• २०८१ बैशाख ७ शुक्रबार

साजनको हत्या प्रकरण : हत्यामा संलग्न थप दुई जना पक्राउ

kharibot

सुरुङ्गा, झापा ।  बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बिर्तामोड–५ निवासी २१ वर्षीय मामा भान्जा भनिने सुरज चौधरी र बिर्तामोड–३ का २२ वर्षीय राहुल भनिने राजेश साह रहेका छन् । 

उनीहरुलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापामा सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

यसअघि सुन व्यवसायी मुखियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बिर्तामोड–३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड–८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड–३ कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीलाई पक्राउ गरेको थियो । 

मुखियालाई व्यावसायिक रिसइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए  । 

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिकै रहेको देवा ज्वेलर्सका सञ्चालक साजन फागुन २० गतेदेखि एकाएक बेपत्ता थिए । मेची राजमार्गअन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाँडाको सडकबाट करीब २० फिट तल जुटको बोराभित्र बेपत्ता बनेको नौ दिनपछि साजनको शव भेटिएको थियो । 

यसअघि पक्राउ परेका तीनजनालाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै