• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेससँग प्रचण्डको बार्गेनिङ, नयाँ गठबन्धन बन्नसक्ने !

kharibot

काठमाडौं । नयाँ सरकार गठन गर्ने जोड घटाउ शुरु भएको बेला संसदमा तेस्रो ठुलो शक्ति बनेको माओवादी केन्द्रले काँग्रेससँग बार्गेनिङ गर्ने बाटो समातेको देखिएको छ । माओवादी केन्द्रको सरकारको नेतृत्व गर्ने रणनीतिले देशले छिटै नयाँ सरकार पाउने सम्भावनालाई पनि टार्ने संकेत गरेको छ ।

माओवादी केन्द्रले सत्तारुढ गठबन्धनले प्रचण्डलाई नै पहिला प्रधानमन्त्री बनाउनुपर्ने आफ्नो मागलाई प्रष्ट पार्दै एमाले तिरको गठबन्धनको बाटोलाई खुला गरेको छ ।

शनिबार बसेको पदाधिकारी बैठकले सरकार गठनका लागि गठबन्धन बाहेकका अन्य विकल्पलाई पनि खुला गर्ने भन्ने निर्णयले प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा खुला रुपमा मैदानमा आएको बुझ्न सकिन्छ ।

माओवादीको नयाँ निर्णय  

नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए । सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए ।

अहिलेको गठबन्धन नतोड्ने तर सरकार निर्माणमा अन्य दलसँग पनि छलफल गर्ने विकल्पमा खुला रहने निर्णय भएको महराले बताए । 

माओवादी केन्द्रले पार्टी प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको बुझिएको छ ।

बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए । 

चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफलले आइतबार पनि निरन्तरता पाउने भएको छ । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ ।

के के छन् विकल्प ?

माओवादीको सरकारको नेतृत्व गर्ने माग अगाडी आएपछि अहिलेको गठबन्धन अगाडी बढ्न नसक्ने सम्भावना पनि देखिएको छ । अहिले संसदमा कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको छ । अन्तिम नतिजा आएपछि कांग्रेसका करिब ९० सांसद हुने देखिएको छ भने एमालेका ७८ सांसद हुने देखिन्छ । त्यस्तै माओवादी केन्द्रका ३२ सांसद हुने देखिन्छ ।

यस्तो अवस्थामा माओवादी केन्द्र एमालेसँग लागेर पनि बहुमत पुर्याउन भने मुश्किल नै देखिन्छ । यसका लागि करिब २१ सांसद हुने राष्ट्रिय स्वतन्त्र पार्टी र १० सांसद हुने एकीकृत समाजवादी पनि एक ठाउमा आउनु पर्ने देखिन्छ, जुन त्यति सम्भव देखिदैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले तत्काल गठबन्धन नछोड्ने स्पष्ट गरिसकेका छन् । अहिलेको अवस्थामा एकीकृत समाजवादीले काँग्रेसलाई छोडेर एमालेसँग गठबन्धन गर्ने विषय अलि पत्यारिलो देखिदैन । त्यसैले पनि माओवादीको यो नयाँ रणनीति काँग्रेससँग बार्गेनिङ गर्ने मात्र रहेको सजिलै बुझ्न सकिन्छ  । 

अहिलेको सत्ता गठबन्धनमा भागबन्डा मिलेमा बहुमत पुग्ने देखिन्छ  ।  यसमा स्वतन्त्र सांसद, सिके राउतको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई मिलाउदा उनीहरु १४७ को आसपास पुग्ने देखिन्छ, जुन बहुमतका लागि चाहिने १३८ भन्दा बढी हो  । 

तर प्रधानमन्त्री पदका लागि प्रचण्डले अपनाएको यो नयाँ रणनितिले कांग्रेस र एमालेलाई नजिक बनाउने सम्भावना पनि देखिएको छ  । 

एमाले अध्यक्ष केपी ओली सधै प्रचण्डका कडा आलोचक रहेका छन् । उनले चुनावपछि प्रचण्डलाई फोन गरेर बधाई दिने र मिलेर जान गरेको प्रस्ताव राजनीतिक 'कटसी' मात्र भएको बुझ्न सकिन्छ । सकेसम्म ओलीको रणनिति प्रचण्डलाई सत्ताबाट पांच बर्ष बाहिर राखेर माओवादीको अस्तित्व मेटाउने रहेको छ ।  

एमालेका दोस्रो तहका नेताहरुले पनि कांग्रेस एमाले मिलेर अगाडी बढ्ने जनादेश जनताले दिएको विभिन्न अन्तर्वार्ताहरुमा बोलिरहेका छन् । यसरी हेर्दा माओवादीको यो कदम उसका लागि आत्मघाती पनि हुनसक्ने देखिएको छ ।     

अर्को तर्फ कांग्रेस भित्र प्रधानमन्त्रीका दाबेदार बढ्दै गर्दा रणनीतिक रुपमा पनि देउवालाई सजिलो बनाउन प्रचण्डले यो रणनिति अपनाएको हुनसक्ने विश्लेषण गरिएको छ । आफ्नो पार्टीले सरकारको नेतृत्व नै गर्ने अवस्था नआउने भएमा देउवा निर्विवाद रुपमा संसदीय दलको नेता बन्न सक्ने वा प्रमुख थ्रेट देखिएका गगन थापालाई रोक्न सकिने रणनिति अनुरुप माओवादीले यो कदम चालेको पनि बुझ्न सकिन्छ ।

गठबन्धन बनाएर नै सरकार बनाउनुपर्ने अहिलेको अवस्थामा प्रधानमन्त्री बन्ने होडबाजीमा नयाँ गठबन्धन बन्ने सम्भावनालाई माओवादीको नयाँ निर्णयले खोलेको देख्न सकिन्छ । तर व्याबहारिक रुपमा एमाले-माओवादीको गठबन्धन सफल हुने सम्भावना धेरै कम देखिन्छ भने कांग्रेस-एमालेको गठबन्धन बन्ने सम्भावनालाई नकार्न सकिदैन । 

अर्को विकल्प कांग्रेसले गगन थापालाई नै प्रधानमन्त्रीको रुपमा अगाडी ल्याएमा एमाले र माओवादी बाहेकोको सरकार बन्ने विकल्प पनि बलियो विकल्पको रुपमा रहने देखिन्छ । यो विकल्पलाई पनि अहिलेको अवस्थामा नकार्न सकिन्न । 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै