• २०८१ बैशाख ८ शनिबार

 महिला हिंसा अन्त्यका लागि सबैको सहकार्य जरुरी- भवानीप्रसाद खापुङ

kharibot

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला निकाय सबै सहकार्य गर्नुपर्ने बताए । 

आज महिला हिंसाविरुद्धसम्बन्धी आयोजित कार्यक्रममा बोल्दै उनले बताए, “ चेतनास्तर सहर, गाउँ र समुदायपिच्छे फरक छ । महिला हिंसाको अन्त्यका लागि जनचेतना वृद्धि पहिलो आवश्यकता हो ।” सीमित स्रोतसाधनका बाबजुत ओसिएमसिले ९४ अस्पतालमार्फत् पीडितलाई सहयता दिँदै आएको उनले बताए ।

यसलाई अझ धेरै ठाउँमा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले पनि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट ११ हजार ४६ जनाले स्वास्थ्य उपचार सेवा लिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले देशभरका विभिन्न ६० अस्पतालमा रहेका ओसिएमसीबाट १० हजार चार सय ९१ महिला, पाँच सय २८ पुरुष र २७ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले स्वास्थ्य उपचार सेवा लिएको जानकारी दिए । गत आवमा शारीरिक अशक्तताका दुई हजार चार सय ९९ मुद्दामा ओसिएमसीले स्वास्थ्य सहायता उपलब्ध गराएको हो ।

कर्माचार्यका अनुसार केन्द्रमा सेवा लिन आउनेमा घरेलु हिंसाका पीडितको सङ्ख्या बढी छ । “गत आर्थिक वर्षमा सेवा लिने पीडितमा घरेलु हिंसाका पीडित धेरै छन् । नाताभित्रबाट हिंसा बढी भएको देखिएको छ । त्यसमा पनि शारीरिक यातनाका घटना धेरै छन्”, उनले भने । ओसिएमसीबाट सहायता लिने पीडितमा सबैभन्दा धेरै छ सय ५१ वटा सामाजिक हिंसाका पीडित छन् ।

त्यसबाहेक बालविवाहसम्बन्धी तीन सय १८, बहुविवाहसम्बन्धी एक सय ३९, बालश्रमसम्बन्धी एक सय ८१ घटना छन् । साथै, दाइजोसम्बन्धी एक सय २२, बोक्सीको आरोपसम्बन्धी ४५, छाउपडीका एक सय ६५ र मानव बेचबिखनसम्बन्धी ६१ वटा घटना छ । यसबाहेक अन्य कारणले एक हजार ८० हिंसा भएको मन्त्रालयको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै