• २०८१ बैशाख ८ शनिबार

हामीले काम गरेर देखाएका छौं, सहज जित हुन्छ - शंकर पोखरेल

kharibot

बुटवल । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । राजनीतिक दलका उम्मेदवारहरु अहिले मतदाताको घरघरमा पुगिरहेका छन् ।

दाङका तीनवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि अहिले चुनावी अभियानमा व्यस्त छन् । प्रस्तुत छ, निर्वाचनकै सन्दर्भमा केन्द्रित रहेर एमाले महासचिव पोखरेलसँग गरिएको कुराकानीको सारसंक्षेप । 

यो निर्वाचनमा तपाइँका एजेन्डा के के छन् ? 

दाङको समग्र विकासका लागि एमालेको तर्फबाट समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई लिएर हामी जनताको घरदैलोमा पुगेका छौं । जनताको अभूतपूर्व साथ समर्थन पाइएको अवस्था छ । हामी उत्साहित छौं । 

चुनाव प्रचार कसरी भैरहेको छ ? 

एकातिर समृद्ध नेपाल सुखी नेपालीको अभियानबारे जनतालाई जानकारी गराउने र अर्कोतिर जनताका सुझाव लिने काम भइरहेको छ । यही आकांक्षा पूरा गर्न गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, स्वरोजगार र उद्यम विकास, किसानलाई प्रोत्साहन, सिंचाई, सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण हाम्रो प्राथमिकताको विषय हो ।

संघीय लोकतान्त्रिक गणतन्को स्थापना, समानुपातिक समावेशिता, राज्यको पुनर्संरचना गरेर राजनीतिक कोर्ष पूरा गर्‍यौं । स्थिर सरकार निर्माण गरेर देश र जनताको हितमा काम गर्नका लागि एमाले अभियानमा छ । त्यसैले समृद्ध नेपाल र सुखी नेपालीको अभियानको आकांक्षा पूरा गर्न अमूल्य मत दिएर योगदान गर्न आम मतदातालाई मेरो अपिल छ । 

तपाइँले जित्नुपर्ने आधार के के छन् ? 

दाङ जिल्लाका लागि राष्ट्रिय राजनीतिमा भूमिका खेल्न सक्ने मानिसको आवश्यकता छ । किनकी एउटा सवल नेतृत्व राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुँदा जिल्ला हरेक कुरामा पछाडि पर्छ । गठबन्धनमा सहभागी दलको संयुक्त सरकारले बुटवल पु¥याएको प्रदेशको राजधानी जिल्लामै फर्काउन हाम्रो भूमिका रहेको हो ।

पछिल्लो पटक मात्रै म मुख्यमन्त्रीको भूमिकामा रहँदा दाङको विकासमा गरेको योगदान धेरै नै रह्यो । दाङमा रहेका भाइरल रोड, पानी मुनिका पुल भएको जिल्ला भनेर चिनिने जिल्ला आज पुलैपुलको जिल्लाका रुपमा चिनिन थालेको छ ।

हिजो रिफर सेन्टरका रुपमा चिनिने अस्पतालहरु अहिले दर्जन बढी विशेषज्ञ सेवासहितका अस्पताल घोराही र तुलसीपुरमा छन् । कोभिड विशेष अस्पताल, जिल्लामा प्राविधिक शिक्षा, कृषि आधुनिकीकरण, परम्परागत दामोदरमार्गको स्तरोन्नति यस्ता दर्जनौं विकासका काम छन् । त्यसकारण एमालेले सहज जित हासिल गर्छ । एमालेमात्रै राष्ट्रियता, विकास, समृद्धिका पक्षमा उभिन्छ भन्ने कुरा मतदाताले बुझिसकेकाले जित्ने आधार बलियो छ । 

चुनावमा तपाईलाई विश्वास गर्नुपर्ने कारण के के छन् ? 

हामी आउँदा काम हुन्छ भन्ने कुरा पुष्टि गरेर जनतालाई देखाएकै छौं । हाम्रै नेतृत्वले वृद्ध भत्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य विमा, सुत्केरी भत्ता, रोजगारमा आधारित सामाजिक सुरक्षा कोष ल्याएको हो । मुख्य कुरा राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षाका लागि एमालेलाई मत दिनुपर्छ ।

त्यसैगरी भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई पूर्जा उपलव्ध गराउनका लागि, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच स्थापित गर्नका लागि, जनताका आधारभूत आवश्यकता पूर्तिका लागि र समुन्नत दाङ निर्माण तथा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेलाई मत दिनुपर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै