• २०८१ बैशाख १३ बिहीबार

आठ रात नौ दिन मनाइने बिस्केट जात्राभित्रका जात्राहरु

kharibot

भक्तपुर ।  नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसिँख्यःमा ५५ हात लामो यसीँ (लिंगो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन् । 

शुरुमा यो जात्रा दुई दिनमात्र मनाइन्थ्यो तर विभिन्न कालखण्डमा यो जात्राले नौ दिन आठ रातको रुप लिन पुगेको इतिहासकार एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । कुनै समय बिस्का जात्रामा भैरवनाथको मात्र रथ तान्ने परम्परा भएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार एक समय यहाँ ठूलो अनिकाल परेको थियो । त्यसबेलाको भद्रकालीको जात्रामा सहभागी सबैभन्दा अग्लो एक व्यक्ति भद्रकालीको रथको अघिपछि हिँड्दै गरेको देखेर एक सिद्ध आचाजुले ध्यानदृष्टिले हेर्दा उनी काशी विश्वनाथ भएको थाहा पाए । 

विश्वनाथले जात्रा हेर्न आएको चाल पाएपछि ती सिद्ध प्राप्त आचाजुले विश्वनाथलाई रोक्ने प्रयास गरे । त्यो थाहा पाएर विश्वनाथले काशी भाग्ने प्रयास गरे । भाग्ने क्रममा विश्वनाथ जमिनमुनि अलप हुन खोजे र त्यहीबेला आचाजुले हँसियाले टाउको छिनालिइदियो । सोही टाउकोलाई यहाँ स्थापित गरे । विश्वनाथको टाउकोलाई यता स्थापित गरेपछि देशमा सहकाल आयो । 

एकगेडा चामल पनि एक परिवारलाई बढी हुन्थ्यो । चामल नै काटी काटी खाँदा बढी हुनेसम्मको सहकाल आयो । त्यसबेलादेखि भद्रकालीको रथसँगै भैरवनाथको पनि रथ जात्रा शुरु भएको श्रेष्ठ बताए । आचाजुले तान्त्रिक बलले हँसियाले विश्वनाथको टाउको काटेकाले नेवार समुदायमा अहिले पनि हँसियाले मासु काट्न हुँदैन भन्ने मान्यता रहेको छ ।

वास्तवमा बिस्का जात्राको मुख्य आकर्षण नै भैरवनाथको रथ तानातान गर्ने र यसीँ ठड्याउने नै हो । तर बिस्का जात्राको नौ दिन आठ रातमा भक्तपुरमा विभिन्न देवीदेवताका खट जात्रा पनि हुन्छ जसको छुट्टै र विशेषखालको महत्व रहेको संस्कृतिविद्हरु बताउँछन् । 

भक्तपुरको विभिन्न टोलटोलमा मनाउने विभिन्न देवीदेवताको जात्रालाई भैरव र भद्रकालीको सम्मानमा मनाउने गरिएको जात्राका रुपमा लिनुपर्ने श्रेष्ठ बताउछन्। उनका अनुसार बिस्का जात्राको संस्कृतिलाई उचाइमा पुर्याउन र मानिसले मात्र नभई देवीदेवताले समेत भैरव र भद्रकालीले सम्मान व्यक्त गरेको अर्थमा भक्तपुरका टोल टोलमा रहेका देवीदेवताको जात्रा गर्ने प्रचलन शुरु भएको हो । 

‘स्याःक्वःत्याःक्वः’ र बाराही क्वाँहा बिज्याइगु 

जात्राको तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ । 

जात्राको तेस्रो दिन नै तेखाचोस्थित बाराहीको द्यो छें (देवघर)बाट बाराही पीठस्थित बाराही मन्दिर लैजाने परम्परा रहेको छ । स्थानीय बाजागाजासहित बाराहीलाई पीठमा लैजाने परम्परालाई स्थानीय भाषामा बाराही क्वाँहा बिज्यागु भनिन्छ । 

बाराही तिप्वा जात्रा 

बिस्का जात्राको चौथो दिन अर्थात् चैत महिनाको मसान्तको दिन अष्टमात्रिकाका शक्तिशाली देवीमध्ये एक बाराहीको बाराही तिप्वा जात्रा हुन्छ । यसिँख्यमा यसीँ (लिंगो) उभ्याउने जात्रा पछि भक्तपुर नगरपालिका–३, तेखाचो टोलमा रहेको बाराहीको मूर्तिलाई खटमा राखी उक्त तिप्वा जात्रा हुने गर्छ । छाने शैलीमा निर्मित बाराहीको खटलाई सिंगारपटारसहित तयार गरी बाराहीलाई विराजमान गराइन्छ । 

जात्रामा स–साना बालबालिकादेखि वृद्धवृद्धासमेत चिलाख बालेर जात्रामा सहभागी हुने गर्छन् । जात्रामा हजारौँ भक्तालु धूप, बत्ती, सुकुन्दा बाली सहभागी हुने गर्छन् । शक्तिकी देवी बाराहीलाई एक रात पीठमा नै राखी भोलिपल्ट लिङ्गो ढालिसकेपछि बाराहीको खटलाई पुज्न टोल टोलमा लगी पूजा आराधना गरी चटामरीलगायत विभिन्न प्रसाद चढाउने गरिन्छ । 

इन्द्रायणी देवीको त्वारिवा जात्रा 

बिस्का जात्राका क्रममा मनाइने अष्टमात्रिका शक्तिशाली देवीको जात्रामध्ये इन्द्रायणी देवीको त्वारिवा जात्रा पनि महत्वपूर्ण छ । यसबेला इन्द्रायणीको खटलाई विभिन्न प्रकारले शृङ्गार गरेर रथजात्रा मनाउने चलन रहेको छ । 

सो रथमा इन्द्रायणी देवीको द्यो छेँमा रहेको मूर्तिलाई खटमा विराजमान गराई आफ्नो इलाकामा जात्रा मनाउने गरिन्छ । यतिबेला सो इलाकाभित्रका बासिन्दाहरुले आ–आफ्नो घरबाट त्वारिवा ल्याई देव बत्ती बालेर इन्दायणी त्वारिवा जात्रामा सहभागी हुने गर्छ । स्थानीय दाफा, भजन खलःको भजन र बाजाहरुले जात्रालाई थप रौनकता प्रदान गर्छ । 

भैरव र भद्रकाली रथ जुधाउने जात्रा 

बिस्का जात्राको अर्काे आकर्षण भैरव र भद्रकालीको रथ जुधाउने जात्रा पनि हो । परापूर्वकालदेखि नै सञ्चालित लिङ्गो जात्राको समापनलगत्तै वैशाख १ गते स्थानीय खँला टोलमा भैरव र भद्रकालीको रथ संगम जात्रा हुने गर्छ । यसलाई भैरव र भद्रकालीको विवाहका रुपमा पनि लिने गरिन्छ । 

महाकाली र महालक्ष्मीको जात्रा 

बिस्का जात्राको अवसरमा टोलटोलमा हुने जात्रामध्ये महत्वपूर्ण जात्राका रुपमा लिइने अर्को जात्रा हो महाकाली र महालक्ष्मीको संगम जात्रा । यो जात्रा वैशाख २ गते भक्तपुरमा बडो धुमधामका साथ मनाइन्छ । 

यो जात्राका क्रममा महाकाली द्यो छेँबाट मूर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा शुरु गरिन्छ । अर्कोतर्फ महालक्ष्मीको मूर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा शुरु गरिन्छ । 

यस जात्राको अवसरमा जात्रालुहरुले एकातर्फ पहेँलो टोपी र अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ । जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाई संगम गराउने प्रचलन छ । 

ब्रह्मायणी र महेश्वरीको जात्रा 

अष्टमात्रिकामध्ये प्रमुख शक्तिशाली देवीका रुपमा पुजिने ब्रह्मायणी र महेश्वरीको जात्रा वैशाख ३ गते मनाइन्छ । सूर्यमढीस्थित द्यो छेँमा रहेको ब्रह्मायणीको मूर्तिलाई खटमा राखी जात्राको प्रारम्भ गरिन्छ । स्थानीय टोलका बालबच्चादेखि वृद्धासम्मले चिलाख र मुस्याख्व बत्ती बाली खटको अगाडि लाग्छन् । 

स्थानीय इनाचो टोलमा रहेका महेश्वरी द्यो छेँको मूर्तिलाई खटमा राखी शृङ्गारपटारका साथ जात्रा शुरु गरिन्छ । यी दुवै देवीको आ–आफ्नो इलाकामा जात्रा शुरु गरेपछि स्थानीय दत्तात्रय चोकको बीच भागमा आइपुग्दा भेट गराएर दुवैको रथ जुधाइन्छ । यसबेला दुवै खटको प्रसाद साटासाट गरिन्छ भने दुवैले आ–आफ्नो चिलाख बत्तीसमेत साटासाट गर्ने प्रचलन छ । 

बटुकभैरव र ज्याठा गणेशजात्रा 

बिस्का जात्राको अवसरमा अष्टमात्रिका देवदेवीको मात्र जात्रा नभई भैरव र गणेशको पनि जात्रा हुने गर्छ । स्थानीय बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा पनि गरिन्छ । जात्राका क्रममा खटलाई सिङ्गारेर देवताका मूर्ति स्थापना गरी खटलाई आ–आफ्नो टोलमा घुमाउने गरिन्छ । सो अवसरमा बटुक भैरव र ज्याठा गणेशको रथ जहाँ भेट्छ त्यहाँ रथ जुधाउने गरिन्छ । 

छुमा गणेश जात्रा 

बिस्का जात्राको आठौँ दिन अर्थात् वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा गरिन्छ । यसबेला शक्तिका देवता छुमा गणेशको मूर्तिलाई खटमा राखी स्थानीय चोछें टोलमा घुमाई जात्रा मनाइन्छ । स्थानीय टोलवासीले जात्राका क्रममा घर घरबाट चटाँमरी प्रसाद चढाउने गर्छन् । 

द्यो सगँ पूजा (सगुन जात्रा) 

वैशाख ४ गते मनाइने द्यो सगँ पूजा पनि बिस्का जात्राको एक महत्वपूर्ण पूजाको रुपमा रहेको छ । यसलाई स्वगं पूजाको नाममा चिनिन्छ । यो पूजा प्राचीनकालदेखि नै सञ्चालन हुँदै आएको इतिहासमा उल्लेख रहेको पाइन्छ । बिस्का जात्रालाई विस्तृत पारी शक्तिशाली देवदेवीका पूजालाई सगुन पूजाको नामले उल्लेख भएको भाषा वंशावलीमा समेत उल्लेख रहेको पाइन्छ । 

यस दिनमा भक्तपुरका शक्तिशाली देवदेवीलाई आ–आफ्नो द्यो छेँबाट निकाली प्राङ्गण, सतल र पाटीहरुमा राखेर पूजाआजा गरी विभिन्न प्रसाद चढाउने गर्छ । यसै परम्परालाई नै सगुन जात्रा भन्ने गरिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै