• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप फुटबल गाइड: कस्तो छ समुह एच ?

kharibot

काठमाडौँ । कतारमा हुने विश्वकप फुटबल नजिकिदै गर्दा यस बारे विश्वभरका फुटबलप्रेमीहरुको चासो बढिरहेको छ । नोभेम्बर २० देखि शुरु हुने विश्वकप फुटबलका सबै ८ समुहमा रहेका देशहरुको प्रोफाइल र विश्लेषण प्रस्तुत गर्दैछौं ।

जस अन्तर्गत यस रिपोर्टमा समुह एच को विवरण यस रिपोर्टमा प्रस्तुत गरेका छौं ।

यस समुहमा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेको छ । यस समुहको पहिलो र दोस्रो खेल नोभेम्बर २४ मा उरुग्वे र दक्षिण कोरिया तथा पोर्चुगल र घानाबीच हुने छ ।

त्यसैगरी तेस्रो खेल २८ नोभेम्बरमा दक्षिण कोरिया र घानाबीच हुने छ भने चौथो खेल २९ नोभेम्बरमा पोर्चुगल र उरुग्वेबीच हुने छ । त्यसैगरी पाँचौं र छैटौं खेल डिसेम्बर २ मा घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगलबीच हुने तालिका रहेको छ ।

पोर्चुगल

पोर्चुगल आठौँ पटक विश्वकप फुटबलमा सहभागी हुदै छ ।  विश्वकपमा पोचुगलको अहिलसम्मको सबै भन्दा ठुलो सफलता सन् १९६६ मा तेस्रो स्थान हासिल गर्नु रहेको छ । हाल फिफा वरियतामा नवौं स्थानमा रहेको पोर्चुगल विश्वकप खेल्ने एक उत्कृष्ट टिम मध्ये एक हो ।

पोर्चुगल ६८ बर्षिय फेर्नान्डो सान्तोषको प्रशिक्षणमा विश्वकप खेल्न जादै छ । सान्तोष २०१४ देखि नै पोर्चुगलको राष्ट्रिय टिमको प्रशिक्षक रहेका छन् । उनको नेतृत्वमा पोर्चुगलले अहिलेसम्म १०३ खेल खेलेको छ, जसमा ६३ खेल जितेको छ भने २३ खेलमा बराबरीमा रोकिएको छ । त्यस्तै १७ खेलमा हार बेहोरेको छ ।

उनको नेतृत्वमा पोर्चुगलले २०१६ को युरो कप जितेको थियो भने २०१८-१९ को नेसन्स लिग पनि जितेको थियो ।

पोर्चुगलका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो हुन । रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले पोर्चुगलका लागि १९१ खेलमा ११७ गोल गरेका छन् ।

पोर्चुगलमा रोनाल्डो बाहेक पनि कैयौं स्टार खेलाडी रहेका छन् । जसमा जोआओ फेलिक्स, बेर्नान्डो सिल्भा, ब्रुनो फेर्नान्डेस जस्ता खेलाडीले पोर्चुगललाई बलियो टिमको रुपमा चिनाउछ । 

घाना

घानाले योसहित चौथो पटक विश्वकप फुटबलमा सहभागिता जनाउदै छ । घानाको विश्वकप फुटबलमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन २०१० मा रहेको थियो । यस विश्वकपमा घाना क्वाटरफाइनलमा पुगेको थियो ।

चार पटकको अफ्रिकन च्याम्पियन घाना हाल फिफा वरियतामा ६१औँ स्थानमा रहेको छ ।

घाना यस विश्वकपमा ४७ बर्षिय ओट्टो अड्डोको प्रशिक्षणमा खेल्दै छ । उनी २०२२ देखि घानाको प्रशिक्षक रहेका छन् । त्यसअघि २०२१ देखि उनी घानाको राष्ट्रिय टिमका सहायक प्रशिक्षक थिए ।

घानाका पुर्व खेलाडी समेत रहेका ओट्टोकै नेतृत्वमा घानाले विश्वकपमा आफ्नो स्थान बनाएको हो ।

घानाका प्रमुख खेलाडी आर्सनलबाट खेल्ने मिडफिल्डर थोमस पार्टी हुन् । २९ बर्षिय थोमसले घानाका लागि ४० खेलमा १४ गोल गरेका छन् । थोमस बाहेक आन्द्रे आएव, डिफेन्डर डानियल अमार्टी लगायतका खेलाडीको विश्वकपमा महत्वपूर्ण भूमिका हुन सक्ने देखिन्छ ।  

उरुग्वे

दक्षिण अमेरिकी देश उरुग्वे १४औं पटक विश्वकप फुटबलमा सहभागी हुदै छ । उरुग्वेले अहिलेसम्म सन् १९३० र १९५० गरी दुई पटक विश्वकपको उपाधि जितेको छ ।

हाल फिफा वरियतामा १४औं स्थानमा रहेको उरुग्वे पनि विश्वकपमा बलियो टिम मध्येको एक मानिन्छ ।

उरुग्वे आफ्ना पुर्व खेलाडी डिएगो अलोन्सोको प्रशिक्षणमा विश्वकप खेल्दै छ । ४७ बर्षिय ओलोन्सो २०२१ देखि उरुग्वेको प्रशिक्षक रहेका छन् । ओलोन्स यसअघि डेभिड बेकहमको क्लब इन्टर मियामीको प्रशिक्षक थिए । ओलोन्सोको नेतृत्वमा उरुग्वेले अहिलेसम्म ९ खेल खेलेको छ, जसमा ७ जित, एक बराबरी र एक हार बेहोरेको छ ।

उरुग्वेका लागि स्टार खेलाडीमा लुइस स्वरेज हुन् । स्वरेजले अहिलेसम्म उरुग्वेका लागि १३४ खेलमा ६८ गोल गरेका छन् । उनका अलावा एडिसन कभानी पनि उरुग्वेका महत्वपूर्ण खेलाडी हुन् । कभानीले १३३ खेल खेल्दै ५८ गोल गरेका छन् ।

त्यस्तै लिभरपुलबाट खेल्ने डरविन नुनेज, बार्सिलोनाबाट खेल्ने रोनाल्ड अराउजो जस्ता खेलाडीले उरुग्वेलाई विश्वकपमा बलियो टिमको रुपमा देख्न सकिन्छ । 

दक्षिण कोरिया

दक्षिण कोरिया योसहित १०औं पटक विश्वकप फुटबलमा सहभागी हुदै छ । दक्षिण कोरियाको विश्वकपमा अहिलेसम्मको उत्कृष्ट प्रदर्शन २००२ मा चौथो स्थान हासिल गर्न सफल भएको थियो ।

हाल फिफा वरियतामा २८औं स्थानमा रहेको दक्षिण कोरिया पोर्चुगीच प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा विश्वकप खेल्दै छ । ५३ बर्षिय बेन्टो २०१८ देखि नै दक्षिण कोरियाको प्रशिक्षक रहेका छन् । उनी यसअघि पोर्चुगलको पनि प्रशिक्षक रहेका थिए ।

दक्षिण कोरियाको प्रमुख खेलाडीमा टोटनह्यामबाट खेल्ने सन हेंग मिन हुन् । दक्षिण कोरियाको कप्तान समेत रहेका मिनले दक्षिण कोरियाका लागि १०४ खेलमा ३५ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै