• २०८१ बैशाख ८ शनिबार

बर्दियाका एक दम्पतीलाई छोएन चुनावले

kharibot

काठमाडौँ । बर्दिया ठाकुरद्वार–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहेका छन् ।

उनलाई सघाउँदै श्रीमति नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै छन् । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पत्ती बेखबर नभए पनि मतदानको अवसर पाएका छैनन्  । बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै छन उनिहरु मुलुक चलाउने सिंहदरबार नजिकै ।

“भरपेट खाएर आनन्दको निद्रा सुत्नु छ”, कार्की दम्पत्तीले एकै स्वरमा सुनाए । निर्वाचनकै दिन आज सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रम व्यस्त छन् । उनिहरुलाई हामीले सोध्यौँ, “भोट हाल्न किन नजाउनुभएको ?”“मतदाता नामावली गाउँतिरै छ, यता शहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाउँ भनेर कसैले भनेन् । कसैले खबर गरेको भए जाने थियौँ ।”बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आएका छन् ।

भोट हाल्न गाउँ नगइ राजधानीमा सङ्घर्षरत कार्की दम्पतीले दैनिक रु एक हजार आठ सयदेखि रु दुई हजारसम्म आम्दानी गर्छन् । 

“छोराछोरी हुर्काइयो पढाइयो तर अहिले ठूला भएपछि छुट्टिएर बसेका छन्”, कार्कीले भने, “हामी बुढाबुढीलाई पेट पाल्न मजदुरी गर्नुपरेको छ ।”

कार्कीलाई यसपटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन । तर मेसो नमिलेको उनको भनाइ छ । कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्यूँ गाउँपालिकाकी बर्मा धामीको पनि छ । मुलुकभर मतदान चलिरहेका बेला उनि भने काठमाडौँको रामशाह पथमा पिठ्यूँमा गह्रौ झोला बोकेर हिँडिरहेका छन् ।

उनिलाई पनि गाउँ गएर आजको दिन भोट हाल्ने रहर थियो । तर आफ्नै समस्याका कारण गाउँ जान सकेनन। 

“पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिन, घर जान धेरै पैसा लाग्छ,” उनले भने, “कसैले जाउँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ।”

धामी पुतलीसडकमा रहेको आफन्तकहाँ बस्दै आएका रहेछन । चुनावका दिन गाडी नचल्ने भएपछि उनि ललितपुरको टीकाथलीसम्म पुग्न पैदल हिँडेको सुनाए । 

“आज गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्योहोला”, उनले भने, “तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।”

धामी जस्तै रामेछापका सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर पैलदै हिँडेका छन् । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आएका रहेछन् । भद्रकाली मन्दिरमा दर्शन गरी फर्कँदै गरेका उनिहरु बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताए ।

निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन विहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको छ ।

सञ्चारमाध्यम, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन् । यो सङ्ख्या आयोगले कार्की दम्पती जस्ता मतदान गर्न नपाएकाहरुलाई पनि गणना गरेको छ । केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट बञ्चित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै