• २०८१ बैशाख ६ बिहीबार

भारतको विहारमा विषाक्त मदिरा सेवनबाट एक महिनामा ९२ जनाको मृत्यु

kharibot

नयाँदिल्ली । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट बयानब्बे जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् ।

सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विषाक्त मदिरा सेवन गरेकाहरूले चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुने गुनासो गरेका थिए ।

राज्यको राजधानी पटनाबाट ६० किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लाबाट सुरुमा मृत्यु भएको खबर आएको थियो । त्यहाँ सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएका भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोले जनाएको छ । राज्यका विभिन्न अस्पतालमा २१ जनाको उपचार भइरहेको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ । 

विगत छ वर्षमा विहारमा विषाक्त मदिराक सेवनबाट एक हजारभन्दा बढीको मृत्यु भएको तथा छ लाख जना जेलमा परेका विपक्षी दलका नेता एवम् विहारका सांसद सुशीलकुमार मोदीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

भारतका चार राज्य गुजरात, मणिपुर, नागाल्याण्ड र विहारमा मदिरा पूर्णरुपमा प्रतिबन्धित छ भने केही अन्य राज्यमा पनि यो आंशिक रूपमा प्रतिबन्धित छ तर यसको उत्पादन, बिक्री एवम् सेवन रोकिएको छैन । 

यो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो । नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट सात सय ८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि एक सय २० जनाले ज्यान गुमाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै