• २०८१ बैशाख ७ शुक्रबार

विश्वकै पुरानो रुख, ५४ सय बर्षअघिको भएको दाबी !

kharibot

काठमाडौँ । दक्षिण अमेरिकी देश चिलीको सुनसान उपत्यकामा एउटा पुरानो रूख रहेको छ । यो विशाल रुख देख्दा आकाशलाई छाता बनाएको जस्तो लाग्छ । यो संसारको सबैभन्दा पुरानो रूख हुन सक्ने नयाँ प्रमाण फेला पारिएको छ ।

एउटा नयाँ कम्प्युटर मोडेलले ‘ग्रान अबुएलो’ नामको यो रुख करिब ५४०० वर्ष पुरानो हुन सक्ने देखाएको छ । यदि यसको मिति पुष्टि भयो भने, ग्रान अबुएलो क्यालिफोर्नियाको ब्रिस्टलकोन पाइनभन्दा ६०० वर्ष पुरानो हुनेछ, जुन हाल सबैभन्दा पुरानो रूखको लागि आधिकारिक रेकर्ड बन्ने छ ।

ग्रान अबुएलोको सही उमेर अझै पुष्टि भएको छैन । किनभने यसको लागि डेन्ड्रोक्रोनोलोजी विधि चाहिन्छ । यस विधिमा रूखको छल्ले विश्लेषण गरिन्छ । यसलाई रूखको उमेर निर्धारण गर्न सबैभन्दा सही मानक मानिन्छ । हालको डाटा अझै अपूर्ण रहेको बताइएको छ । अझै पनि यस मोडेलको लागि प्रयोग गरिएको तथ्याङ्क सार्वजनिक रूपमा जारी गरिएको छैन र यसलाई कुनै जर्नलमा प्रकाशनको लागि पठाइएको छैन ।

पेरिसको क्लाइमेट एन्ड इन्भायरमेन्टल साइन्सेस ल्याबोरेटरीका जलवायु वैज्ञानिक तथा यो मोडल बनाउने अन्वेषक जोनाथन बारिचेभिच भन्छन्, रुखको उमेर जुनसुकै होस्, रूख खतरामा छ र संरक्षण गर्न आवश्यक छ । पर्यटनका कारण यो रुखको अवस्था बिग्रँदै गएको उनले बताए । यससँगै जलवायु परिवर्तनले पनि रुखलाई असर गरिरहेको छ ।

ग्रान अबुएलो वास्तवमा एलर्स भनिने रूखको एक प्रजाति हो । यो एलर्स कोस्टेरो राष्ट्रिय निकुञ्ज, चिलीमा छ । जोनाथनका अनुसार यो रुखको उचाइ करिब ६० मिटर छ । सुरुमा यो रुख ३५०० वर्ष पुरानो भएको मानिन्छ । तर वैज्ञानिकहरूले यस रूखको उमेरलाई व्यवस्थित रूपमा विश्लेषण गरेका छैनन् ।

२०२० मा, जोनाथन र उनका सहकर्मीहरूले रूखलाई नोक्सान नगर्ने प्वाल ड्रिल गरे । यसबाट रूख कम्तिमा २४६५ वर्षको भएको बताइयो । रुखको व्यास ४ मिटर छ, त्यसैले यसको केन्द्रमा पुग्न सकिँदैन । त्यसैले यसको वास्तविक जानकारी पाउन सकिएको छैन । तर कम्प्युटर मोडलबाट रुख ५४०० वर्ष पुरानो भएको अहिले बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै