• २०८१ बैशाख १३ बिहीबार

काठमाडौँ महानगरले तीन महिनामा हटायो ९ हजार होर्डिङ बोर्ड

kharibot

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ ।

नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ । विशेषगरी नयाँ बानेश्वर,  कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।  

महानगरले आर्थिक ऐन-२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक रू पाँच सय शुल्क निर्धारण गरेको छ ।

त्यसैगरी १५ वर्ग फुटसम्मका लागि रू एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट रू एक हजार शुल्क निर्धारण गरेको छ । 

महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ । 

चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा रू ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म रु ३१ करोड ४२ लाख असूल उपर गरेको डा अघिकारीको भनाइ छ ।  

लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ ।

महानगरले पछिल्लो समय पटक-पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्र्याैता रकम पनि असूल हुन थालेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै