• २०८१ बैशाख १३ बिहीबार

हे शहीद (कविता)

kharibot

ऊ मसानबाट उठेर शालीकमा विलिन भयो
जतिबेला चिल्लो गाडीबाट ओर्लेर
राष्ट्रको पदधारी मान्छेले फूलमाला अबिर चढायो
सलाम ठोक्यो
ऊ शहीद बन्यो

चुनाव आउदा ऊ पटक पटक भाषण बन्यो
कहिले दशगजा कहिले सगरमाथाको शिखर पुग्यो
कहिले बुद्धको पाइलामा पुग्यो शान्ति बन्यो
देशको मानचित्र कोर्ने अविरल रगतका मसीका खोलामा बग्यो
शोषणको चित्कार बोकेको हावामा घुलेर क्षितिजपारी हरायो
डढेलो लागेको जङ्गलमा पानी छर्कन जादा आफै खरानी भयो
आमाको उपचारमा ऊ आफै मलामी भयो
अहिले अक्षर अक्षर शब्द शब्दमा कविता बन्छ

उसलाई झुण्डाइएका रुखहरु ठिङ्ग उभिएर
सपनाहरु सोधिरहन्छन्
असल छोरो ?
असल मान्छे ?

अनि उभित्रको विद्रोह सडक चिच्चयाउदै
हिँउदका चिसा रातहरु सहदै
खडेरीका टन्टलापुर घाम सहदै
सडकमा मूक उभिरहन्छ

उसको शालीक
जीवन दर्शन र भोकलाई
मुजा परेको गालाबाट झार्दै
पुत्र वियोगबाट छट्पटाएकी आमा
पति वियोगले तड्पिएकाी युवतीको पीडा बन्छ
बाबुआमा गुमाएका टुहुराहरुको चित्कार बन्छ
राष्ट्रियता
स्वाभिमान र
गौरव
बचाउन ऊ शहीद बन्छ

रगतको आहलमा टेक्दै
पद र कुर्चीको लडाइँ लड्नेहरु
आफ्नै सपनाको मलामी बनिरहेका छन्
भोकाहरुको वस्तीमा
भस्मासुरको डढेलो लगाएर

गुहार्दै 
हे शहीद !
हे शहीद !
हे शहीद !

(माधव खनाल
बूढानीलकण्ठ स्कुल,
उमेर-१७,
स्थायी ठेगाना- लमजुङ)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै