• २०८१ बैशाख ७ शुक्रबार

रुस्लान डिपिएलको फाइनल आज, कसले जित्ला उपाधि ?

kharibot

काठमाडौँ । रुस्लान डिपिएलको दोस्रो सिजनको फाइनल खेल आज हुदै छ । चैत्र १७ गतेदेखि सुरु भएको डिपिएलको दोस्रो सिजनको फाइनलमा गत बर्षको विजेता धनगढी टिम चौराहा र काठमाडौँ गोल्डेन्स पुगेका छन् ।

दुवै टिमले आज उपाधिका लागि साढे १२ बजे देखि प्रतिष्पर्धा गर्दै छन् ।

तुलनात्मक रुपमा यस सिजनमा काठमाडौँ गोल्डेन्सको खेल बढी ब्यालेन्स देखिए पनि धनगढीले पहिलो क्वालिफायरमा काठमाडौँलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको हुनाले उपाधिका लागि धनगढी पनि उत्तिकै बलियो रहेको छ ।

हेड टु हेड :

दुवै टिमले अहिलेसम्म कुल ४ खेल एक अर्काविरुद्ध खेलेका छन् जसमा धनगढीले तीन पटक काठमाडौँलाई पराजित गरेको छ भने काठमाडौँले धनगढीविरुद्ध एक जित निकालेको छ । यस सिजनमा यी दुई टिम बीच भएका दुई खेलमा लिग चरणको खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको थियो भने पहिलो क्वालिफायर खेलमा धनगढी विजयी भएको थियो ।

प्रमुख खेलाडी :

यस फाइनलमा काठमाडौँ गोल्डेन्सका लागि कप्तान ज्ञानेन्द्र मल्ल प्रमुख खेलाडीको रुपमा रहेका छन् भने काठमाडौँबाट खेल्ने सन्नी पटेलको अलराउन्ड भूमिकाले काठमाडौँलाई थप बलियो बनाएको छ ।

कप्तान मल्लले यस सिजनको डिपिएलमा सबै भन्दा धेरै रन बनाएका छन् । उनले ७ खेल खेल्दै २१८ रन बनाएका छन्, जसमा दुई अर्धसतक सामेल छन् । काठमाडौँबाट अमित श्रेष्ठले पनि यस सिजनमा राम्रो योगदान दिएका छन् । अमितले ७ खेलमा १८४ रन बनाउदै धेरै रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा रहेका छन् । त्यस्तै भारतीय खेलाडी सुबोथ भाटीले दोस्रो क्वालिफायरमा गरेको तुफानी ब्याटिंग, जसमा उनले १७ बलमा अर्धसतक हानेका थिए । भाटीको योगदान पनि काठमाडौँका लागि महत्वपूर्ण हुन् सक्छ ।

सन्नी पटेलले विहिबार भएको दोस्रो क्वालिफायरमा डिपिएलकै उत्कृष्ट बलिंग गर्दै ४ ओभरमा १० रन दिएर ६ विकेट लिएका थिए । पटेलले प्रतियोगितामा अहिलेसम्म सबैभन्दा धेरै १२ विकेट लिएका छन् । त्यसैले सन्नी पटेलको भुमिकाले काठमाडौँलाई उपाधि जिताउन ठुलो मद्धत गर्नसक्छ ।

त्यस्तै यस डिपिएल सिजनका नयाँ खोज बनेर अगाडी आएका खेलाडी हुन् रसैद खान । काठमाडौँका लागि रसैदले ७ खेलमा ११ विकेट लिएका छन् । 

त्यस्तै धनगढीको यस सिजनमा कुनै व्यक्तिगत भन्दा पुरा टिमको प्रदर्शनले फाइनलसम्म आएको देखिन्छ । जसमा सुनिल धमला, रोहण मुस्तफा, कप्तान सोमपाल कामी, ललित भण्डारी जस्ता खेलाडीको प्रदर्शन महत्वपूर्ण देखिएको छ । धमलाले धनगढीका तर्फबाट सर्वाधिक रन बनाएका छन् । उनले १५१ रन बनाएका छन् भने रोहन मुस्तफाले १३८ रन बनाएका छन् ।

त्यस्तै धनगढीका तर्फबाट ललित भण्डारीले राम्रो बलिंग गर्दै ६ खेलमा ११ विकेट लिएका छन् । त्यस्तै रोहन मुस्तफाले पनि अलराउन्ड प्रदर्शन गर्दै प्रतियोगितामा ७ विकेट लिएका छन् । बलिंगमा सुनिल धमला, सम्सद सेखले पनि राम्रो योगदान गरेका छन् । धनगढीका कप्तान सोमपाल कामीको अलराउन्ड प्रदर्शन पनि धनगढीका लागि फाइदाजनक हुने देखिन्छ ।

निष्कर्ष :

समग्रमा नेपाल क्रिकेट संघ नभएको अवस्थामा डिपिएल जस्ता प्रतियोगिताले नेपाली क्रिकेट खेलाडी र क्रिकेटप्रेमीलाई थोरै भएपनि क्रिकेट गतिविधिमा सामेल हुने अवसर जुटेको छ । डिपिएलको उपाधि जित्नेमा दुवै टिमको उत्तिकै सम्भावना भएपनि खेलाडीको प्रदर्शन र पुरा प्रतियोगितामा टिमको खेल्ने तरिकालाई हेर्दा काठमाडौँको सम्भावना अलिकति बढी होकी जस्तो देखिन्छ । तर क्रिकेट अनिश्चितताको खेल भएकाले खेलिने दिनको अवस्था र सोहि दिनको खेलाडीको प्रदर्शनले नै खेल जितिने हुदा दुवै टिम डिपिएल उपाधिका लागि उत्तिकै दाबेदार देखिन्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै