• २०८१ बैशाख १२ बुधबार

फिक्सिङ बारे सीआईबीको अनुसन्धान: ४ नेपालीसहित १० जना संलग्न

kharibot

काठमाडौँ । नेपाल टी-२० लिगमा भएको ‘लाइभ बेटिङ’ र ‘ स्पट फिक्सिङ’ नेपाली र विदेशी गरी १० जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरी १ नेपाली खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी नागरिकको फिक्सिङमा संलग्नता रहेको जनाएको हो । 

सिआईबीले स्पट फिक्सिङमा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी त्यसैअनुसार बलिङ गरेको जनाएको छ । २० बर्षिय आदिल जनकपुर रोयल्सबाट नेपाल टी-२० खेलेका थिए । आदिलले स्पट फिक्सिङ गर्दै कम्तीमा २ खेलमा एक वाइड र एक नोबल बल फालेको सिआईबीले जनाएको छ ।

त्यस्तै एकै खेलमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गरेका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमसमेत फिक्सिङमा संलग्न भएकोप्रहरीको अनुसन्धानमा खुलेको छ । उनले २ जना नेपाली खेलाडीलाई फिक्सिङका लागि प्रलोभन देखाएको सीआईबीले दाबी गरेको छ ।

साथै सीआईबीले टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेसनमा निर्धारित रनमात्र बनाइ स्पट फिक्सिङ गरेको पनि सीआईबीले जनाएको छ ।

मुख्य प्रायोजकका रूपमा १एक्स बेटले खेलकुदसँग सम्बन्धित समाचारका लागि पूर्वानुमान गर्नका लागि भरपर्दो स्रोत भन्ने दाबी गरेको पनि प्रहरीले जनाएको छ । त्यस्तै केही फ्रेन्चाइज टिमहरूको आर्थिक स्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको स्रोतसमेत नखुलेको पनि सीआईबीले जनाएको छ ।

सीआईबीले विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्फट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको सीआईबीको निष्कर्ष रहेको छ ।

प्रहरीले आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । सीआईबीले महबुबलाई विराटनगर र आदिललाई राजविराजबाट पक्राउ गरेको हो ।

के छ कानुनी प्रावधान ?

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ दफा ३१ खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने: नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसंग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकुल हुने गरी कुनै खेलाडी वा खलाडीको समूहसंग मिलोमतो गर्न वा कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन ।

-दफा ३२ (ग) कसुर: खेलमा मिलोमतो तथा अनियमितता गरेमा यस ऐन अन्तरगतको कसूर मानिने ।

-दफा ३३ सजाय: तीन वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसूर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकम समेत जफत हुने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै