• २०८१ बैशाख ८ शनिबार

सीमाक्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्यो

kharibot

बैतडी  । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ ।

केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

निर्देशनालयको तथ्याङ्कअनुसार  चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ ।

उनले भने, “भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्नेछ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।” 

भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रुपमा कोरोना परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ ।

नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले  सङ्क्रमणदर पनि वृद्धि भएको  जोशीले बताए । 

भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक  रहेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । उनले भने, “सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेका छौँ । यसले जोखिम कम गर्न सकिन्छ । ”साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीको भनाइ छ । 

सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठजनामा सङ्क्रमण भइसकेको छ ।

सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै