• २०८१ बैशाख ८ शनिबार

 मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई

kharibot

म्याङ्लुङ । सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा ।

वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त छन्  । तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ९ साब्लाका लोकबहादुर लामगादे ।

यतिबेला उनलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ । तिहारका बेला मादलको अत्यधिक माग हुने भएकाले लामगादेलाई मादल बनाउने चटारो भएको हो ।

उनि लामो समयदेखि यही पेशामा आबद्ध हुनाका साथै गुजरासमेत  गर्दै आएका छन् । भेषमा लागेको खरिको कालो धुलो हातले टक्टक्याउँदै लामगादे भन्छन्, “हामीलाई असारको १५ भएको छ । न  भात खाने फुर्सद् छ न त मादल बनाउन बिसाएर कसैसँग एकैछिन बोल्ने फुर्सद नै । बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म यतिकै धमाधम हुन्छ हामी बूढाबूढीलाई । तिहारमा मात्रै काम बढी हुन्छ, काम अनुसारको कमाइ नि हुन्छ । यसैबाट हाम्रो गुजारो चलेको छ ।”

आफ्नो बुबाबाट सिकेको सीपलाई आफूले उपयोग गरे पनि  आफ्ना छ भाइ छोराको पालनपोषण र शिक्षामा कमी हुन दिनु भएन ।

मादलबाट भएको आम्दानीले गुजारा चलाउँदै आइएको उनको भनाइ छ । तिहारको समय देउसीभैलो खेल्नेले नयाँ मादल किन्ने, खरी हाल्ने, मादल कस्ने, छाला फेर्नेको घुइँचो लागेपछि उनि यतिबेला बेफुर्सदिलो बन्न थालेका हुन् । बिहान ६ बजेदेखि राति ११ मादलकै काममा व्यस्त हुन्छन् । तिहारको समय दैनिक पाँच÷सात जना नयाँ मादल किन्ने र त्यतिकै मात्रामा बनाउनेहरु आउँछन् । नयाँ किन्नेभन्दा नी मर्मत गर्ने बढी आउने गर्दछन् ।

पहिले पहिले तिहारमा मात्र बिक्री हुन्थ्यो तर यतिबेला गाउँगाउँमा भजनकीर्तनले गर्दा अरुबेला पनि मादलको माग बढ्न थालेको लामगादेकी श्रीमती विष्णुमाया बताउछिन् । 

एउटा मादल दुई हजारदेखि सात हजारसम्ममा बिक्री गर्ने गरेको लामगादेको भनाइ छ । मर्मत गरेको मादल रु आठ सयदेखि एक हजार २०० सम्म लिने गरेको उनि उल्लेख गर्छन् ।

अझ तिहारको समयमा त दिनको १५-१६ हजार रुपैयाँसम्म कमाई हुने गरेको लामगादे दम्पतीको भनाइ छ ।

उनका अनुसार असोजदेखि माघसम्म मादल बढी बिक्री हुने र बढी मर्मत पनि हुने गर्दछ । आफू मात्रै होइन दाजु मानबहादुरलाई पनि यो समय मादल बनाउन भ्याइनभ्याइ छ ।

अन्य समय कहिलेकाहीँ खाली हात बस्न बाध्य भए पनि तिहारको समय राम्रो कमाइ हुने गरेको मानबहादुर बताउछन् । उनले पनि लामो समयदेखि यो पेशा गर्दै आएका छिमेकी अर्जुन काफ्लेको भनाइ छ । तिहारका समयमा दिनमा तीन÷चार वटा नयाँ मादल बिक्री हुने गरेको र नौ-१० वटा मर्मत गर्ने गरिएको मानबहादुर जानकारी दिन्छन् ।

“तिहारका समय मात्रै रु ६०-७० हजार कमाएँ होला । अझै केही दिन त बाँकी नै छ”, उनि भन्छन् । 

उनीहरु यो समय मादल मोड्ने, गोठी हाल्ने, ढाक्नेजस्ता काममा व्यस्त छन् । काठ, बाख्रा वा भैँसीको छाला, अङ्गार, किट, खरीलगायत सामग्री मिसाएर उनीहरुले मादल तयार पर्ने गरेका छन् । मादलको ढुङ्ग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले हिजोआज काठ खोज्न समय लाग्ने  भएको छ । मौवा, खिर्रो, मलेतोलगायत काठबाट मादलका लागि ढुङ्ग्रो बनाउने गरिएको छ ।

मौवा र घ्वारीको काठमा मादलको स्वर राम्रो सुनिने लामगादेको भनाइ छ । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै