• २०८१ बैशाख ७ शुक्रबार

नयाँ पुस्ताकी ‘बिजनेस वुमन’ : आभानी सिंह

kharibot

आभानी सिंह नेपालकै एक चर्चित ‘बिजनेस वुमन’ हुन् । सानै उमेरदेखि नयाँ—नयाँ कुरा गर्न रुचाउने आभानीलाई नयाँ लुगा तथा सामानहरु देख्नेबित्तिकै कहाँबाट र कसरी आयो भन्नेजस्ता कौतूहलताले सताइहाल्थ्यो । काठमाडौं लाजिम्पाटमा जन्मेकी उनले अध्ययन भने अष्ट्रियामा पूरा गरिन् । सानैदेखि आफूमा देखिएको जान्ने चाहनाले आभानीलाई यहाँसम्म आइपुगेजस्तो लाग्छ ।

केटी पनि केटाभन्दा केहीका कम हुँदैनन् भन्ने सोच राख्ने उनी सानैदेखि हिम्मतीली थिइन् । बाबु डाक्टर तथा आमा हुलाकमा सरकारी जागिरे रहेका कारण उनका बाबुआमा आभानीलाई बाहिर नजा भन्ने गर्थे तर हुने कुरा भएरै छाड्छ भनेझैँ परिवारको असहमतिका बाबजुद आफ्नो सानैदेखिको चाहना पूरा गर्न उनी भने लागिन् अष्ट्रियातिर ।

उनीभित्र पहिलेदेखि नै नेपालमै केही गर्नुपर्छ है भन्ने कुरा गढेर बसेको थियो । सोही कारण आठ वर्षसम्म अष्ट्रियामा बसी युएनको जागिर छोडेर उनी नेपाल फर्केकी हुन् । परोपकारी स्वभावकी आभानी भन्छिन्, ‘मसँग टन्न पैसा त छ तर आफ्नै देशका जनतालाई पनि सेवा गर्न सकिन भने मेरो कमाइ कमाइ नै हैन ।’

पैसा कमाएर अरुको सेवा

हरेक मान्छेभित्र कुनै एउटा उत्कट इच्छा हुन्छ, जुन पूरा गर्न उसले जीवनमा हदैसम्मको मिहिनेत गर्छ । आभानीमा पनि सानैदेखि आफैँ पैसा कमाउँछु अनि अरुको सेवा गर्छु भन्ने सोच थियो । यही सोचका कारण उनलाई अरुको दुःखले पिरोलिरह्यो । उनी भन्छिन्, ‘अरुको पीडा पनि आफ्नै पीडा हो जस्तो लाग्छ ।’

उनलाई महिलाहरु एक्लै बाँच्न सक्छन्, आफ्नो लागि आफैँ गर्न सक्छन् भन्ने अटल विश्वास छ । खासगरी नेपालजस्तो पितृसत्तात्मक देशमा महिलाहरु पुरुषप्रति आश्रित भए पनि आभानी भने त्यसको ठीक विपरीत छिन् । उनलाई महिलाहरु कुनै पनि मानेमा पुरुषभन्दा कम नभएको दाबी गर्छिन् ।’ अझ पुरुषमा भन्दा महिलामा केही गर्ने क्षमता धेरै हुने उनको विश्वास छ । हौसला, प्रेरणा र अवसर दिने मान्छेको कमी भएकै कारण महिलाहरु समाजमा पिछडिएर पुरुषप्रति आश्रित हुनुपरेको उनी बताउँछिन् ।

त्यसो त लामो समयको युरोप बसाइले उनलाई अझ सशक्त बनाएको छ । ‘नेपाली समाजमा महिलाहरुलाई पुरुषको तुलनामा धेरै बाउन्ड्री(अवरोध)हरु छन्’, उनी भन्छिन्, “कतीपय अवस्थामा बाउन्ड्रीकै कारण नेपालीहरु पछाडि परेका छन् ।” तर आफ्नो इच्छाशक्ति बलियो भयो भने कसैले रोक्न नसक्ने उनी बताउँछिन् । आखिर लामो समय युरोप बसेकी आभानीलाई के कारणले नेपाल ल्यायो त ? यसका उत्तरस्वरुप आभानी भन्छिन्, ‘मलाई नेपाल छोडेर बस्नै मन लागेन । जति जे जस्तो भए पनि नेपालको माया मेरो नेपाली मनमा छ ।’

‘बिजनेस वुमन’मै सन्तुष्टि

नेपालमा व्यवसाय गर्न पाउँदा सन्तुष्टि मिलेको उनी बताउँछिन् । दिलदार ‘बिजनेस वुमन’ आभानीलाई केही नसके पनि दुःखीलाई एक छाक खान दिनसके त्यसमै सन्तुष्टि मिल्छ रे ! नेपाली महिलाका लागि प्रेरणा र उदाहरण बनेकी उनी महिलाहरु आफ्ना कुरा खुलेर राख्न नसक्दा र उचित शिक्षाको अभावका कारण पछि परेको कुरामा विश्वास गर्छिन् ।

सधैँ अरुको खुसीमा रमाउन चाहने आभानी सिंहलाई कसैको दुःखमा सहयात्री बन्दा औधी खुसी लाग्छ । भन्छिन्, ‘मलाई मन नपर्ने मान्छे सहयोग माग्न आयो भने पनि मैले सकेको सहयोग गर्छु ।’ जब सडकमा बसेका दुःखीहरुलाई मानिसहरु देखे नदेखेझैँ गर्छन् र मन्दिरमा गएर चाहिँ लाखौँ चढाउँछन्, उनीहरुले कहिल्यै पुण्य कमाउन नसक्ने उनको आफ्नै बुझाइ छ । उनी ‘प्राक्टिकल’ कुरामा विश्वास गर्ने भएर पनि हुनसक्छ, जीवनोपयोगी व्यवहारबाटै पुण्य आर्जन गर्न सकिने विचार राख्छिन् । मन्दिरमा चढाउने थोरै पैसा मात्र गरिब दुःखीलाई दिनसके कम्तीमा उनीहरुको एक छाक मात्र भए पनि टर्ने उनको भनाइ छ ।

सिटी सेन्टर कमलपोखरीमा ग्राउन्ड फ्लोरमा बुटिक, तेस्रो फ्लोरमा ‘आभानी एपिरियल्स’को नामबाट बिजनेस गर्दै आएकी आभानी सबैका लागि बिजनेस गर्छिन् ।

रुचि

दुःखी गरिबहरुको घाउमा मल्हमपट्टी गर्नु उनको रुचि हो । कैयौँ पटक अरुको दुःखको साथी बन्दा आभानीले आफूले चाहिँ खाना खान नै बिर्सेकी छिन् । व्यक्तिगत रुपमा कुनै दुःखीलाई सहयोग गर्दा आनन्द आउने गरेको बताउने आभानीलाई अब भने फाउन्डेसन नै खोलेर दुःखी गरिबको सेवा गर्ने धोको छ ।

कमलो मन, दह्रो मुटु

मन एकदमै कमलो भएकी आभानीको मुटु भने निकै दह्रो छ । त्यही भएर त उनी दुःखीको सहजै साथी बन्छिन् अनि दुःख हटाउने आँट पनि गर्छिन् । अरुको दुःखमा सहयोग गर्न रुचाउने उनको स्वभाव यति अचम्मको छ कि यदि आफ्नै शत्रु नै सहयोग माग्न आए पनि सहयोग गर्न हिच्किचाउँदिनन् । महिलावादी फिल्म हेर्न र पुस्तक पढ्न रुचाउने उनलाई त्यसले जीवनमा सकारात्मक प्रभाव पारेको छ । त्यसो त परोपकारी हृदय भएकी उनी धार्मिक पुस्तक पनि उत्तिकै पढ्छिन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै