• २०८१ बैशाख ६ बिहीबार

राष्ट्रपति चयनमा राजनीति

kharibot

काठमाडौँ । मङ्सिर ४ को निर्वाचन पछि अनुमान विपरितका घटनाक्रमहरु भइरहेका बेला अबको राजनीतिको केन्द्र राष्ट्रपतिको निर्वाचन हुने भएको छ । यसको संकेत विहिबार सम्पन्न सभामुखको निर्वाचनले पनि गरेको छ ।

अहिलेसम्म सत्ता साझेदार दलहरु सभामुख र उपसभामुखको निर्वाचनमा एक ठाउमा हुने स्पष्ट संकेत देखिएको छ तर के गठबन्धन राष्ट्रपति निर्वाचन सम्म पनि एक ठाउमा हुन्छ त ? अहिले सबैको प्रश्न यसमै केन्द्रित रहेको छ ।

विहिबार संसदबाट बाहिरिदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति मै राष्ट्रपति चयन हुनुपर्ने आफ्नो विचार रहेको बताए ।  उनले सत्ता साझेदारबाट नै राष्ट्रपति चयन हुने बताएनन् । यसले कांग्रेसलाई अलिकति भएपनि राहत दिएको हुनसक्छ । 

प्रधानमन्त्री प्रचण्डले विहिबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको प्रयास भइरहेको बताए ।

उनले भने- 'आज सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि सकेसम्म एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । कोसीस जारी छ ।'

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डसँग राष्ट्रपति एमालेले पाउने सहमति भएको बताउदै सोहि अनुसार एमालेकै उम्मेदवार राष्ट्रपति हुने पनि बताए । उनले अहिले राष्ट्रिय सहमतिको चर्चा भएको उल्लेख गर्दै एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने पनि बताए ।

प्रतिनिधिसभाको विहिबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी गरे ।

“राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । सत्ता साझेदार दलभित्रको सहमति त्यही हो । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ”, अध्यक्ष ओलीले भने ।

अर्कोतर्फ कांग्रेसका नेताहरुले भने राष्ट्रपति कांग्रेसकै उम्मेदवार बन्नेमा जोड दिएका छन् । कांग्रेसको एक मात्र आशा प्रधानमन्त्री प्रचण्ड नै हुन् । किनकी राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रको मत नै निर्णायक रहेको छ ।

प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिन सक्ने केहि आधारहरु देखिएका छन् । उनले यो प्रयास सभामुखको निर्वाचनमा गरेर राष्ट्रपतिको चुनावको लागि वातावारण बनाएको बुझ्न सकिन्छ । सभामुख निर्वाचन अघि सरकार विस्तारको विषयमा भएका कैयौं छलफल र बैठक मुख्यगरी राष्ट्रपति मै केन्द्रित रहेको बुझ्न सकिन्छ ।

एमाले कुनै पनि अवस्थामा राष्ट्रपति आफ्नो बनाउन चाहन्छ । यो विषय प्रचण्डले राम्रोसँग बुझेका प्रचण्डले कांग्रेसलाई झिनो आशा देखाउदै विश्वासको मत दिने वातावरण बनाएका थिए, जसका कारण एमाले अलिकति राजनीतिक रुपमा दबाबमा आएको पनि छ । यसको पहिलो खड्कोको रुपमा सभामुखको निर्वाचन आफ्नो पक्षमा पारेर एमाले अगाडी बढेको छ । अब राष्ट्रपति निर्वाचनमा अहिलेको सत्ता साझेदार गठबन्धन तथा प्रधानमन्त्री प्रचण्ड र कांग्रेसको सम्बन्धको असली परीक्षा हुने देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डको बुझाइ कांग्रेसबाट राष्ट्रपति बनेमा पहिलो त आफुलाई शक्ति सन्तुलनको हिसाबले दैनिक काम गर्न सजिलो हुने अनुमान छ भने अर्कोतर्फ एमालेले साथ छोडेको दिन कांग्रेसलाई तयारी अवस्थामा रहने हुनाले आगामी पाँचै बर्ष प्रधानमन्त्री भइरहन पाइने अवस्था रहेको छ ।

एमाले अध्यक्षको प्रतिक्रिया सुन्दा प्रचण्ड अहिले पनि एमालेलाई राष्ट्रपति दिन पूर्ण रुपमा तयार नरहेको स्पष्ट बुझ्न सकिन्छ । प्रचण्डले सर्बदलीय बैठक राखेर र सार्बजनिक अभिव्यक्तिमा पनि सहमतिमै हुनुपर्नेमा जोड दिएकाले उनले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्नसक्ने सम्भावना देखिन्छ ।

निष्कर्षमा नतिजा जे भएपनि आउदा करिब एक महिना देशको राजनीति राष्ट्रपति निर्वाचनमा केन्द्रित हुने निश्चित छ । सत्ता साझेदार गठबन्धन एक ठाउमा भएमा सोहि पक्षको उम्मेदवार विजयी हुने निश्चित रहेको छ भने प्रधानमन्त्री प्रचण्डले शक्ति सन्तुलन हुनुपर्छ भन्दै कांग्रेसलाई समर्थन गरेमा नतिजा अन्यथा आउने देखिन्छ । यस अवस्थामा राष्ट्रपतिको निर्वाचन सोचे भन्दा रोचक र चर्चित हुने देखिएको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल फागुन २९ गतेसम्म रहेकाले निर्वाचन आयोगले त्यसको एक साता अघि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी थालेको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै