सडक बन्द नगरी बसन्तपुर पुगे राष्ट्रपति पौडेल, पहिलो पटक कुमारीको दर्शन
खरीबोट
२०७९ चैत ४ शनिबार
काठमाडौं । सडक बन्द नगरी राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको वसन्तपुर पुगेर कुमारीको दर्शन गरेका छन् ।
शनिबार राष्ट्रपति पौडेलले अपराह्न पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली नगराई बसन्तपुर पुगेका हुन् । यससँगै राष्ट्रपति पौडेलले सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन् ।
पौडेलको सवारीको क्रममा नत सर्वसाधारणलाइ कुनै किसिमको रोकावट भयो नत सुरक्षाकर्मीहरुले नै कुनै अवरोध गरे ।
राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् ।
राष्ट्रपति पौडेलले निर्वाचनकै क्रममा आफुले सडक जाम गरेर सवारी नगर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि सुरक्षाका कारण देखाउदै राष्ट्रपतिको सवारीको बेला सडकमा सर्वसाधारणलाई घन्टौं रोक्दा व्यापक असन्तुष्टि व्यक्त हुने गरेको थियो ।