• २०८१ बैशाख १३ बिहीबार

मुकेश अम्बानीको परिवारलाई फेरि ज्यान मार्ने धम्की

kharibot

काठमाडौँ । भारतका प्रतिष्ठित कारोबारी मुकेश अम्बानीको परिवारलाई फेरि ज्यान मार्ने धम्की आएको छ । रिलायन्स फाउन्डेशन अस्पतालको सार्वजनिक डिस्प्ले नम्बरमा आठ धम्कीपूर्ण फोन कल गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फोन गर्ने व्यक्तिले तीन घन्टाभित्र सम्पूर्ण परिवारलाई मार्ने धम्की दिएका थिए । यस घटनामा दहिसर क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको समेत गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस विषयमा अस्पताल व्यवस्थापनले डीबी मार्ग प्रहरी चौकीमा उजुरी दिएको थियो । मुम्बई प्रहरीले तीन टोली बनाएर यस विषयमा अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा फोन गर्ने व्यक्ति एउटै भएको र उनले लगातार आठ वटा फोन गरेको पाइएको थियो । यसपछि फोन गर्नेको लोकेशन ट्रेसिङ गरी एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो ।

प्रारम्भिक सोधपुछमा फोन गर्ने व्यक्ति मानसिक रुपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ । तर, उनीसँग विस्तृत रुपमा सोधपुछ हुन बाँकी छ । यसअघि अम्बानीले धम्कीको उजुरी पाएलगत्तै मुम्बई पुलिसलाई सतर्क गराइएको थियो । यस विषयमा प्रहरी आयुक्तलाई समेत जानकारी गराइएको थियो । योसँगै अम्बानी परिवार र एन्टिलियाको सुरक्षामा कडाइ गरिएको छ ।

यस अघि फेब्रुअरी २०२१ मा, एन्टिलिया बाहिरबाट विस्फोटक पदार्थले भरिएको एसयूभी बरामद भएको थियो, जसमा २० जिलेटिन स्टिक र एउटा चिठ्ठी भेटिएको थियो । पत्रमा मुकेश अम्बानी र उनकी पत्नी नीता अम्बानीलाई धम्की दिइएको थियो । यस मामिलामा मुम्बई पुलिसका इन्काउन्टर स्पेशलिस्ट सचिन वाझेको नाम आएको थियो । अहिले एनआईएले यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

मुकेश अम्बानीलाई हिजबुल मुजाहिद्दीनबाट धम्की आएपछि २०१३ मा तत्कालीन मनमोहन सिंह सरकारले Z+ सुरक्षा प्रदान गरेको थियो । उनकी पत्नी नीता अम्बानीलाई २०१६ मा केन्द्र सरकारले Y+ सुरक्षा प्रदान गरेको थियो । उनीहरूका छोराछोरीलाई पनि महाराष्ट्र सरकारले ग्रेड सुरक्षा प्रदान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै