काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुलले वाटफोर्डलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा लिभरपुलले वाटफोर्डलाई ५-० ले पराजित गरेको हो ।
लिभरपुलको जितमा इजिप्टका स्टार खेलाडी मोहमद सलाहले ४ गोल गरेका थिए भने रोबर्ट फिर्मिनोले एक गोल गरे ।
खेलको चौथो मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ४३औ मिनेटमा अर्को गोल गर्दै सलाहले लिभरपुललाई पहिलो हाफमा २-० को अग्रता दिलाए । दोस्रो हाफमा लिभरपुलले थप तीन गोल गर्यो । फिर्मिनोले खेलको ४९औ मिनेटमागोल गरे भने सलाहले खेलको ७७औ र ८५औ मिनेटमा गोल गर्दै लिभरपुललाई ५-० को शानदार जित दिलाए ।
लिभरपुलका म्यानेजर जर्गन क्लोपले घरेलु मैदानमा यस खेलसँगै ५० प्रिमियर लिग खेल खेलेका छन् । जसमा २८ जित १८ बराबरी र केबल ४ खेलमा हार बेहोरेका छन् ।
वाटफोर्डले लिभरपुलको घरेलु मैदानमा अहिलेसम्म खेलेका ११ खेलमा १० खेलमा हार बेहोरेको छ ।
लिभरपुलका लागि मोहमद सलाहले यस सिजनमा कुल ३६ गोल गरेका छन् । डेभ्यु बर्ष मै ३६ गोल गर्ने सलाह लिभरपुलका पहिलो खेलाडी हुन् ।
यो जितसँगै लिभरपुल ३१ खेलमा ६३ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ भने वाटफोर्ड ३१ खेलमा ३६ अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।