• २०८१ बैशाख १४ शुक्रबार

सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलको समिकरण पुरा

kharibot

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल समिकरण पुरा भएको छ । 

नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई, दोस्रो वरियताका साविक विजेता भुवन नगरकोटी तथा रबि खड्का, रमेश अधिकारी, धन बहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाए । 

शुक्रले २०औं वरियताका टंक बहादुर कार्कीलाई सहजै ५/४ ले हराए। शुक्रले क्वाटरफाइनलमा १०औं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्। भुवनले नवौं वरियताका रामे मगरलाई २/१ ले माथ दिए ।

दोस्रो वरियताका भुवन नगरकोटीले भने १९औं वरियताका सञ्जोक मोक्तानलाई २/१ ले हराए । उनले अब आठौं वरियताका धन बहादुर थापासँग खेल्नेछन् । धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राईलाई ३/२ ले पराजित गरे ।

यसैगरी तेस्रो वरियताका जयराम श्रेष्ठले क्वाटर-फाइनलमा पुग्ने क्रममा १७औं वरियताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१-अप) पराजित गरे । उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन् । दिनेशले पनि अन्तिम होलमा १२औं वरियताका सुर्य प्रसाद शर्मालाई पराजित गरे ।

अर्को खेलमा पाँचौ वरियताका रबि खड्काले १५औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले हराउँदै क्वाटर-फाइनलको यात्रा तय गरे । उनले १३औं वरियताका रमेश अधिकारीसँग खेल्नेछन् । रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरियताका सञ्जय लामालाई ३/१ ले माथ दिए । 

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी देश बाहिर रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन् । पहिलो चरण, क्वार्टरफाइनल, सेमीफाइनल र तेश्रो स्थानको लागी हुने खेल १८ होलको हुनेछ भने फाईनल खेल ३६ होलको प्रतिस्पर्धा हुनेछ । बुधवार क्वार्टरफाइनल र सेमीफाइनलका खेलहरु हुनेछन् । बिहिवार तेश्रो स्थान र फाइनल खेल खेलिनेछन् । 

सुर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ५० हजार रहेको छ ।  

विजेता खेलाडीले ६० हजार रुपिया प्राप्त गर्नेछन् भने उपविजेताले ४२ हजार पाउनेछन् । तेश्रो र चौंथो हुने प्रोले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् । क्वार्टर-फाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त गर्नेछन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै