• २०८१ बैशाख ८ शनिबार

यसपटक विद्यार्थीले समयमै पाउलान् पाठ्यपुस्तक ?

kharibot

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । 

आगामी चैत १५ गतेभित्र सबै पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित क्षेत्रमा पुर्याउने लक्ष्यका साथ दैनिक दुई सिफ्टमा पुस्तक छपाइ भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्तरीय टोलीले आज जनक शिक्षा समग्री केन्द्रको स्थलगत अनुगमन गरी पाठ्यपुस्तक छपाइको अवस्थाका बारेमा जानकारी लिएको हो । 

केन्द्रले कक्षा ६ देखि १० सम्मको कूल एक करोड ५० लाख पाठ्यपुस्तक छाप्नुपर्नेछ । त्यसमध्ये हालसम्म ७९ लाख थान पुस्तक छपाइ भइसकेको छ । बाँकी रहेको पुस्तक आगामी चैत १५ भित्रै छापिइसकिने छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्तरीय टोली, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव र सञ्चारकर्मीलगायतको टोलीले केन्द्रको छपाइको अवस्था, पाठ्यपुस्तकको गुणस्तरलगायतका विषयमा सूक्ष्म अध्ययन गरेको थियो । 

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले यस पटक विद्यार्थीले पाठ्यपुस्तक पाएनन् भन्ने गुनासो सुन्नु नपर्ने गरी काम भइरहेको जानकारी दिए ।

उनले  दैनिक दुई सिफ्टमा काम भइरहेको र आवश्यक कामदारदेखि सबै प्रक्रिया मिलाइएको बताए ।“हरेक वर्ष विद्यार्थीले पुस्तक पाएनन् भनेर चौतर्फी गुनासो आउने गरेको थियो । यस पटक त्यो गुनासो नआउने गरी काम गरिरहेका छौँ ।

एक महिनाका लागि पुग्ने कागज मौज्दात छ । थप कागज आउने क्रममा छ । हामी युद्धस्तरमा काममा लागिपरेका छौँ”, उनले भने, “प्रधानमन्त्रीको निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्ने गरी काम भइरहेको छ ।”

कक्षा एकदेखि ५ सम्मको पाठ्यपुस्तक छपाइका लागि निजी क्षेत्रलाई जिम्मा दिइएको छ । त्यसका लागि १३ वटा प्रेस तथा छापाखानाको छनोट गरिएको छ । निजी क्षेत्रका छापाखानाले पनि यही फागुनको दोस्रो सातादेखि पुस्तक छाप्ने काम शुरु गर्नेछन् । निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिइएको भन्दै यसबीचमा आलोचना पनि भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्तरीय टोलीले हरेक दिन छापिएको पुस्तकको विवरण, वितरण केन्द्रमा पठाइएको विवरण तथा छाप्न बाँकी सबै विवरण हरेक दिन उपलब्ध गराउन केन्द्रका प्रबन्ध निर्देशक झालाई निर्देशन दिएको छ । एक जना विद्यार्थीले पनि आगामी शैक्षिक शत्रको सुरुआतमा पुस्तक पाइएन भनेर गुनासो गरेको खण्डमा केन्द्रका सम्बद्ध अधिकारीमाथि कारवाही हुने चेतावनीसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् । प्रधानमन्त्री दाहालले यसपटक पाठ्यपुस्तकको समस्या समयमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै उनले सरकारका सबै सचिवलाई एकमुष्ठरूपमा जनताको दैनिक जीवसँग जोडिएका समस्या समाधान गर्न निर्देशन दिएका थिए । केन्द्रले हरेक दिन एक लाख ६० हजार पुस्तक बाइन्डिङ गर्ने गरेको छ ।

त्यसलाई बढाएर दुई लाख बढी पु¥याउने लक्ष्य राखिएको छ । अन्य कक्षाका पुस्तक छापिने क्रममा रहे पनि कक्षा ८ को भने यस पटक पाठ्यपुस्तक परिवर्तन भएका कारण छपाइमा समस्या हुने हो कि भन्ने आशङ्का देखिएको छ ।

त्यस सम्बन्धमा पनि उच्चस्तरीय टोलीले चासो राखेको थियो । केन्द्रका प्रबन्ध निर्देशक झाले कुनै पनि गुनासो नआउने गरी छपाइ सम्पन्न गरी पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले प्रधानमन्त्रीले नै मन्त्रालयसमेत सम्हालेकाले उनको बढ्ता चासो रहेकाले कुनै पनि बहानामा पुस्तक छपाइमा तलमाथि गर्न नपाइने स्पष्ट निर्देशन दिए ।

उनले भने, “यसपटक कुनै पनि बहानाबाजी गर्न पाइने छैन । पुस्तक जस्तो सामान्य विषयमा पनि सधैँ समस्या देखिनु हुँदैन ।  कुनै पनि बहाना गरेर छुट पाइँदैन । छुट दिइँदैन ।”हरेक वर्ष पुस्तकको विषय राष्ट्रिय महत्त्वको बन्ने गरेको छ । संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतले चासो राख्दै पुस्तक छपाइ र वितरणमा समस्या देखिएको बताउने गरेका थिए । यसपटक कुनै पनि निकायले प्रश्न उठाउन नसक्ने गरी काम भइरहेको केन्द्रले जनाएको छ । यद्यपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने पुस्तकको गुणस्तरमा समस्या रहेको, छपाइमा पनि समस्या देखिएकाले ती समस्या समाधान गर्न केन्द्रको ध्यानाकर्षण गराएको छ । सचिव सुवेदीले भने, “प्रधानमन्त्री दाहालको यस विषयमा असाध्यै ठूलो चासो छ । हरेक दिनको विवरण उपलब्ध गराउनुहोला ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै