• २०८१ बैशाख ८ शनिबार

मूर्तिले धानेको जीवन

kharibot

सहजपुर । बुबाबाट सिकेको सीपले अहिले कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी अमर सुनार परिवारको जीविकोपार्जन चलिरहेको छ । बुबाबाट मूर्ति बनाउन सिकेका उनले त्यसैलाई आफ्नो व्यवसाय बनाएका छन् । यसैबाट आफ्नो र परिवारको जीवन पनि धानेका छन् उनले । 

सत्र वर्षको उमेरदेखि नै उहाँ निरन्तर रुपमा मूर्ति बनाउँदै आएका छन् । “बुबाले सुनारको काम गर्नुहुन्थ्यो तर बीचबीचमा उनले कसैले अर्डर दिए मूर्तिहरु पनि बनाउनुहुन्थ्यो”, अमरले भने, “बुबाले मूर्ति बनाएको देखेर नै मैले पनि सिकेँ, म स्कुलमा पढ्दै गर्दादेखि नै मूर्ति बनाउँदै आएको छु”, उनले अहिले मागअनुसार मूर्ति बनाउने गरेको बताए । माग आए जस्तोसुकै मूर्ति बनाउन सक्ने उनको भनाइ छ । 

यही पेशाबाट उहाँको सातजनाको परिवार चलेको छ ।  उनले सानैदेखिको आफ्नो रुचि भएकाले मूर्ति बनाउने काममा आनन्द आउने गरेको बताए । उनले कृष्णपुर नगरपालिका–५ मा रहेको आफ्नै घरमा मूर्ति निर्माणको काम गर्दै आएका छन् । सुरुमा घरघरमा गएर मूर्ति बनाउँदै आएको भए पनि १० वर्षअघि देखि मात्रै पसल खोलेर यो काम गरेको उनको भनाइ छ ।  सुदूरपश्चिमका सबै जिल्लाबाट यसको माग आउँछ । उनले भने, “अर्डरकर्ताले आवश्यक परेको मूर्तिको फोटो ल्याउँछन्, त्यही हेरेर बनाउँछु ।”

मासिक २५ देखि ३० हजारसम्म कमाउने उहाँले मूर्तिको आकार हेरे मूल्य निर्धारण गर्छन् ।  “मूर्तिको आकार हेरेर पैसाको कुरा गर्छु, किनकि ठूलो मूर्ति बनाउन समय र खर्च बढी लाग्छ”, उनले भने, “समय र खर्चको आधारमा मूर्तिको मूल्य निर्धारण गर्छु, कुनै मूर्ति बनाउन त तीनदेखि चार महिनासम्म लाग्छ ।” 

महेन्द्रनगरमा रहेको पोखरी कटेजले अर्डर दिएको राना थारूको संस्कृति झल्काउने मूर्ति बनाउन उनलाई तीन महिना लागेको थियो । उनले सो मूर्ति बनाएबापत आफूले रु एक लाख २० हजार लिएको बताए । उनले पृथ्वीनारायण शाहको पनि मूर्ति बनाए । तेघरीस्थित नेपाली सेनाको ब्यारेकमा राख्न उक्त मूर्ति बनाउन अर्डर आएको र टेन्डर नहुँदा मूर्ति लिन नआएको उनले बताए । करिब चार महिनामा बनाउने सो मूर्तिको मूल्य एक लाख ५० हजार छ । अहिले उहाँ फूलबारीको एउटा मन्दिरले दिएको अर्डर अनुसारको मूर्ति बनाइरहेका छन् । 

मूर्ति बनाउन आवश्यक पर्ने सामग्री पनि आफैँले बनाउने गरेको उनले बताए । “मूर्तिका सामग्री बजारमा पाइँदैनन् त्यसैले आफैँले बनाउँछु”, उनले भने । मूर्ति कोर्न थालेको करिब ३० वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म कुनै ठाउँबाट तालिम नलिएको उहाँले बताए । उनले स्थानीय सरकारले अन्य व्यवसायमा तालिम सञ्चालन गरे पनि मूर्ति बनाउने विषयमा हालसम्म चासो नदिएको गुनासो गरे ।

“मूर्ति बनाउन इच्छुक धेरै मानिसहरु छन्, तर त्यस्ता मानिसलाई सिकाउन प्रशिक्षण दिने  काम भएको छैन ।” व्यावसायिक रुपमा मूर्तिको बजार राम्रो छ । “बजारमा मूर्तिको माग पनि राम्रै छ”, उनले भने, “तर हामीले यसलाई व्यावसायिक रुपमा लैजान सकेका छैनौं ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै