• २०८१ बैशाख ७ शुक्रबार

आइपिएलमा डेभ्युको पर्खाइमा सन्दीप, यस्तो छ आजको सम्भावना 

kharibot

काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामिछाने आइपिएलमा डेभ्युको पर्खाइमा रहेका छन् । 

दिल्ली डेयरडेभिल्सले यस सिजनमा आज पहिलो पटक आफ्नो घरेलु मैदान कोटलामा खेल्दै छ । दिल्लीको यस सिजनको सुरुवात राम्रो हुन् सकेको छैन । अहिलेसम्म खेलेका ५ खेलमा ४ खेलमा हार बेहोर्दै केबल एक खेलमा जित हासिल गर्दै अंकतालिकामा पुछारमा रहेको छ ।

आज किंग्स इलेभेन पंजावविरुद्ध कोटाला मैदानमा दिल्लीले आफ्नो विजयी लय पाउन प्रयासरत देखिएको छ । यस मैदानमा दिल्लीले पंजावलाई लगातर तीन खेलमा पराजित गरेको रेकर्ड रहेको छ । आइपिएलकै २०१५, २०१६ र २०१७ सिजनमा पंजावलाई पराजित गरेको दिल्लीले चौथो पटक पराजित गर्ने दाउमा रहेको छ ।

यस सिजनमा दिल्लीमा राम्रा खेलाडीको बाहुल्यता रहेपनि टिमका लागि सहि कम्बिनेशन बनाउन कप्तान गौतम गम्भीर र कोच रिक्की पोन्टिङ चुकेको देखिन्छ । दिल्लीबाट ४ विदेशी खेलाडीलाई खेलाउदै आएकोमा अलराउन्डरलाई टिमको प्लेइङ ११ मा राख्दै आएको देखिन्छ तर उनीहरुको योगदान टिमको आवश्यकता अनुसार नहुदा दिल्लीले खेल हारिरहेको छ । 

स्पिन सहयोगी कोटला मैदान : 

दिल्लीको घरेलु मैदान कोटला स्पिन बलरका लागि जहिले पनि सहयोगी देखिन्छ । यस मैदानमा तीव्र गतिका बलरहरुले १० को औसतमा रन दिएका छन भने स्पिनरको औसत ६.३३ मात्र रहेको छ । 

यसै मैदानमा भारतीय चर्चित स्पिनर अनिल कुम्बलेले पाकिस्तानसँगको टेष्ट क्रिकेटमा पहिलो पारीका सबै १० विकेट लिएर रेकर्ड बनाएका थिए । 

यो मैदानमा भारत र न्यूजिल्याण्डबीच पछिल्लो ट्वेण्टी–ट्वेण्टी क्रिकेट भएकोमा ६ विकेट स्पिनरले लिएका थिए ।

सन्दीपको सम्भावना :

केहि दिन अघि दिल्ली डेयरडेभिल्सको आधिकारिक वेभपेजमा कोटला र सन्दीपका बारेमा एक समाचार प्रकाशित गरिएको थियो । जसमा सन्दीपका लागि कोटलाको पिच सुहाउदो रहेको भन्दै सन्दीपको डेभ्यु हुनसक्ने आशयको रिपोर्टिंग गरिएको थियो ।

अहिलेको दिल्लीको टिम कम्बिनेशन हेर्दा विदेशी खेलाडीको कोटाबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, न्युजिल्यान्डका फास्ट बलर ट्रेन्ट बोल्ट र इङल्याण्डका ओपनर ब्याट्स्म्यान जेसेन रोय टिममा पर्ने निश्चित जस्तै छ ।  चौथो खेलाडीको रुपमा सन्दीपको सम्भावना देखिन्छ तर दिल्लीका कप्तान गौतम गम्भीर र कोच रिक्की पोन्टिङको रणनितिमा नै सबै भरपर्ने देखिन्छ ।

यस मैदानमा अमित मिश्राको प्रदर्शन राम्रो भएकाले उनलाई खेलाउने सम्भावना बढी देखिन्छ । यस मैदानमा उनले विभिन्न टि-२० क्रिकेटमा ५० विकेट लिइसकेका छन् ।

त्यस्तै अर्का स्पिनर राहुल तेवतियाले पनि यस सिजनमा राम्रो बलिंग गरेकाले उनलाई खेलाउने निश्चित प्राय देखिन्छ । राहुलले ५ खेलमा ७.३८ को इकोनोमीमा ६ विकेट लिएका छन् । दिल्लीका अर्का स्पिनर शबाज नदीमले यस सिजनमा ४ खेलमा ३ विकेट लिएका छन् भने उनको इकोनोमी रेट १०.५ रहेको छ ।

भारतीय स्पिनरको प्रदर्शन राम्रो नहुनु र कोटला स्पिनरका लागि सहयोगी हुनुले आजको खेलमा सन्दीपको डेभ्यु हुनसक्ने आधारहरु देखिन्छ । यदि आज दिल्ली ३ स्पिनरसँग जाने निर्णय गरेमा सन्दीप अमित र राहुलपछि तेस्रो रोजाई हुनसक्ने देखिन्छ ।

सन्दीपको डेभ्यु भएमा दक्षिण अफ्रीकाका अलराउण्डर क्रिस मोरिस र अस्ट्रेलियाका डेनियल क्रिष्चियन जस्ता खेलाडीहरु बेन्चमा बस्नु पर्ने हुन्छ । सन्दीप आज टिममा परे क्रिस गेल, युवराज सिंह, एरोन फिन्च, डेभिड मिलर, लोकेश राहुलजस्ता चर्चित ब्याट्सम्यानविरुद्ध बलिङ गर्न पाउनेछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै