पेन्टिङमा अब्बल सुष्मा राजभण्डारीको सफलताको कथा 

खरीबोट
ad

काठमाडौँ । सुष्मा राजभण्डारी नेपाली कलाजगतकी एक सशक्त र चर्चित महिला कलाकार हुन् । २०२५ सालमा काठमाडौं लगन टोलको उच्चमध्यम वर्गीय परिवारमा जन्मेकी सुष्मा हुने  बिरुवाको चिल्लो पात भनेझैँ तीक्ष्ण क्षमताकी थिइन् । ब्याडमिन्टन, दौडमा पनि उनको सानैदेखि रुचि रहेको र विभिन्न मेडलहरु पनि उनले प्राप्त गरेकी छिन् । प्रतिभासम्पन्न, तीक्ष्ण र जिज्ञासु स्वभावकी शुषमा घरमा भएको उनको जिजुबुबा स्व. तेजमान राजभण्डारीले जंगबहादुर राणालाई पत्र दिँदै गरेको भित्तामा भएको चित्रबाट प्रभावित भएर चित्रकलामा लाग्न प्रेरित भएकी थिइन् । 

सिद्धार्थ वनस्थलीबाट एसएलसी उत्तीर्ण गरेकी राजभण्डारीलाई घरपरिवारको वातावरण र बाबाआमाले उनको कलाको कदर गरेकै कारण सफल चित्रकार बन्न लालायित गरायो ।

ललितकलाबाट स्नातक गरेकी उनले ललितकलामा नै त्रिविविबाट स्नातकोत्तर गरेकी छिन् । राजभण्डारी ऊर्जाशील, लगनशील र प्रेरक नारी हुन् । अरनिको युवा पुरस्कार (२०६०), क्षेत्रीय राष्ट्रिय प्रतिभा पुरस्कार (२०७०), हेमगंगा राष्ट्रिय पुरस्कार (२०७४)लगायत दर्जनौँ सम्मान तथा पुरस्कार उनले प्राप्त गरेकी छिन् । कलाकार समाजको एक्जुकेटिभ मेम्बर, ओलम्पिकमा पिस कमिटीको एक्जुकेटिभ लगायत २० भन्दा बढी संघ÷संस्थामा आबद्ध उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हस्तकला विभागकी प्रमुख हुन् भने युनिभर्सल कलेज मैतिदेवीमा अध्यापन समेत गराउँछिन् । 

उनका बाजेहरु दरबारमा काम गर्ने र बाबा ट्याक्स अफिसर (कर अधिकृत) भएको हुँदा उनको बाल्यकाल सुखद रह्यो । कान्छी बहिनी भएकाले पनि उनी सबैको प्यारी थिइन् ।

पञ्चायतकालमा उनकी आमाले एमाले पार्टीको संस्थापक सदस्य मोती देवीलाई सहयोग गर्ने गर्थिन् । उनकी आमा राजनीति राम्रोसँग बुझ्नुहुन्थ्यो परिवर्तन चाहनुहुन्थ्यो र स्वतन्त्रता चाहनुहुन्थ्यो । छोरीलाई महत्व नदिने समाजमा पनि उनले कुनै पनि किसिमको कमीको महसुस गर्नुपरेन । खेलकुदमा रुचि राख्ने सुष्मा ब्याडमिन्टन प्लेयर संस्थान नम्बर १ सम्म भएकी छिन् । उनले ०४८ सालबाट ब्याडमिन्टन छोडेकी हुन् । 

बिहे भएको घर इन्द्रचोक हो । तर पछि श्रीमानले सोल्टीमोडमा घडेरी किनेको उनको पेन्टिङ बेचेको आम्दानीबाट घर बनाएर बस्दै आएकी छिन् । उनको श्रीमान साहित्यमा रुचि राख्दछन् भने छोरी रिज्मा जोशी मस्कोमा आईटी पढ्दै छिन् । 

अझै पनि नेपाली समाज नगन्य अर्थात् ज्यादै कमले मात्र पेसाको रुपमा अंगालेको कलालाई नै उनले जीविकोपार्जनको माध्यम बनाएकी छिन् । दर्जनौँ देशमा आफ्नो चित्रकला प्रदर्शन गरिसकेकी भण्डारीले कलाको माध्यमबाट आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाइसकेकी छिन् । सुरुमा दृश्य चित्र दुई सयमा एक जना विदेशीले उनले प्रदर्शनीमा कोर्दै गरेको पहिलो पेन्टिङ बेचेको याद गर्दै सुष्मा भन्छिन्, “आमालाई मैले माला किनिदिएकी थिएँ र आमाले मलाई कलामा  निरन्तरता  लागिरहन प्रेरणा दिनुभएको थियो । त्यसैले आज यो स्थानमा छु ।” 

१० हजारदेखि १० लाख रुपैयाँसम्मको पेन्टिङ बनाए पनि पाँच लाख रुपैयाँसम्मको मात्र पेन्टिङहरु उनले बेचेकी छिन् । टुरिज्म बोर्ड, मन्त्रालय, विभिन्न पूर्वमन्त्रीहरु, विभिन्न देशका दूतावास तथा व्यवसायी र उद्योगपतिहरुले उनको पेन्टिङ किन्ने गर्दछन् । भारत, चीन, फिलिपिन्स, बंगलादेश, पाकिस्तान, जापानलगायतका विभिन्न देशहरुमा गएर उनले आफ्नो कलाको प्रदर्शनी तथा बिक्री गरेकी छिन् । जापानमा होकाइडोको टाकिकवा ग्यालरीमा उनको मात्रै २० वटा चित्रकला प्रदर्शनीमा राखिएको छ । 

पौभा, थान्का नेपालको परम्परागत कला शैली हो । सुरुमा उनले धेरैजसो पौभा थान्का मात्र बनाउने गर्दथिन् । “बच्चा बेलामा जेसुकै हराए, समस्या परे पनि गणेशलाई एउटा लड्डु चढाउन पाइन्छ भन्नुहुन्थ्यो ममीले, म त्यसै गर्थेँ र पाइन्थ्यो पनि त्यसैले म गणेशभक्त भएँ र प्रायः उनकै चित्र कोर्ने गर्छु, उनले आफ्नो मनको कुरा खोलिन् । 

उनलाई पेन्टिङ सिकाउने गुरुले पनि गणेशको नै पेन्टिङ सिकाएकोले उनको पेन्टिङमा यसको प्रभाव देखिनथालेको हो । सुरुमा पौभाहरु बनाउँदा गणेश भगवान सपनामा नै आएर गणेशजीको चित्र कोर्न सिकाएपछि धेरैजसो गणेशलाई जोड्ने गरेको र प्रदर्शनीमा गणेशको प्रायः सबै पेन्टिङहरु बिक्ने हुँदा आफ्नो पेन्टिङमा गणेशलाई जोड्नुको कारणबारे बताइन् । उनले भनिन्, “मैले सपनामा सेतो हाँसिरहेको गणेश देखेँ तर बनाउनसकेको छैन ।” प्रायः गणेशको पेन्टिङ गर्ने उनी आफूलाई गणेश भगवानको भक्त सम्झिने गर्दछिन् । गणेशको विभिन्न २० भन्दा बढी अवतार, विष्णुको विभिन्न अवतार, शिवको अवतार, सरस्वती, लक्ष्मी, ताराजस्ता भगवानको अवतार तथा पिस आइज, लाइन्स स्केप, पोट्रेटजस्ता चित्रहरु कोर्ने गर्दछिन् । उनी बंगलादेश, पाकिस्तानतिर प्रदर्शनीको लागि जाँदा गणेशको मूर्ति लैजाँदिनन् । विशेष गरी उनको सिर्जना पञ्चतत्वमा आधारित हुने गरेको छ । आफ्नै शैलीमा पेन्टिङ गर्ने उनले नेपालका  गन्यमान्य व्यक्तिहरुको चित्र पनि कोरेकी छन् ।

पेन्टिङको लागि यति नै समय लाग्छ, सकिन्छ भन्ने नहुने उनको अनुभव छ । विभिन्न संघ-संस्थामा सम्बद्ध उनलाई अन्य काममा पनि समय बिताउनुपर्ने हुँदा फुर्सद नै हुँदैन । उनको तीन दिनदेखि दुई वर्षसम्म लगाएर एउटै पेन्टिङ बनाएको खरीबोटलाई सुनाइन् । 

उनको पञ्चतत्वमा आधारित पेन्टिङले मानिस जन्मिँदा अन्धो हुन्छ अर्थात् खाली जन्मेको हुन्छ, कुनै पनि कुराको ज्ञान हुँदैन, विस्तारै ज्ञानवृद्धिको विकास हुँदै जान्छ र अन्तिम अवस्थामा आएर जतिसुकै मुर्ख मानिस पनि आस्तिक बन्छ शान्ति खोज्छ र बन्छ भन्ने गहन शिक्षा दिन्छन् । मृत्युसँगै जल, जमिन, वायु, खनिजमा लीन हुन्छ भन्ने आशयका उनका पेन्टिङहरु आउने गर्दछन् । 

उनले आफ्नो पेन्टिङमा टीकाको सांकेतिक वर्णन गरेकी हुिन्छन । उनका अनुसार भगवानको मात्र होइन, मानवको पनि तेस्रो आँखा हुन्छ । पिस आइजको चित्रमा तेस्रो आँखा देखाउने गरेको उनले सुनाइन् । उनले थप्दै भनिन्, ‘टीकाले सबैसँग नलेज हुन्छ भन्ने जानकारी गराउँछ ।” 

मिहिनेती हातहरु कहिल्यै असफल हुनै सक्दैनन् भन्ने ज्वलन्त उदाहरण हुन् राजभण्डारी । उनले आफूले बनाएको चित्र बेचेर नै आफैँले सोल्टीमोडमा घर बनाएकी हुन् । मिहिनेत नगरीकन को कहाँ सफल भएको छ र ? प्रगतिको आधार भनेकै संघर्ष भएको उनको जीवनले बताउँछ । अहिले पेन्टिङको बजारमा माग बढ्दो छ । उनले धेरै गणेशको पेन्टिङ बनाउने गर्दछिन् र पेन्टिङ किन्न मानिसहरु उनको घरमै आइपुग्छन् । 

विशेष गरी उनलाई फाइन आर्ट सिकाउने पहिलो गुरु गोविन्द डंगोल र गुरुहरु  लैनसिंह वांग्देल, लोक चित्रकार प्रेममान चित्रकार, कृष्ण मानन्धर, शशी शाह, मनोजबाबु मिश्र, सिटिमुनी शाक्य, रतन राईजस्ता व्यक्तिहरु रहेका छन्, जसलाई उनी पटक–पटक सम्झिन्छिन् । 

विभिन्न देश घुमेर आएकी राजभण्डारीलाई नेपालमा अझै पनि विदेशमा जसरी आर्टको महत्व बुझ्न नसकेकोमा दुःख लागेको छ । उनले भनिन्, “९० प्रतिशत नेपालीले कलालाई बुझेकै छैनन् । हेर्नेहरुले राम्रो भनिदिन्छन् तर बुझेकै छैनन्, किनभने उनीहरुसँग कलाको ज्ञान नै छैन ।” विदेशमा आर्टलाई माया गर्ने, बुझ्ने धेरै छन् । 

आजभोलि आर्टको नेपाली बजार राम्रो हुँदै गएको छ । ठमेल बसेर व्यावसायिक आर्ट गर्नेको लागि राम्रो सम्भावना छ, बजार छ । उनीहरुले आफ्नो चित्रकलाकै माध्यमबाट काठमाडौंमा घर बनाएका छन्, गाडी किनेका छन् । बुझेर र जानेर लाग्नेहरुको लागि प्रशस्त सम्भावना छ, उनीहरु बस्नै भ्याउँदैनन् । 

व्यावसायिक कलाकर्मीहरुसँग पेन्टिङ लिन छ महिनासम्म कुर्नुपर्ने हुन्छ । व्यावसायिक काम गर्नेहरुलाई फुर्सद नै छैन । व्यक्तिगत रुपमा गर्नेहरुलाई पनि फुर्सद छैन । कामको व्यस्तताले एउटै पेन्टिङको लागि महिनौं लाग्ने गरेको छ । 

नेपालभरिको विद्यार्थी उनीसँग पढ्न आउँछन् । युनिर्भसलको होस्टेलमा बसेर पढ्ने गर्दछन् । फाइन आर्टको लागि गाउँगाउँबाट विद्यार्थी पढ्न आएका छन् । विशेष गरी विदेश गएका धनाढ्य बाबुआमाका छोराछोरीहरु बढी पढ्न जाने गरेका छन् । घर सजाउनको लागि पेन्टिङ राम्रो हुने हुँदा विदेशमा गएर यसको महत्व बुझेकाहरुका छोराछोरीहरु बढी पढ्न आउने गरेको उनको बुझाइ छ । स्कुल लेभलबाट नै राम्रोसँग चित्र कोर्नेहरुलाई शिक्षकहरुले नै ल्याइदिने पनि गर्दछन् ।  

फाइन आर्ट पढ्ने विद्यार्थीहरुको सम्भावना राम्रो छ । आर्टका प्लस टुका विद्यार्थीले स्कुलमा पार्ट टाइम मात्र जब गरेर २५ देखि ३० हजारको जागिर गरिरहेका छन् । हरेक क्षेत्रमा डिजाइन गर्न, कार्टुन बनाउन, लोगो बनाउन पनि आर्टिस्ट चाहिने हुँदा यसको माग धेरै छ । उनले पढाएका विद्यार्थीहरु अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा छन् । आर्ट फिल्डमा काम गर्ने, पढाउने गर्दछन् ।  

चार विनायक, विभिन्न पोजिसनका गणेशको चित्र बनाउने गरेकी उनले गणेशको चित्रकलाको रिसर्च पनि गर्ने गर्दछिन् । उनले भनिन्, ‘चाइनामा चार हजार वर्ष परानो गणेशको चित्र फेला परेको छ । जापानमा गणेशलाई जापनिज राक्षसलाई मारेको भनेर पूजा गर्ने गर्दछन् ।  जापानको संस्कृति हामीसँग  मिल्दोजुल्दो छ ।’

मन्दिर, भत्केका मन्दिर, पुरानो घर मन्दिरको दृश्यहरु, हिमाल पहाडका दृश्यहरु बनाएर वाटर कलर पेन्टिङ गरेको चित्रकलाहरु धेरै बिक्री गरेकी छन् राजभण्डारीले । प्रदर्शनीहरुमा यस्ता पेन्टिङहरु बनाएकै ठाउँबाट तत्कालै बिक्री हने गर्दछ ।  निरन्तरता दिन नसक्ने मान्छे यो क्षेत्रमा टिक्न नसक्ने उनको भनाइ छ ।  

(खरिबोटका लागि सकला दवाडीसँग राजभण्डारीले गरेको कुराकानीमा आधारित)