• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीका ७ सहयात्री : स्वच्छ छबि बचाउलान् की गुमाउलान् ?

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक सरकार विस्तार गरेपछि सरकारमा सामेल व्यक्तिहरुको चर्चा सुरु भएको छ । 

तेस्रो पटकको विस्तार पछि पनि अझै सरकारले पूर्णता नपाए पनि सरकारमा सामेल व्यक्तिहरुबाट कस्तो आशा गर्न सकिन्छ ? वाम गठबन्धनले निर्वाचनका बेला ल्याएको घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धतालाई के यी मन्त्रीहरुले सफल बनाउन सक्छन ? भन्ने प्रश्न आम जनता उठ्नु स्वाभाविकै हो । 

तुलनात्मक रुपमा सरकारमा सामेल मन्त्रीहरु कम विवादित र स्वच्छ छबिका देखिएका छन् ।  यस अघिका मन्त्रीमण्डलमा समावेश भन्दा अहिलेको मन्त्रीमण्डललाई क्षेत्रीयबाहेक अन्य हिसाबले सन्तुलित नै भन्न सकिन्छ । किनकि गुल्मी, कास्की जस्ता जिल्लाबाट दुई-दुई मन्त्री बनेका छन् भने सुदूरपश्चिमबाट कम प्रतिनिधित्व रहेको छ ।  

एमालेबाट प्रदीप ज्ञवाली यसअघि पनि पर्यटन मन्त्री भइसकेका अनुभवी नेता हुन् ।  उनि स्वच्छ छबीका नेता र अहिलेसम्म कुनै विवादमा नपरेका नेताका रुपमा चिनिन्छन् ।  एमालेमा प्रधानमन्त्री ओलीका निकट मानिने ज्ञवालीले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि पनि खासगरी भारत र चीनसँग प्रधानमन्त्री ओलीको सम्बन्ध सुधारमा ज्ञवालीको भूमिका रहेको भनिन्छ ।  त्यसकारण पनि अहिले देखिएको प्रमुख दुई छिमेकीसँगको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले ज्ञवालीलाई नै परराष्ट्रमन्त्रीको रुपमा ल्याएको बुझिएको छ । उनीबाट यसको प्रशस्त सकरात्मक कामको आशा पनि गर्न सकिन्छ ।

त्यस्तै अर्थमन्त्रीको रुपमा आएका योजना आयोगका पुर्वउपाध्यक्ष, राष्ट्रबैंकका पुर्वगभर्नर डा.युवराज खतिवडा नेपालको अर्थतन्त्र बुझेका धेरै कम अर्थशास्त्री मध्येका एक मानिन्छन् । डा.खतिवडाको भूमिका वाम गठबन्धनको घोषणा पत्र बनाउनेदेखि एमालेको आर्थिक विषयका प्रमुख रणनीतिकारको रुपमा पहिला देखिनै रहदै आएको छ । त्यसैले पनि प्रधानमन्त्री ओलीले डा.खतिवडालाई विस्वास गरेर अर्थमन्त्रीमा ल्याएका छन् ।  उनि अहिलेसम्म कै विषयगत विधामा पढेका र अर्थतन्त्र बुझेका अर्थमन्त्री हुन् । हुन त    यसअघि डा. रामशरण महत, डा.प्रकाश चन्द्र लोहोनी पनि अर्थमन्त्री बनिसकेका छन् तर योजना आयोग हुदै राष्ट्रबैंकको अनुभव लिएर अर्थमन्त्री भएका खतिवडा पहिलो अर्थमन्त्री हुन् । 

त्यस्तै अहिलेको सरकारमा मन्त्री बनेका गोकर्ण विष्टबाट पनि धेरै आशा गर्न सकिन्छ ।  यसअघि झलनाथ खनालनेतृत्वको सरकारमा जलस्रोत मन्त्री बनेका विष्टले विद्युत महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काटेर चर्चामा आएका थिए । त्यसपछि उनले मौका नपाए पनि अहिले श्रम तथा रोजगार मन्त्रालयको जिम्मा पाएका छन् ।  वैदेशिक रोजगारमा रहेको विकराल समस्या, दलालबाट ठगिने प्रवृति तथा लाखौको संख्यामा विदेशमा रहेका नेपाली युवाको समस्या समाधान गर्न विष्ट सहि मन्त्री हुन सक्दछन् । 

त्यस्तै यस सरकारमा एमालेका युवा नेता रविन्द्र अधिकारी पर्यटनमन्त्री बनेका छन् । पहिलो पटक मन्त्री बनेका अधिकारी यसअघि संसदको विकास समितिका सभापति थिए ।  विकास समितिमा हुदा एनसेल प्रकरणमा विवादमा आएपनि त्यसबाहेकका उनका कामलाई राम्रो मानिएको थियो ।  देशलाई समृद्ध कसरी बनाउने भन्ने बारेमा लागातार आफ्नो धारणा राख्दै आएका अधिकारीले यस विषयमा पुस्तक समेत लेखेका छन् । पर्यटन क्षेत्र नेपालको समृद्धिको प्रमुख आधार बन्नसक्ने कुरालाई नकार्न सकिन्न तर यस क्षेत्रमा पूर्वाधार विकासको काम अहिलेको चुनौती हो ।  त्यसैले मन्त्री अधिकारीबाट पूर्वाधार विकासमा काम हुन्छ भन्ने आशा गर्न सकिन्छ ।  उनले यसअघि सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिलाई कार्यान्वयन गर्ने तहमा उनि पुगेका छन् । यसमा उनको असली परीक्षा हुने देखिन्छ ।

त्यस्तै एमालेबाट मन्त्री बनेका लालबाबु पण्डित फेरी सामान्य प्रशासन मन्त्री बनेका छन् । सुरु मै कर्मचारीलाई स्वैच्छिक अवकाश दिने विषयमा प्रधानमन्त्री ओली र पण्डितको भनाई फरक परेको अवस्थामा यो पेचिलो विषयलाई मिलाउने चुनौती पण्डितका अगाडी देखिएको छ । स्थानीय तहमा अझै कर्मचारी नपुगेको अवस्थामा पण्डितले कसरी कर्मचारीको व्यवस्थापन गर्लान ? अहिलेको प्रमुख चासोको विषय बनेको छ । यसअघि पीआर र डिभी परेका कर्मचारीलाई कारवाही गर्ने नीति ल्याएर चर्चामा आएका पण्डित स्वच्छ छविका नेता मानिन्छन् । 

त्यस्तै माओवादीबाट धेरै जसो मन्त्री दोहोरिए पनि यसपटक दुई जना नयाँ अनुहार मन्त्री बनेका छन् । चक्रपाणी खनाल बलदेव र विना मगर ।  खनाललाई माओवादी भित्र उच्च तहमा रहेर पनि पछि परेका नेताको रुपमा लिइन्छ । हाल उपराष्ट्रपति रहेका नन्दबहादुर पुन र जनार्धन शर्माकै एउटै तहका नेता बलदेव पहिलो पटक मन्त्री बनेका छन् ।  अघिल्लो चुनावमा कपिलवस्तु क्षेत्र नम्बर १ बाट पराजित भएका उनि यसपटक सोहि क्षेत्रबाट विजयी हुदै मन्त्रीसम्म बनेका छन् ।  मन्त्रीको रुपमा अनुभवी नभएपनि उनीबाट राम्रो कामको आशा गर्न सकिन्छ । कृषिमन्त्रीको रुपमा दिन दिनै कृषियोग्य जमिन मासिदै गएको र कृषि उत्पादनमा विदेशको भरपर्नु पर्ने अवस्था बढिरहेको अहिलेको अवस्थालाई चिर्नु उनको प्रमुख चुनौती हुने छ । 

त्यस्तै माओवादी केन्द्रबाट पहिलो पटक मन्त्री बनेकी बिना मगर युवा जोश जागरका साथ मन्त्री बनेकी छन् ।  निर्वाचनको मुखमा पति गुमाएकी बिनाले पतिवियोगका बीच पनि जनता माझ गएर चुनाव जितेकी हुन् । मन्त्रीको रुपमा उनि अनुभवी नभए पनि खानेपानी र सरसफाई जस्तो महत्वपूर्ण मन्त्रालयमा काम गर्ने हो भने गरेर देखाउने प्रशस्त ठाउ देखिन्छ ।  अब उनले कसरी कार्यक्रम ल्याउछिन् र कार्यान्वयन गर्दछिन त्यो त आगामी दिनले बताउनेछ तर उनले पाएको अवसरलाई सदुपयोग गरेर उनलाई भिराइएको प्रचण्डकी बुहारीको मात्र ट्यागलाई हटाएर असली क्षमता देखाउने सुनौलो मौका उनिसँग रहेको छ ।  
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै