• २०८१ बैशाख ८ शनिबार

आयातसँगै घट्यो निर्यात

kharibot

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो ।

गत आवको पुससम्म नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमारू सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको हो ।

साथै गत आवको पुससम्म एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा रू ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो ।

तथ्याङक अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ ।

सात खर्बकोे व्यापारघाटा

चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा रू सात खर्बभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक व्यापारघाटा रू सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले रू आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ ।

गत आवमा रू आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा रू ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो ।

विभागको तथ्याङ्कअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ ।

तथ्याङ्क अनुसार छ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र रू चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ ।

उक्त अवधिमा नेपालले भारतबाट रू चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने रू ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ ।

आयात प्रतिबन्धकोे असर राजस्वमा

सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार बराबर राजस्व सङ्कलनमा कमी आएको छ । गत आर्थिक वर्षको छ महिनामा दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व सङ्कलन गरेकोमा चालु आवमा सोही अवधिमा रू एक खर्ब ८२ अर्ब ८४ करोड बराबर राजस्व सङ्कलन भएको हो ।

सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ ।

विभागका अनुसार छ महिनामा नेपालले विभिन्न देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको हो ।

तर, मङ्सिरमा रू एक खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा एक खर्ब २७ अर्ब बराबरको मात्रै आयात थपिएको हो । 

एक सय ४८ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न एक सय ४८ देशबाट रु सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्क अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

छ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै रु चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात भएको छ  । 

कुल रू चार खर्ब बढीको आयात हुँदा रू ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार बराबरको मात्रै निर्यात गरेको छ ।

नेपालले भारतसँग मात्रै रू चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।छ महिनाको अवधिमा चीनबाट एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाख बराबरको आयात भएको छ भने ३४ करोड ११ लाख मात्र निर्यात भएको छ । चीनसँग मात्र रु एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख बराबरको व्यापारघाटा भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै