• २०८१ बैशाख ७ शुक्रबार

स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै

kharibot

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ । 

दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए । मन्त्रीसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी जाँदै छन् ।

गत पुस १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा समेत फैलिएको छ । 

अहिलेसम्म नेपालगञ्जमा दई सय बालबालिका सङ्क्रमित र एकको निधन भएको छ । यस्तै खजुरामा १८, कोहलपुरमा पाँच, नरैनापुरमा १५, डुडुवामा आठ बालबालिकामा दादुराको प्रकोप देखिएको छ । मन्त्रालयले दादुरा विरुद्धको खोप नलगाएकाले दादुरा–रुवेलाको प्रकोप फैलिएको जनाएको छ ।

मन्त्रालयले पुस २२ गतेदेखि प्रकोप फैलिएका ठाउँमा छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइरहेको छ ।

अहिलेसम्म ४२ हजार नौ सय ७८ बालबालिकालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी ४४ हजार चार सय दुईजनालाई खोप लगाइसकेको मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । सरकारले सन् २०२३ सम्म नेपाललाई दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले बाँकेको नेपालगञ्जमा दादुरा देखिएकाले चुनौती थपिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै