• २०८१ बैशाख ५ बुधबार

'फाइभजी इन्टरनेट'मा अमेरिकालाई पछि पार्दै चीन

kharibot

तस्बिर : TechDaring

प्रविधि । एक नयाँ अध्ययनले अर्को पुस्ताको इन्टरनेट फाइभजी प्रविधिमा चीनकै वर्चस्व रहनसक्ने देखाएको छ । अमेरिकाको ताररहित उद्योगको व्यापारिक साझेदार सीटीआईएले सोमबार प्रकाशन गरेको प्रतिवेदनअनुसार फाइभजी इन्टरनेट ल्याउने तयारीमा चीनले अमेरिकालाई उछिन्ने देखाएको हो । 

विश्वभर तीव्र गतिको इन्टरनेटको माग बढिरहेका बेला फाइभजी इन्टरनेटले ठूलो बजार लिने विश्वास गरिएको छ । टेलिकम रिसर्च फर्महरुले गरेको उक्त अध्ययनअनुसार चीन पहिलो नम्बरमा यस्तो प्रविधि भित्र्याउन नजिक पुगेको छ भने उसलाई दक्षिण कोरियाले पछ्याइरहेको छ ।

अमेरिका यो सूचीमा तेस्रो नम्बरमा देखिएको छ । विश्वभर मोबाइल प्रयोग ह्वात्तै बढेको, स्वचालित कारहरुको आविष्कार, भर्चुअल रियालिटी तथा स्मार्ट सिटीको अवधारणा विकास भइरहेको सन्दर्भमा उच्च प्रविधियुक्त र प्रभावकारी इन्टरनेटको खपत बढ्ने निश्चित छ । यस्तोमा जुन देशले पहिला फाइभजी इन्टरनेट ल्याउन सफल हुन्छ, त्यो देशले आर्थिक रुपमा व्यापक बजार पाउनेछ । 

सीएनएनका अनुसार अमेरिकी वायरलेस इन्डस्ट्री (ताररहित सेवाप्रदायक)ले करिब २ सय ७५ बिलियन अमेरिकी डलर फाइभजी नेटवर्कका लागि खर्च गर्दै छ, त्यसले करिब तीन मिलियन नयाँ रोजगारी सिर्जना गर्नेछ भने देशको कुल गार्हस्थ्य उत्पादनमा ५०० बिलियन डलर थप गर्ने सीतीआईएकै २०१७ एक्सेन्च्युर स्टडीले उल्लेख गरेको छ ।  

तर कम्पनीहरुले यसका लागि धेरै लगानी गर्नुपर्ने बताइएको छ । उक्त अध्ययनअनुसार चीनले सन् २०२० सम्ममा ठूलो मात्रामा व्यावसायिक क्षेत्रमा फाइभजी भित्र्याइसक्ने देखिएको छ । 

यता अमेरिकी कम्पनीहरु भेरिजोन (भीजेट) र एटी (टी) फाइभजीका लागि लागिरहेका छन् । उनीहरुले केही छनोट गरिएका बजारमा सन् २०१८ को अन्त्य हुनुअघि नै फाइभजी सञ्चालन गर्ने विश्वास गरिएको छ । 

तर यसका लागि चुनौतीहरु पनि उत्तिकै रहेको बताइएको छ । यसका लागि थुप्रै रेडियो फ्रिक्वेन्सीहरुको आवश्यकता पर्नेछ । उता चीन र कोरियाले भने यस कुरामा निकै अघि बढिसकेका छन् । अमेरिकामा भने संसदले पनि थुप्रै आवश्यक कानुन निर्माण गर्नुपर्ने देखिएको जनाइएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै