• २०८१ बैशाख ८ शनिबार

शैक्षिक सुधारको माग राख्दै विद्यार्थी संगठन आन्दोलित

kharibot

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक सुधारको माग राख्दै विभिन्न विद्यार्थी संगठन आन्दोलित भएका छन् । 

प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठका स्वतन्त्र विद्यार्थी युनियन स्ववियु, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघ विश्वविद्यालयमा देखिएको शैक्षिक विकृतिका विरुद्धमा आन्दोलित भएका हुन् । 

वाल्मीकि विद्यापीठका स्ववियु सदस्य अच्युत लम्सालले शैक्षिक सुधारको माग गर्दै विश्वविद्यालयको पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएकाले आन्दोलन गर्न बाध्य भएको बताए । 

उनका अनुसार २२ वर्ष पुरानो पाठ्यक्रम परिमार्जन गर्नुपर्ने, वृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने, विश्वविद्यालय दीक्षान्त समारोह समयमै हुनुपर्ने, स्ववियु निर्वाचन मिति घोषणा गर्नुपर्ने र संस्कृत छात्रावासलाई सुदृढीकरण गर्नुपर्नेलगायतका माग रहेका छन् । 

यस्तै विश्वविद्यालयको वेभसाइट सञ्चालन गर्नुपर्ने, विश्वविद्यालयका अतिक्रमित जग्गा विश्वविद्यालयको मातहतमा ल्याउनुपर्ने, विद्यार्थीसँग गरिएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग अगाडि सारेका छन् । 

सदस्य लम्सालले विश्वविद्यालयको सम्पर्क कार्यालय र वाल्मीकि विद्यापीठमा लगाइएको तालाका बारेमा पनि प्रशासन मौन बसेको बताए । विद्यार्थी संगठनले विगत २६ दिनदेखि दुवै ठाउँमा ताला लगाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै