• २०८१ बैशाख ५ बुधबार

काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता, संसद सचिवालयले पठायो पत्र

kharibot

काठमाडौं । संघीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिँदै पत्र पठाएको छ ।  संसद् सचिवालयले नाम नै तोकेर प्रमुख प्रतिपक्षी दलको नेताको सेवा सुविधासम्बन्धी जानकारी गराएको हो ।

संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका प्रमुख रामहरि थापाले पत्र पठाउँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पाउने सेवा सुविधाका विषयमा जानकारी दिएका हुन् ।

पत्रमा भनिएको छ, 'प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रबाट प्रतिनिधिसभामा विपक्षी दलको नेता माननीय श्री शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।'  

सचिवालयले विपक्षी दलको नेताको हैसियतमा नाम नै तोकेर जानकारी गराएसँगै कांग्रेसको प्रमुख प्रतिपक्षी दलको हैसियत पाउने निश्चित भएको हो ।

यस अघि नेपाल मजदुर किसान पार्टीले पनि लिखत रुपमा प्रमुख प्रतिपक्षी दलको मान्यता आफुले पाउनुपर्ने भन्दै संसद सचिवालयलाई लिखित पत्र पठाएको थियो । कांग्रेसले सरकारलाई विश्वासको मत दिएको भन्दै मजदुर किसान पार्टीले प्रमुख प्रतिपक्षी दलको मान्यता आफुले पाउनुपर्ने दाबि गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै