• २०८१ बैशाख ४ मंगलबार

कार्यान्वयन हुदैनन् हवाई दुर्घटना छानबिनका प्रतिवेदन

kharibot

काठमाडौँ । सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या भने बढ्दो छ । 

मानवीय क्षतिको हिसाबले आज पोखरामा यती एयरलाइन्सको विमान  दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाडौँबाट पोखराका लागि उडेको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । 

हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो । तुलनात्मक रुपमा सुरक्षित मानिएको एटिआर सिरिजका जहाज दुर्घटना पर्नु आफैमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ ।

उनले नेपालमा साना विमान बढी मात्रामा दुर्घटनामा पर्ने गरेका थिए । एटिआर नै दुर्घटनामा परेको पहिलो पटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु सङ्ख्यालाई ध्यान दिएर एटिआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ । आचार्यका अनुसार एटिआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ । 

हवाई दुर्घटनापछि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको विज्ञहरुको भनाइ छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ । तर प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । आन्तरिक उडानतर्फ आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटना पनि आफैमा ठूलो हो ।  

सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो ।

आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे हुन् । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनीयर एकराजजङ थापा रहेका छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । सरकारले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।

समितिले ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दै आएको छ । समस्या न्यून हुनुको साटो बरु बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकतासमेत महसुस भएको छ ।

यति एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशङ्का र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उनले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए । “यो आफैमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ”, मानन्धरले भने । हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमासमेत अध्ययन गर्नुपर्ने सुझाव दिइएको थियो ।

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा पर्यो र एक सय ५७ जनाले ज्यान गुमाएका थिए ।

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पर्यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकोप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो । यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

सन् २०१८ को सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त हुँदा एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बङ्गलादेशबाट नेपाल आएको यूएस बाङ्गला  एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु भएको थियो । 

यस्तै गत जेठ १३ गते यतिकै भगिनी संस्था तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो । 

हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन । सन १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो ।

काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको थियो । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८औँ हवाई दुर्घटना हो । यति एयरलाइन्सको हकमा भने यो चौँथो दुर्घटना हो ।

(राससका लागि रमेश लम्साल/सिबी अधिकारीको रिपोर्ट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै