छ यसैले छन्द बहर या स्वतरन्नुममा हुन्छ, निश्चित मिटर र लयमै हुन्छ, स्वतन्त्र गजल भनेर यसको संरचनात्मक ढाँचा भत्काउने विदेवानहरुलाई भने नमोस्तुते मात्र । यसैले आफूमा निहित शक्तिको जानकारी बिना, अध्ययन, अभ्यास र गुरुवर्गको सानिध्य र मार्गनिर्देश बिना जथाभावी लेखीरहनु काव्य साधना होइन, केवल “मूर्खस्यः ठिंगुरा वलम्“ मात्र हो । जो व्यक्ति अध्ययन गर्दैन, अभ्यास गर्दैन, गुरुवर्गप्रति सच्चा आदरभाव र विश्वास राख्दैन र काव्यप्रति अनादर भाव राख्दछ, तिनबाट स्वस्थ्य काव्यको आशा राख्नु व्यर्थ छ ।

काव्यको प्रारम्भ

कवि कवृ धातुबाट बनेको शब्द हो, जसको अर्थ वर्णनकर्ता हो । काव्य गर्ने जो कोहीले आफ्नो कुरा काव्य मार्फत वर्णन गरिरहेका हुन्छन् । वर्णन गर्नका लागि काव्यका कुनै निश्चित विधाको अवलम्बन गरेर त्यसमा रचना (शब्द चमत्कार), शब्द (संज्ञा र क्रिया), अर्थ (अर्थको चमत्कार), अलङ्कार, उक्ति, रस, मार्ग (ढङ्ग), शास्त्रार्थ (शास्त्रको गुँढतत्व) आदिको प्रयोग गरेर आफ्नो वर्णनलाई सुरुचिपूर्ण बनाउने प्रयत्न गर्दछ । काव्यकारमा माथिका सबै गुण भएमा अत्युत्तम मानिन्छ तथापि, काव्य गर्नलाई भने काव्यकारमा माथि उल्लेख भएका मध्ये तीन गुणहरू हुनु आवश्यक ठानिन्छ, यी तीन गुण समेत प्रयोग गर्न नसक्नेलाई अकाव्यकार मानिन्छन् ।  

काव्यमा फुर्ने विधा भनेको कविता या गीत मात्र हो । अप्रत्याशित रूपमा हृदयमा कविता या गीतको कुनै भाव या पद फुरेर त्यसलाई भाव प्रवाह रूपमा लेखिन्छ र पछि व्याकरण, छन्द, अलङ्कार आदि मिलाउँदै साफी गर्ने गरिन्छ । काव्यका अन्य विधामा काव्य श्रृजनाको लागि कुनै न कुनै सूत्रको आवश्यकता पर्दछ । ती सूत्र भनेको कसैबाट सुनेको कुरा, देखेको घटना या दृश्य र पढेका कुनै कुरा नै हुन्, जसले हृदयमा छाप लगाउँछन् या त्यसलाई अनुभूत गर्दछन् र बिचार पूर्वक लेखिन्छ । वाल्मीकिले व्याधाले चरा मारेको दृश्य देखे, उनको संवेदनामा करुण रसको उत्पत्ति भयो र मा निषाद भनेर कविता रचे भन्ने लोकोक्ति छ । यसै कारण हरेक रचनाको पछाडि कुनै न कुनै गुह्य सूत्र अवश्य हुन्छ, त्यसमा कविले परिकल्पनाको मिश्रण गर्दछ ।    

काव्यको सुरुवात लोकगीतबाट भयो भनेर माथि नै भनियो, जसलाई संक्षेपमा राख्न चाहन्छु । मानिसको घाँटी बाट आवाजको (वाक) उत्पत्तिपछि वाकलाई हर्ष, युद्ध, शोक या समन यी चार अवस्थामा नाद गरियो, अर्थात् मानिसले चार भिन्न अवस्था जनाउन सक्ने गरी वाकलाई गुञ्जाउन सके । वाक पाएका आदिम मानवले युद्धको बेलामा (सिकार पनि एक प्रकारको युद्ध नै हो) नाद गरे, कुनै हर्षको बेलामा (सिकार प्राप्ति नै त्यति बेला ठुलो हर्षको विषय थियो) नाद गरे, कुनै शोकको (आफन्तजनको मृत्यु) बेलामा नाद गरे, समन (कुनै प्राकृतिक शक्तिको दया, क्षमा या शक्तिका लागि) सामूहिक रूपमा नाद गरे । यी नादहरू एकोहोरो आवाज मात्रै थिए, बिस्तारै शब्दहरू बन्दै गए, बनेका शब्दहरूको उच्चारणमा भिन्न भिन्न नाद (शैली) अनुसार अर्थ पनि फरक लाग्न थाल्यो । सामान्य नादमा  “ठीक छ” भन्दा सहमति या स्वीकार गरेको बुझिन्छ भने उँचो नादमा “ठीक छ” भन्दा क्रोध या ललकार अर्थ लाग्छ । शब्द या वाकलाई विभिन्न नादमा गरिने उच्चारण नै सङ्गीतको प्रारूप थियो, गीतको उपज थियो । छान्दोग्य उपनिषदका अनुसार पनि व्यक्तिको सारतत्त्व वाक् हो, वाकको सारतत्त्व ऋक् (स्तुति या देव गीत) हो, ऋकको सारतत्त्व साम (सङ्गीत) हो, सामको सारतत्त्व उद्गीथ (उँचो स्वरमा गाउनु) हो ।

सामाजिक विकाश सँगसँगै यी नादहरूमा पनि क्रमशः परिमार्जन आउँदै गए, भाषागत सुधार हुँदै गए उच्चारणमा समता आउँदै गयो । भाषाको विकाससँगै एकातिर समूहमा कुरा गर्ने, बुझाउने काम सुरु भयो, आफूले भनेको कुरा पछिसम्म सम्झनको लागि त्यसमा अन्त्यानुप्रास जोडिन थालियो, लय हाल्न थालियो र यहीँबाट लोकगीतको पनि विकास भयो । लोकगीत र कहने कुरा (गजल कवितामा) अन्त्यानुप्रास हुनुको कारण यही हो ।

समूहमा कहने या गाइने कुरा दुई पाउमा हुन्थे, कहने कुराको पहिलो पाउमा प्रश्न, जिज्ञासा, कौतुहलता हुन्थे भने दोश्रो पाउमा त्यस प्रश्नको उत्तर या जिज्ञासा कौतुहलताको समाधान हुन्थे । गीतमा भने तिनका अतिरिक्त प्रकृति, इतिहास, स्थान, कर्म, क्रिया आदिका थुप्रै जानकारी हुन्थे र यसलाई सम्झन अन्त्यानुप्रासको प्रयोग गरिन्थ्यो । यसरी वाकबाट नाद, नादबाट शब्द र वाक्य र यसलाई भन्नको लागि अन्त्यानुप्रास र लयको विकाश भयो । आरम्भमा दुई पाउका लयको लम्बाई पनि बराबर थिएन, त्यसलाई बराबर गर्न आवश्यक महशुश गरियो । फलतः पद, मात्रा, स्वरावली र अक्षरहरूको एकरूपता गरिँदै लगिन थालियो । यही नै छन्दहरूका विकाश चरण थियो, वहरको आरम्भ यसरी नै भएको थियो । युद्ध, हर्ष, शोक या समनमा गरिएका नाद अर्थात् गीतहरूको उपज तर्कसङ्गत थियो भने यिनै नादहरूलाई समयक्रमेण छन्दमा बद्ध गरिँदै लगिएकोले छन्दको उपज युक्ति सङ्गत थियो । नृत्यमा अनुहारमा भाव ल्याएर, हात हल्लाएर तथा औँलाहरूको सहायताले कुनै विशेष मुद्रा बनाएर गीतका शब्दहरूलाई उच्चारित गर्दा उच्चारित शब्दको आशय श्रोतालाई बुझाउन सजिलो हुने ती उच्चारित शब्दहरूको अझ बढी प्रभाव दर्शक श्रोताहरूमा पर्न जाने हुन्छ । छन्दमा लेखिएका गीत गाउँदाका समयमा विभिन्न स्वरलाई अभिव्यक्त गर्न धर्माचार्यहरू आफ्नो औँला र हातको विभिन्न मुद्राहरू बनाउँदथे । यसो गर्दा उच्चारित शब्दमा निश्चित् स्वराघात या बलाघात पर्दछ र त्यसरी गाएको गीत प्रभावकारी हुन्छ भन्ने मान्यता अनुरूप मन्त्रहरूको उच्चारण गर्दा पनि हातका विभिन्न मुद्राहरू बनाएर मन्त्रोच्चारण गरिन्छ । बटुकहरूले “द्यौः शान्तिरन्तरिक्षँ शान्तिः, पृथ्वी शान्तिरापः शान्तिरोषधयः शान्तिः.” भनेर हातको मुद्रा बनाउँदै ऋचा गायन गर्नुको कारण यही हो ।

लोकगीतलाई साथ या ताल दिन मानिसले पहिले थपडी र चुट्की बजाउन थाले । यसपछि लट्ठीबाट विभिन्न ताल आवाज निकाल्न थाले, खोक्रो रूख, काठ या ढुङ्गा ठोकेर ताल आवाज निकाल्न थाले । जनावरको छाला काठको खोक्रोमा मोढेर तालबाजाको लागि दमाहा बनाए भने सुकेको तन्तु र आन्द्रा प्रयोग गरेर सुरबाजा सारङ्गी बनाए । लोकगीतलाई विशिष्टीकरण गर्दै लैजाने क्रममा नादलाई सात सुरमा विभाजन गरियो, सुरलाई ६ राग, ६ राग अन्तरगत ३६ रागिनी बने, यिनलाई साथ दिन ताल बाजा बने, ताल बाजामा पनि मात्रा तोकियो जसले सुरको लम्बाई लाई निर्दिष्ट गर्याे ।

उचित अनुचित चोरी

संसारका सबै प्रेम गीतमा सौन्दर्य प्रशंसा, प्रेम समर्पण, बिछोड, धोका, भाग्य यिनै पाँच मूलाधार भाव हुन्छन् । प्रेमीगतको सुरुवातदेखि अहिलेसम्म यिनै पाँच मुख्य भावलाई आधार बनाएर कविले गीत लेखेका छन्, यसलाई छायाँ अनुकरण भनिन्छ । छायाँ अनुकरणमा कविले भिन्न छन्दको प्रयोग गर्छन्, पद वाक्य पृथक् राख्छन्, प्रस्तुति भिन्न बनाउँछन्, रस र अलङ्कारको भिन्न प्रयोग गर्छन् र छन्दमा पनि नायक नायिकाको अवस्था, देश काल, परिस्थिती, ऋतु र विभिन्न कारक तत्त्वहरूलाई ध्यानमा राखेर त्यसै अनुरूप छन्द र शब्दको प्रयोग गर्दछन् भने सङ्गीतकारले पनि सोही अनुरूप त्यसलाई उपयुक्त हुने राग रागिनीमा गीतलाई सङ्गीतबद्ध गर्दछन् । त्यसैले यस्ता गीतका रचनाकार या सङ्गीतकारलाई कवि नै भन्ने गरिन्छ ।

यसरी हेर्दा कुनै काव्यको उक्ति, सार या भाव लिएर त्यसलाई विषयान्तर गरेर लेख्नु चोरी हैन । काव्यले व्युत्पत्ति गर्ने नव रस ( अहिले भक्ति रसलाई पनि रस मानेर दश रस मान्ने गरिन्छ) मध्ये कुनै न कुनै रस हरेक रचनामा हुने गर्छन् र यो दोहरिनु कुनै नौलो कुरा होइन । संसारमा थुप्रै काव्य लेखिएका छन्, तसर्थ नयाँ काव्यमा पुरानो काव्यको भाव दोहरिनु अस्वाभाविक होइन । कविता या गीतहरूमा प्रायशः उही भाव हुन्छ तथापि प्रस्तुति, शब्द चयन, विचार, तर्क, रस, थेगो आदि थुप्रै कुराहरूले यदि त्यो पृथक् छ भने चोरी मान्न सकिन्न ।

लोकगीत, भाषा र तरल पदार्थ बाटुलो भएर फैलन्छ । लोकगीतको कुनै एक टुक्रा कुनै एक व्यक्तिले रच्दछ, त्यसमा आफ्नै प्रकारको धुन पनि राख्छ र कसैलाई स सुनाउँछ । यदि त्यो रचना हृदय ग्राह्य छ भने सुन्नेले त्यसलाई टपक्क टिप्छ, त्यसमा अन्य पदहरू पनि थप्दछ, धुनमा पनि सुधार गर्छ र अरूलाई सुनाउँछ । अन्य सुन्नेले पनि त्यसै गर्छन् र लोकगीत चारैतिर फैलन्छ । यसैले लोकगीतको रचनाकार नभएर सङ्कलक हुन्छ । छक्का पञ्जा चलचित्रमा लिइएको एक गीत धेरै पुरानो भजन “ए कृष्ण नबस लुकेर” को धुनलाई लिइएर बनाइएको छ । उक्त भजनको धुनमा जान्न म त खुर्सानी बारीमा भन्ने लोकगीत पनि बनिसकेको छ । चलचित्रमा उक्त लोकगीतको धुन लिनु नौलो कुरा होइन, धुन लिएर नयाँ शब्दमा गीत रचना पनि भएका छन् छर सङ्गीतकारले त्यसलाई आफ्नो सङ्गीत भने भन्न मिल्दैन । सङ्गीतकारले धुन चोरे भन्न त मिल्दैन तर गीतकार र कथा पटकथाकारको अज्ञान र अविवेक स्पष्ट देखिएको छ । खुर्सानी बारीमा हिलो लाग्नु स्वाभाविक हो तर डिजेलको गाडीमा हिलो लाग्नु भनेको गीतकार र कथा पटकथाकारको बौद्धिक दरिद्रता देखाएको छ । धुन हृदय ग्राह्य छ यसैले चलचित्रका निर्माता निर्देशक, गायक सङ्गीतकार, गीतकार र कथा पटकथा लेखकले यसलाई मन पराए लिए तर उनीहरूले कुनै अध्ययन अनुसन्धान पनि गरेनन्, सोधखोज पनि गरेनन्, तुक मिले नमिलेको पनि ध्यान दिएनन्, केवल मीठो धुन प्रयोग गरेर चलचित्रको व्यापार बढाउन खोजे, यो भने बौद्धिक दरिद्रता नै हो ।

काव्यमा कुनै कविताको दुई रूप मध्ये एक रूप लिएर वर्णन गर्नु या तर्क, बिचार, अंश अर्थ बदलेर प्रयोग गर्नुलाई पनि चोरी भनिँदैन । महाकविले शाकुन्तल महाकाव्य लेखे, शाकुन्तल कालिदासले पनि लेखेका छन्, तथापि यहाँ रूप वर्णन काव्यको भाव भङ्गिमा पृथक् छ । महाभारतको आधारमा थुप्रै काव्यहरू लेखिएका छन्, मूल कथा र पात्र घटना उही भए पनि यिनमा पृथकीकरण छन्, तर्क भिन्न छन्, प्रस्तुति करण फरक छन्, यिनैका तथ्य र तर्कलाई आधार मानेर पङ्क्तिकारले पनि जय दुर्योधन कथा लेखेको छ, तर यो चोरी मानिँदैन । काव्यमा अर्थ बदल्नु या विनिर्माण गर्नु चोरी होइन ।

नेपाली साहित्य या बौद्धिक क्षेत्रमा धेरै चोरीका कुराहरू उठेका छन् । देवकोटाको मुनामदनको  कथा नेवारी कथाबाट चोरिएको भन्ने लांक्षना झुठो हो, कारण माथि उल्लेख गरिएको छ । यस्ता चोरिका बारेमा राजकुमार बानियाले एक लेख नै लेखेका छन् “अत्यासलाग्दो चोरी” । काव्य या बौद्धिक चोरी (प्लेजोरिजम) नेपालमा मात्र भएको भने हैन, विश्वका हरेक देशमा यो भएको छ । यस सम्बन्धी संस्कृतमा एक श्लोक छ

कविरनुहरतिच्छायामर्थ कुकविः पदादिकं चौरः
सर्वप्रबन्धहर्वे साहसकत्र्रे नमस्तस्मै ।

“सिद्धान्ततः छायाँ अनुकरण गर्नेलाई कुनै दोष नदिएर काव्यकार नै मानिन्छ कवि, भावार्थ अनुकरण गर्नेलाई कुकाव्यकार, पद वाक्य अनुकरण गर्नेलाई चोर तर प्रबन्ध, पद वाक्य, अर्थ, भाव सबै अनुकरण गर्ने साहस गर्नेलाई भने डाँका भनिन्छ, यस्ता डाँकालाई कानुनी कारबाही गर्नु या सामाजिक बहिस्कार गर्नु बाहेक अन्य उपाय छैन ।”

अन्त्यमा, आफूलाई चलाख ठान्नु गलत हैन तर अरूलाई मूर्ख ठान्नु गलत हो । नेपाली काव्य चोरीको कुरा गर्दा मूल कारण यही देखिन आउँछ । “यो कसले पढेको होला र ! यो कसलाई थाहा होला र ! अङ्ग्रेजी या यो भाषा जान्ने नै को नै होलान् र !” भन्दै विभिन्न रूपमा चोरी गर्ने विद्वानहरूमा माथिको उक्ति दोहरिन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै