उत्तर अमेरिका । सन् २०१७ को पछिल्लो तीन महिनामा भिडियो साइट युट्युबले ८३ लाख भिडियोहरु आफ्नो साइटबाट हटाएको छ । साइटमा नचाहिँदा भिडियोहरु हटाउन तदारुकता नदेखाएको भन्दै आलोचना बढेपछि युट्युबले विभिन्न किसिमका भिडियोहरु हटाएको हो ।
हटाएका अधिकांश भिडियोहरु आपत्तिजनक र यौनसँग सम्बन्धित विषयवस्तुका रहेको बताइएको छ । गत सोमबार मात्रै यसबारे युट्युबले खुलासा गरेको हो । यसअन्तर्गतका ८० प्रतिशतभन्दा धेरै भिडियोहरु मेसिनद्वारा पहिचान गरिएको थियो । युट्युब अहिले आफ्नो नीतिबाहिरका विषयवस्तुहरु साइटबाट हटाउन मेसिनमाथि अत्यधिक निर्भर रहेको छ ।
हिंसालाई प्रश्रय दिने, अश्लीलजन्य भिडियोहरु हटाउनकै लागि कम्पनीले अहिले फुलटाइम विज्ञहरुलाई रोजगारी समेत दिएको छ । युट्युबका सीईओ सुसन वोजसिकीले यसअघि नै ठूलो संख्यामा कन्टेन्ट मोडरेटरहरुलाई रोजगारी दिने बताइसकेका छन् । २०१८ मा मात्रै युट्युबले १० हजारलाई यससँग सम्बन्धित तालिम दिने बताएको छ ।
पछिल्लो समय अश्लीलता, बालबालिकाले सर्च गर्दा अनावश्यक कन्टेन्ट (विषयवस्तु)का भिडियो समेत आएपछि युट्युबको आलोचना बढेको थियो भने विज्ञापनदाताले समेत विज्ञापन रोक्ने चेतावनी दिएका थिए । अहिलेसम्म युट्युबले सयौँ एकाउन्टहरु हटाउनका साथै एक लाख ५० हजार भिडियोहरु प्लेटफर्मबाट हटाउनुका साथै बालबालिकालक्षित अनावश्यक कमेन्टहरु कम्तीमा पनि ६ लाख २५ हजार भिडियोमा बन्द गरेको थियो ।
युट्युबका अनुसार हटाइएकामध्ये ६७ लाख भिडियो मेसिनबाट पहिचान गरेर ती भिडियोहरु कुनै एक जनाले मात्रै पनि हेर्नुपहिले नै हटाएको बताएको हो ।