• २०८१ बैशाख ७ शुक्रबार

बुटवलस्थित जीतगढी किल्ला क्षेत्रका घरमा एकै रङ लगाइने

kharibot

बुटवल । नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढी किल्लामा बुटवल उपमहानगरपालिकाले आज विजयोत्सव दिवस मनाएको छ । 

नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेका अवसरमा उपमहानगरपालिकाले पहिलो पटक आजको दिनलाई ‘जीतगढी विजयोत्सव दिवस’का रुपमा मनाएको हो । 

विजयोत्सव समारोहलाई सम्बोधनका क्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले ऐतिहासिक जीतगढी किल्ला प्रदेशको मात्र नभई राष्ट्रकै शिर ठाडो बनाउने ऐतिहासिक महत्वको सम्पदा भएको बताउँदै उपमहानगरले शुरु गरेको अभियानमा प्रदेश सरकारको पूर्ण सहकार्य हुने प्रतिबद्धता जनाए । 

समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेशसभा सदस्य बलदेव शर्मा पोखरेल, भोजप्रसाद श्रेष्ठलगायतले हालसम्म उचित संरक्षण र प्रचारप्रसारका अभावमा ओझेलमा परेको जीतगढीको मुहार फेर्न आफूहरुको पनि सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे । 

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण जीतगढीको संरक्षण, सम्वद्र्धन र विकासका लागि रु ५० लाख बजेट छुट्टाएर काम थालिएको बताउँदै उक्त स्थानमा हालसम्मकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाइने जानकारी दिए । 

जीतगढी क्षेत्र रहेको बुटवल वडा नम्बर १ र २ का घरमा एउटै प्रकारको रङ लगाई बस्तीलाई पुरातात्विक क्षेत्रका रुपमा विकास गरिने तथा किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचना विस्तारै हटाइने बताइएको छ । 

अहिले वडा नम्बर १ को कार्यालय रहेको क्षेत्रमा जीतगढी युद्ध संग्रहालय बनाइने लक्ष्य रहेको नगर उपप्रमुख गोमादेवी आचार्यले बताइन् । जीतगढी किल्लामा कार्यक्रम हुनुअघि विभिन्न साँस्कृतिक प्रस्तुतिसहितको प्रभातफेरी निकालिएको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै