• २०८१ बैशाख १३ बिहीबार

च्याट जिपिटीमाथि इटालीले लगायो प्रतिबन्ध

kharibot

काठमाडौँ । द्रुत रूपमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग कोही खुसी छन् भने कोही डराएका छन् । 

यसैबीच इटालीले पछिल्लो च्याटबट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने पहिलो पश्चिमी देश बनेको छ । इटालीको डाटा-सुरक्षा प्राधिकरणले अमेरिकी स्टार्ट-अप ओपनएआईको मोडेलको बारेमा गोपनीयतामा चिन्ता गर्दै प्रतिबन्ध लगाएको छ । प्राधिकरणले ओपनएआईलाई तत्कालै देखि प्रतिबन्ध लगाउने र अनुसन्धान गर्ने बताएको छ । यसअघि एलन मस्कले पनि एआईको ‘थप विकास’ बारे चेतावनी दिएका थिए ।

नोभेम्बर २०२२ मा च्याट जिपिटी सुरु भएदेखि लाखौं मानिसहरूले प्रयोग गरेका छन् । यसले मानव भाषामा प्रश्नहरूको जवाफ दिन सक्छ । यसले २०२१ सम्मको इन्टरनेटमा उपलब्ध डाटाहरुलाई प्रयोग गरेर जवाफ दिने गर्दछ ।

धेरै अवस्थामा यो उपयोगी रहेको छ भने कतिपय अवस्थामा गलत जवाफ समेत दिने गरेको छ । च्याटजिपिटीको सुधारिएको भर्सन जिपिटी-४ अझ सटिक रहेको बताइएको छ । कतिपय गलत सूचना दिएको भन्दै अहिले एआईको सम्भावित जोखिमहरूको बारेमा चिन्ताहरू व्यक्त भैरहेका छन् । यसमा रोजगारीका लागि खतरा र गलत सूचनाको प्रसार जस्ता विषय समावेश छन् ।

इटालियन वाचडगले ओपनएआईको च्याटबोटलाई मात्र रोक्दैन तर यसले जनरल डाटा प्रोटेक्शन रेगुलेसन (जीडीपीआर) को पालना गर्छ कि गर्दैन भनेर पनि अनुसन्धान गर्ने बताएको छ । इटालीको डाटा-सुरक्षा प्राधिकरणले भनेको छ- 'हामीले तपाईंको व्यक्तिगत डेटा प्रयोग र भण्डारण गर्ने तरिकालाई नियमन गर्छौं । प्रयोगकर्ताहरूले व्यक्तिगत जानकारी समावेश भएको डाटा उल्लंघनको अनुभव गरेकाले अहिले प्रतिबन्ध लगाएका हौँ ।'

अर्कोतर्फ मस्क र धेरै टेक दिग्गजहरूले यस्तो एआई विकास केहि समयका लागि  रोक्न अपील गरेका छन् । उनीहरुले एक खुला पत्रमा तिनीहरू सुरक्षित छन् भनेर सुनिश्चित गर्न एआईको विकास केही समयका लागि रोक्न अपिल गरिएको थियो ।

यो पत्रमा मस्क र एप्पलका सह-संस्थापक स्टिभ वोज्नियाकले हस्ताक्षर गरेका थिए । यस पत्रको शीर्षक थियो 'पज जायन्ट एआई प्रयोगहरू' ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै