• २०८१ बैशाख ७ शुक्रबार

ओलीसँग प्रचण्डको असन्तुष्टि, राष्ट्रपति चयन पेचिलो बन्दै !

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच फेरी दूरी बढ्ने संकेतहरु देखिएका छन् । एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड अहिले पनि ओलीसँग विश्वस्त हुन नसकेको देखिएको छ ।

पछिल्लो पटक विहिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पनि यसको संकेत गरेको छ । प्रचण्डले बैठकमा अहिलेको घटनाक्रम र सत्ता साझेदार दलहरुबीचको सम्बन्धको बारेमा ब्रिफिङ गरेका थिए । प्रचण्डले बैठकमा विशेष गरि एमाले अध्यक्ष ओलीसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । एमालेले सहमति विपरितका गतिबिधि गरेको बताउदै प्रचण्डले ओलीसँग विश्वस्त हुन नसकेको आशय बैठकमा राखेका थिए । 

खासगरी प्रचण्डले ओलीले आफुले गरेको संसद विघटन सहि थियो भन्ने विषय संसदमा राखेर आफुलाई अप्ठ्यारोमा पारेको बताएका थिए । प्रचण्डले यस अघिका विवादित विषयहरु सार्बजनिक रुपमा नराख्ने सहमति विपरित ओलीले संसदमा आफ्नो संसद विघटनको कदम ठिक भएको विषय दुई-दुई पटक राखेपछि आफुलाई अप्ठ्यारो भएको ब्रिफिङ गरेका थिए । प्रचण्डले आफुले ओलीकै कदमविरुद्ध त्यति ठुलो आन्दोलन गरेकाले अहिले त्यो कदम ठिक भनेर भन्न नमिल्ने बताउदै ओलीले सहमति उलंघन गरेको बताएका थिए ।

त्यस्तै प्रचण्डले सरकार बनाउनेक्रममा पनि एमालेले सहमति तोडेको ब्रिफिङ गरेका थिए । मन्त्रालयको बाँडफाँडमा पनि सहमति विपरित हावी भएको बताउदै असन्तुष्टि व्यक्त गरेका थिए ।

साथै प्रचण्डले एकै दलबाट अहिले सभामुख र राष्ट्रपति बनाउदा हुने राजनीतिक नतिजाको बारेमा अहिले पार्टीमा व्यापक विश्लेषण हुनुपर्ने ब्रिफिङ गरेका थिए । प्रचण्डले आफु अहिले राष्ट्रपति कांग्रेस या एमाले कसको हुने भन्ने अवस्थामा नरहेको भन्दै कांग्रेसले विश्वासको मत दिएकाले उसलाई नजरअन्दाज समेत गर्न नसक्ने टिप्पणी गरेका थिए ।

खासगरी प्रचण्डको आफ्नो पार्टीमा यस्तो ब्रिफिङपछि एमाले राष्ट्रपतिमा ढुक्क हुने अवस्थामा देखिदैन । त्यसैले ओलीले अहिले प्रचण्डलाई खुशी बनाउने रणनीतिमै लागेको बुझिएको छ । राष्ट्रपतिको विषयमा एमालेले प्रचण्डसँग यस अघि नै सहमति भइसकेको बताउदै आएको छ भने प्रचण्डले कुनै पनि लिखित सहमति नगरेको बताउदै आएका छन् ।

अहिले प्रचण्डको ध्यान सहमति अनुसार साढे दुई बर्षपछि एमालेको प्रधानमन्त्री बनेको अवस्थामा प्रधानमन्त्री, सभामुख र राष्ट्रपति एकै दलको हुने अवस्था आउनेमा रहेको बुझिन्छ । प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्नेमा जोड दिएपछि एमाले अप्ठ्यारोमा पर्दै गएको छ ।

माओवादीका एक नेताले खरीबोटसँग कुरा गर्दै अहिलेको सत्ता साझेदारबाट नै राष्टपति हुने अवस्थामा एमाले बाहेकको उम्मेदवार खोज्नुपर्ने अवस्था आउनसक्ने बताए । यसमा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाममा सहमतिको प्रयास हुनसक्ने पनि उनले बताए । यो अवस्था नआएको खण्डमा वा एमाले यसका लागि तयार नभएको खण्डमा कांग्रेससँग राष्टपतिको लागि सहमति हुने सम्भावना रहेको उनले बताए ।

उता नेपाली कांग्रेस भने कुनै पनि अवस्थामा प्रचण्डलाई विश्वासमा लिएर राष्ट्रपति आफ्नो पोल्टामा पार्ने कसरतमा रहेको छ । सभापति शेरबहादुर देउवाले सम्भावित पार्टी भित्र विरोध र विवाद भएर वातावरण बिग्रिने भयले राष्ट्रपति निर्वाचनसम्म पार्टीको केन्द्रिय समितिको बैठक समेत स्थगित गरेका छन् । सभापति देउवा पुरै कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर भएपनि राष्टपति कांग्रेसले लिने अवस्था बनाउन तयार देखिएका छन् ।

राष्टपति निवार्चनका लागि अहिले माओवादी केन्द्र निर्णायक रहेको छ । यस कारण पनि प्रचण्ड ओलीसँग पूर्ण रुपमा विश्वस्त नहुदासम्म एमालेको राष्ट्रपति स्वीकार गर्ने अवस्थामा अहिले देखिएका छैनन् । पार्टीमा उनले गरेको ब्रिफिङले यसको संकेत गरेको छ । अर्कोतर्फ प्रचण्डले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्थामा कम्तिमा आफ्नो प्रधानमन्त्रीको कार्यकाल पाँच बर्षका लागि सुनिस्चित गरेर मात्र गर्ने देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै