• २०८१ बैशाख १३ बिहीबार

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

kharibot

गलेश्वर । म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी खुसी छन् । विगत पाँच वर्षदेखि मधुरो देख्ने तर कुनै व्यक्ति र वस्तुलाई चिन्न नसक्ने खड्का बेनीमा सम्पन्न तीन दिने निःशुल्क शिविरमा शल्यक्रिया गरेपछि स्पष्टसँग आँखा देख्नसक्ने भएका हुन् । 

जिल्लाको बेनी नगरपालिका–२ खबराका खड्काले शल्यक्रियापश्चात स्पष्ट आँखा देख्ने भएपछि चिकित्सकसँग गीत गाएर नाच्दै खुसी व्यक्त गरे । चिकित्सकले आँखाको शल्यक्रिया गरेपछि स्पष्टरूपमा आँखा देख्ने भएको खड्काले बताए । 
त्यसैगरी बेनी–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको थियो । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रियापछि आँखा देखेपछि खुसी हुँदै चिकित्सककै अघि नाचेर रमाइलो गरे ।

खड्का र विकजस्तै ८२ जना वृद्धवृद्धा आज शल्यक्रियापछि आँखाले संसार हेर्न पाउँदा दङ्ग परेका छन् । बेनी अस्पतालमा चैत ५ गतेदेखि सञ्चालन भएको शिविरमा ८२ जना मोतियाविन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घ म्याग्दीका सभापति अमरबहादुर बानियाँले बताए । “धेरै मोतियाविन्दु वृद्धवृद्धामा देखिएको छ, मोतियाविन्दु भेटिएका सबैको शल्यक्रिया गरिएको छ” उनले भने ।

नेत्रज्योति सङ्घ म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र माइकल बाउर एण्ड फ्रेण्ड, बाँडेन बाँडेन जर्मनीको आर्थिक सहयोगमा सम्पन्न शिविरबाट आठ सय ६९ जनाको आँखाको परीक्षण गरिएको नेपाल नेत्रज्योति सङ्घ म्याग्दीका अध्यक्ष बानियाँले जानकारी दिए । गाउँगाउँमा नेत्रज्योति सङ्घले आयोजना गरेको शिविरबाट भेटिएका मोतियाविन्दुको शल्यक्रिया पनि बेनीमा सञ्चालित शिविरमा गरिएको उनको भनाइ थियो । 

बेनी–५ की ७० वर्षीया पार्वती बानियाँले देख्न छाडेको तीन वर्ष भए पनि मोतियाविन्दुको शल्यक्रिया गरेका थिइनन्  । “पोखरा जाने समय र पैसा नहुँदा मोतियाविन्दुको शल्यक्रिया गर्न सकेकी थिइनँ,” उनले भनिन्, “बेनीमा मोतियाविन्दुको शिविर सञ्चालन भएपछि गुमेको ज्योति सस्तोमा शल्यक्रिया गरेर फकिएँ ।” 

यसअघि गत असोजमा १९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । जिल्लामै शिविर सञ्चालन हुँदा शल्यक्रिया गर्न पोखरा जाने झन्झट अन्त्य भएको सङ्घका सचिव राजेन्द्र श्रेष्ठले बताए । “एकजनाको आँखाको शल्यक्रिया गर्न २० हजार रूपैयाँ र तीन दिन लाग्छ । शिविरले आर्थिक अवस्था कमजोर भएकालाई राहत दिएको छ,” उनले भने । 

धुँवा, धुलो, आँखाको सरसफाइ र चेतनाको कमीले मोतियाविन्दु र जलविन्दु हुने भएकाले धुँवा, धुलोबाट आँखालाई बचाई सरसफाइमा ध्यान दिनुपर्ने शिविरमा सहभागी चिकित्सकको सुझाव छ ।

शिविरमा हिमालय आँखा अस्पताल पोखरबाट छ जनासहित आठ जनाको प्राविधिक टोलीले आँखा परीक्षण र मोतियाविन्दुको शल्यक्रिया गरेको थियो । नेत्रज्योति सङ्घले शिविर सम्पन्न गराउन सहयोग गर्ने प्राविधिक टोली र सहयोग दातालाई सम्मान गरेको छ । 

स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको नेत्र परीक्षण गरिएको अध्यक्ष बानियाँले जानकारी दिए । “गाउँमा पहिचान भएका मोतियाविन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ,” उनले भने ।

रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाविन्दुका बिरामी पहिचान गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले उपचार गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै