• २०८१ बैशाख १४ शुक्रबार

फ्लप भए कपिल र रानीका फिल्म !

kharibot

काठमाडौँ । शाहरुख खानको फिल्म पठानले भारतीय बक्स अफिसलाई उत्साहित गरेपनि अन्य सुपरस्टारहरु फिल्म नचलेर समस्यामा परेका छन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको हास्य अभिनेता कपिल शर्माको फिल्म ज्विगाटो र अभिनेत्री रानी मुखर्जी अभिनीत फिल्म ‘मिसेज चटर्जी भर्सेस नर्वे’ दुवै भारतीय बक्स अफिसमा 'फ्लप' भएका छन् ।

फिल्म फेस्टिभल र सिमित दर्शकले रुचाएपनि कपिल शर्माको फिल्म ज्विगाटोलाई सिनेमा हलमा भने दर्शकले मन पराएनन । रिलिजको पहिलो सातामा फिल्मले केबल ३ करोडको आसपास कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् ।

त्यस्तै रानीको फिल्मले बुधबारसम्म करिब १० करोड कमाई गरेको छ । कपिलको ज्विगाटोको निर्माण लागत करिब १० करोड बताइएको छ भने रानीको 'मिसेज चटर्जी भर्सेस नर्वे’ को निर्माण लागत २५ करोड रहेको छ । फिल्म विश्लेषकको राम्रो समिक्षा रहे पनि दुवैले दर्शकलाई सिनेमा हलसम्म तान्न सकेनन र असफल फिल्मको श्रेणीमा दुवै फिल्म समावेश भएका छन् ।

हास्य कलाकार कपिलले ज्विगाटोमा गम्भीर भूमिका निभाएका छन् । यद्यपि, यो फिल्म टोरेन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र इन्टरनेशनल फिल्म फेस्टिभल अफ केरलमा प्रदर्शन भैसकेको छ । फिल्मलाई नन्दिता दासले निर्देशन गरेकी हुन् ।

त्यस्तै आशिमा छिब्बरद्वारा निर्देशित ‘मिसेज चटर्जी भर्सेस नर्वे’ मा रानी मुखर्जी एक आमाको भूमिकामा रहेकी छन् । नर्वेमा आफ्ना दुई सन्तान र श्रीमानसँग बसिरहेकी रानी अर्थात मिसेस चटर्जीबाट खराब आमा रहेको भन्दै सन्तानलाई खोसिन्छ । यसपछि आफ्नो सन्तान पाउन उनले गरेको लडाईं फिल्ममा देखाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै