• २०८१ बैशाख ८ शनिबार

व्यापक हिमपात र आँधीले अमेरिकामा जनजीवन अस्तव्यस्त

kharibot

काठमाडौं । शिशिर यामको उत्तराद्र्धमा परेको हिउँ र शक्तिशाली आँधीका कारण एरिजोनादेखि वायोमिङसम्मको जनजीवन अस्तव्यस्त भएको छ । उडानहरू रद्द भएका छन्भने राजमार्गहरू बन्द भएका छन् । विद्युत्विहीन आवासहरूमा प्रकाश र न्यानो नहुँदा सयौँ हजार अमेरिकीको जीवन कष्टकर बनेको छ ।

प्रतिकूल मौसमका कारण राजमार्ग बन्द हुँदा गाडीमा नै मानिस फसेका छन् । सडकमा बाक्लो हिउँ जमेकाले सवारी साधन सञ्चालन नगर्न अधिकारीहरूले चेतावनी दिएका छन् । दशकौँपछि दक्षिणी क्यालिफोर्नियाको अवस्था अझ खराब भएको छ । परिस्थिति सामान्य हुन अझै केही दिन लाग्ने उनीहरूले बताएका छन् । 

लगातारको हिमपात र आँधीका कारण विद्यालय, कार्यालयमात्र होइन सदन पनि बन्द भएका छन् ।  आज मिनेसोटा विधायिका पनि बन्द रह्यो । यात्रामा निस्केकाहरू उडान नहुँदा विमानस्थलमा अलपत्र परेका छन् । मौसम अनुकूल नहुँदा एक हजार छ सयभन्दा बढी उडान रद्द  भएका छन् । 

मिनियापोलिस–सेन्टबाट आउने र जाने चार सय उडानमा विलम्ब वा पुनर्तालिका गर्नुपरेको छ भने देशभरि पाँच हजारभन्दा बढी उडानमा ढिलाइ भएको छ । डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आज दुई घण्टाभन्दा बढी समय उडानमा विलम्ब भएको थियो । 

वायोमिङमा उद्धारकर्ताहरू सवारीसाधनमा फसेका मानिससम्म पुग्न अथक प्रयास गरिरहेका छन् तर शक्तिशाली आँधी र अविरल हिमपातले उद्धार गर्न नसकिएको राजमार्ग गस्तीमा खटिएका सुरक्षा अधिकारीले बताएका छन् । वायोमिङको यातायात विभागले सामाजिक सञ्जालमा चेतावनीका सन्देश जारी गर्दै राज्यको दक्षिणी भागका अधिकांश सडक अगम्य भएकाले यात्रामा ननिस्कन सुझाएको छ । 

शक्तिशाली आँधीले क्यालिफोर्नियामा सबैभन्दा ठूलो क्षति भएको छ । जताजतै रूख ढलेका छन् भने विद्युत् आपूर्तिका लाइनमा पनि क्षति भएको छ । राज्यका ६५हजारभन्दा बढी ग्राहक बिजुलीविहीन भएका छन् । 

सन् १९८९ पछि पहिलोपटक लस एन्जलस, भेन्चुरा र शान्ताबरबरा काउन्टीका पहाडठमा बिहीबार बिहान चार बजेदेखि हिमपातको चेतावनी जारी गरिएको छ । यो सप्ताहान्तमा व्यापक  हिमपात हुने मौसमविद्ले बताएका छन् । 

मध्य एरिजोनादेखि न्युमेक्सिकोसम्मको अवस्था पनि उस्तै छ । मिनेसोटा र विस्कान्सिनमा हिमपातसँगै वर्षा हुने राष्ट्रिय मौसम विज्ञान विभागले जनाएको छ । हिमपात र आँधीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुने चेतावनी पनि सम्बद्ध निकायका अधिकारीले दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै