काठमाडौँ । एसियन कप छनोटअन्तर्गत समूह एफमा नेपालले आज अन्तिम खेल यमनविरुद्ध खेल्दैछ ।
नेपाल एसिया कप छनोटबाट भने बाहिरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको मात्र हुनेछ भने एसिया कप चयनको दावेदारी प्रस्तुत गरिरहेको यमनका लागि भने यो खेल महत्वपूर्ण छ । नेपाललाई पराजित गरेमा यमन एसिया कपमा चयन हुनेछ ।
कतारको दोहामा रहेको तटस्थ मैदानमा नेपाली समय अनुसार साँझ ९ बजे खेल हुनेछ ।
समूह एफमा नेपाल र यमनसँगै फिलिपिन्स र ताजकिस्तान छन् । समूह चरणबाट शीर्ष दुई स्थानमा रहने टोलीले सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपमा सहभागिता जनाउनेछन् ।
समूह एफको पुछारमा रहेको नेपालको पाँच खेलबाट मात्र दुई अङ्क छ । घरेलु मैदानमा यमन र फिलिपिन्सविरुद्ध गोलरहित बराबरीमा खेलेर नेपालले अङ्क बटुलेको थियो ।
नेपाल फिलिपिन्समा ४–१ र ताजकिस्तानमा ३–० ले हारेको थियो । यसैगरी, ताजकिस्तानविरुद्ध नेपालले घरेलु मैदानमा पनि २–१ ले पराजय वेहोरेको थियो ।
नेपालले यमनसँग यस अघि खेलेका ३ खेलमा एक खेलमा बराबरी र दुई खेलमा हार बेहोरेको छ । यस खेलका लागि नेपाली टिममा भरत खवास दुई लगातर खेलमा पहेलो कार्ड पाएका कारण खेल्ने छैनन् भने आरक मिडफिल्डर विक्रम महर्जन पनि घाइते छन् ।
नेपालका प्रशिक्षक कोजी ग्योतोकुले यस खेलमा नेपाललाई सजिलो नहुने बताएका छन् । उनले घरेलु प्रतियोगितामा खेलाडीहरु धेरै व्यस्त बनेको भन्दै उनले एक टिमको रुपमा मात्र तीन दिन राम्रो प्रशिक्षण पाएको बताउदै यमनविरुद्ध शतप्रतिशत दिने प्रयास गर्ने बताए ।
त्यस्तै नेपाली टिमका कप्तान विराज महर्जनले दुई महिनादेखि लगातार घरेलु प्रतियोगतामा प्रतिस्पर्धात्मक फुटबल खेलेकोले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । उनले यस खेललाई साफ च्याम्पियन्सीपको तयारीको रुपमा लिएको बताए ।