• २०८१ बैशाख ८ शनिबार

काँग्रेसबाट मन्त्री बन्ने दौडमा को को छन् ?

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए पछि सत्ता गठबन्धन अब सरकार विस्तारमा जुटेका छन् । सरकार विस्तारको छलफल चलिरहेका बेला मन्त्री बन्ने आकांक्षीको संख्या ठुलो हुदा दलहरु समस्यामा देखिएका छन् ।

सबैभन्दा ठुलो दल नेपाली काँग्रेसलाई मन्त्री छन् हम्मे हम्मे पर्ने देखिएको छ । भागबन्डामा कांग्रेसले अहिले ७ देखि ८ मन्त्रालय पाउने सम्भावना देखिएको छ । कांग्रेसले १० मन्त्रालय दाबी गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउने सम्भावना रहेकाले कांग्रेसको भाग घट्ने भएको हो ।

कम्तिमा ७ मन्त्रालय पाउदा पनि कांग्रेसमा अहिले मन्त्री पदमा धेरैले दाबी पेश गरिरहेका छन् । यसअघि मन्त्री भइसकेका र सिनियर नेताहरु नै अहिले मन्त्री बन्ने दौडमा लागेपछि काँग्रेसबाट नयाँ अनुहार मन्त्री बन्ने सम्भावना कम देखिएको छ ।   

कांग्रेसमा अहिले मन्त्री बन्ने आकांक्षा देखाइरहेका नेताहरुमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङदेखि प्रकाशमान सिंह र विमलेन्द्र निधीसम्मको नाम आइरहेको छ ।

तर प्रचण्डलाई एमालेबाट निकालेर कांग्रेसको पोल्टामा फर्काउन महत्वपूर्ण भूमिका खेलेका नेता पूर्णबहादुर खड्काको नेतृत्वमै कांग्रेस सरकारमा जाने सम्भावना अहिलेसम्मको घटनाक्रमअनुसार बढी देखिएको छ । त्यस्तै अर्का उपसभापति धनराज गुरुङको पनि खड्का नेतृत्वमा कांग्रेस सरकारमा गएमा मन्त्री बन्ने सम्भावना देखिएको छ ।

त्यस्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मन्त्री नबन्ने बताएकाले युवा नेताहरु मध्ये प्रदिप पौडेलले अवसर पाउन सक्ने देखिएको छ । पौडेल युवा तथा खेलकुदमन्त्री बन्न सक्ने कांग्रेस वृतमा चर्चा रहेको छ ।

त्यसैगरी कांग्रेसमा प्रत्यक्षबाट चुनाव जितेकी सिता गुरुङको नाम पनि मन्त्री बन्ने सूचीमा चर्चामा रहेको छ । कांग्रेसमा अनुभवी नेता अर्जुननरसिंह केसीले पनि अन्तिम पटक भन्दै मन्त्री बन्ने चाहना देखाएको चर्चा छ ।

त्यस्तै कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट किशोरसिंह राठोर पनि मन्त्री बन्ने दौडमा रहेका छन् भने डा. शेखर कोइराला पक्षका बद्रि पाण्डे र जीवन परियारको नाम पनि मन्त्री बन्नेमा चर्चामा रहेको छ । त्यस्तै सुदूरपश्चिमका कांग्रेस नेताहरु वीरबहादुर बलायर, एनपी साउदलगायतको नाम पनि मन्त्री बन्ने दौडमा सामेल रहेको छ ।

त्यस्तै गण्डकी प्रदेशबाट शंकर भण्डारी र राजेन्द्र बानियाँ तथा बागमतीबाट डा. प्रकाशशरण महतको चर्चा रहेको छ । डा. महत अर्थमन्त्री बन्ने चर्चा अहिले चलिरहेको छ ।

यी बाहेक रामहरि खतिवडा, डिगबहादुर लिम्बु, दिपक खड्का, सुरेन्द्र आचार्यलगायतको नाम मन्त्री बन्नेमा चर्चामा रहेको छ ।

त्यस्तै पुर्व महामन्त्री डा. शशांक कोइरालाले भने यसअघि सार्बजनिक रुपमै आफु कृषि मन्त्री हुने चाहना व्यक्त गरेपनि उनको नेतृत्वमा कांग्रेस सरकार सम्भावना नरहेकोले उनी मन्त्री बन्ने दौडबाट आफै बाहिरिएको बताइएको छ । 

कांग्रेसले योग्यता र योगदानलाई अधार बनाएर नयाँ मन्त्री छान्ने बताए पनि अहिले पार्टीमा देखिएको स्पष्ट दुई धार मध्ये देउवा पक्षबाट कम्तिमा ५ र कोइराला पक्षबाट २ मन्त्री बनाउने तयारीमा सभापति देउवा रहेको उनी निकट नेताहरुले खरीबोटसँगको कुराकानीमा बताएका छन् । यस पाँच बर्षमा यो बाहेक अर्को दुई पटक सरकारको नेतृत्व परिवर्तन गर्ने शिर्ष तहमा सहमति भएकाले अर्को पटक अवसर दिने गरि अहिले मन्त्री चयन बारे सभापति देउवाले छलफल गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै