• २०८१ बैशाख ६ बिहीबार

एमाले-माओवादी एकताको अन्योलता बढ्दै, के ले रोक्दै छ एकता ?

kharibot

काठमाडौँ । एमाले-माओवादी केन्द्रबीच आगामी बैशाख ९ गते गर्ने भनिएको पार्टी एकता अन्योलमा रहेको छ । नेताहरुको विरोधाभास पूर्ण अभिव्यक्तिले एकता हुने नहुने अन्योल भएको हो । माओवादी केन्द्रका नेताहरु एकताको मिति नजिकिदै गर्दा बार्गेनिङ गरिरहेको जस्तो देखिएको छ भने एमाले नेताहरु पनि माओवादीको पछिल्लो अभिव्यक्तिले सशंकित भएको जस्तो देखिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण अघि चैत्र २२ गते बसेको एकता संयोजन समितिको बैठकले बैशाख ९ गते पार्टी एकता गर्ने घोषणा गर्यो । तर दुई दलबीच भएका विवादका विषयमा भने सो बैठकले कुनै छलफल नै गरेन । सतही रुपमा विवादका विषयहरु केन्द्रीय कमिटिमा समान प्रतिनिधित्व, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द र चुनाव चिन्हलाई विवादको विषय बताइएको छ । तर एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको काम गर्ने शैली र व्यक्तित्व हेर्दा यी बाहिर प्रचारका लागि ल्याइएका विवादित विषय हुन् भन्ने कुरा प्रष्ट हुन्छ ।

एमाले-माओवादी एकतामा विवाद देखिएका मुख्य तीन विषय यी हुन् :

१. ५०-५० प्रतिशतको भागबन्डामा एकता :

कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगो लगाएपनि त्यसमा कुन दलको कति भागबन्डा हुने भन्ने बारे स्पष्ट भएको छैन । माओवादीले निर्वाचनको बेला गरिएको ६०-४० को भागबन्डा आफुहरुले नमान्ने र ५०-५० प्रतिशतको भागबन्डा हुनुपर्ने बताउदै आएको छ । अध्यक्ष प्रचण्डले नै कुनै दल अर्को दलमा विलय भएजस्तो गरि एकता नहुने स्पष्ट पर्दै आएका छन् ।

एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिट अनुसार नै एकता हुनुपर्ने पक्षमा छ बहने माओवादी केन्द्र बराबर भागबण्डाको पक्षमा देखिएको छ ।

२. ‘जनयुद्ध’ शब्द :

विधान मस्यौदाको सुरुकै प्रस्तावनामा  ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषय अझै विवाद रहेको छ । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’शब्द नै राख्नुपर्ने अडानमा छ । कार्यदलले यो विषय टुंगाउन नसकेपछि दुवै अध्यक्षले यो विषय टुंगाउने गरी प्रतिवेदन बनाएको बताइएको छ ।

३. चुनाव चिन्ह :

एमाले आफ्नो चुनाव चिन्ह सुर्य नै एकीकरण पछिको चुनाव चिन्ह हुनुपर्ने बताउदै आएको छ तर माओवादी केन्द्रले भने सूर्यभित्र हँसिया–हथौडा भएको चुनाव चिन्ह राख्नु पर्ने अडानमा रहेको छ ।

एकता संयोजन समितिको बैठक बस्न सकेन :

प्रधानमन्त्री ओलीको भारत भ्रमण पछि एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । शायद आज भोलीमा बैठक बस्न सक्ने अनुमान मात्र गर्न सकिन्छ । किनकी आधिकारिक रुपमा दुवै दलले यसबारेमा जानकारी दिएका छैनन् । प्रधानमन्त्री ओली भारतबाट फर्किएको पनि एक साता भइसक्दा दुई दलको एकता संयोजन समितिको बैठक बस्न सकेको छैन । यसअघि चैत्र २८ गते एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि प्रचण्ड अस्वस्थ भएको कारणले स्थागित भएको बताइयो । तर प्रचण्ड चितवन पुगेर कार्यक्रममा भाषण गरिरहेको समाचार पनि तुरुन्तै आयो ।

असमझदारी बढ्दै :

अब मुस्किलले एक साता मात्र बाँकि हुँदा एकताको प्रारूपलाई अन्तिम रुप दिन दुवै दलले आनाकानी गरिरहेको जस्तो देखिएको छ । प्रधानमन्त्री ओलीको कार्यशैली माथि प्रश्न उठाउदै माओवादी भित्र अहिले नै एकता गरिहाल्न नहुने र गरेपनि आफ्नो हैसियत राम्रो बनाएर मात्र गर्ने माहोल विकसित भैरहेको छ । सरकारका सचिवको सरुवा गर्दा माओवादी मन्त्रीहरुसँग सल्लाह नगरिएको भन्दै माओवादी मन्त्रीहरु सशंकित बनेका थिए ।

एमालेको काम गर्ने शैलीलाई लिएर सशंकित बनेको माओवादी एकता गरिहाले पनि भोली अप्ठ्यारो पर्दा पार्टी फुटाउनु परेपनि सजिलै फुटाउन सक्ने हैसियत बनाएर मात्र एकता गर्ने रणनितिमा देखिएको छ । त्यसैलेपनि माओवादीले केन्द्रीय समितिमा ५०-५० प्रतिशतको कुरा जोडदार रुपमा उठाउदै आएको छ ।

खासगरी प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि बदलिएको बडिल्यांगवेजले पनि माओवादी केन्द्र खासगरी प्रचण्ड अलिकति हच्किएको माओवादी इतरमा चर्चा चलेको छ । दुई दलको एकतामा भारतले कस्तो भूमिका खेल्यो या खेल्दै छ प्रष्ट नभए पनि भारत नेपालको राजनीति आफ्नो नियन्त्रणमा राख्न जहिले पनि एउटा अस्त्र आफूसँग राख्न खोज्छ जो अहिलेको अवस्थामा प्रचण्ड हुन सक्छन् । 

अर्को कुरा विचार र पार्टीको सिद्धान्त उस्तै उस्तै भएपनि एमाले र माओवादी केन्दको काम गर्ने शैली भने निकै फरक रहेको छ । एमालेको सङ्गठनात्मक मजबुतीका अगाडी मओवादीको व्यक्ति केन्द्रित राजनीति फिका देखिन्छ । भोली एकता भइहाले पनि एमालेको सङ्गठनात्मक ढांचामा ढालिन माओवादीका नेता र कार्यकर्तालाई गार्हो हुने नै देखिन्छ । यसको केहि भनक प्रधानमन्त्री ओलीले छोटो समयमा माओवादी केन्द्रलाई देखाई पनि सकेका छन् ।

यति हुदा हुदै पनि अहिले एकता भइहाल्ने एउटै आधार सत्ता हो । अहिले ओलीले नेतृत्व गरेको सत्ताको साचो प्रचण्डले पाउने बलियो आधार बने मात्र बाँकी कुरालाई मिलाउदै गरौला भनेर एकता प्रक्रिया अगाडी बढ्न सक्छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै