• २०८१ बैशाख १२ बुधबार

ब्राजिलका राष्ट्रपति लुला किन पुगे पोर्चुगल ?

kharibot

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल पुगेका छन् । 

ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको छ, “यो भ्रमण ब्राजिलका मुख्य साझेदारहरूसँगको कूटनीतिक सम्बन्धको पुनः सुरुवातको एक हिस्सा हो ।” 

लुलाको चीन, संयुक्त राज्य अमेरिका र बाजिलको छिमेकी अर्जेन्टिना र उरुग्वेको भ्रमणपछि यो निर्णय भएको कार्यालयले जनाएको छ । 

दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चार वर्षको सापेक्षिक अलगावपछि अन्तर्राष्ट्रिय मञ्चमा ‘ब्राजिल फर्किएको छ’ भन्ने प्रतिवद्धता गर्दै वरिष्ठ वामपन्थी नेताले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । 

सम्झौताकर्ताको रूपमा ब्राजिलको भूमिकालाई पुनर्जीवित गर्ने प्रयास गर्दै उनले सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने कसम खाएका थिए । एकातिर संयुक्त राज्य अमेरिका र युरोप वा अर्कोतर्फ चीन र रूसको पक्ष लिने कुराको उनले विरोध गरेका  छन् । 

तर सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका ७७ वर्षीय नेताले युक्रेन द्वन्द्वलाई लिएर युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि केही कूटनीतिक असहजताको सामना गर्नुपर्ने हुन सक्छ । 

लुला शुक्रबार बिहान लिस्बन आइपुग पनि उहाँको औपचारिक कार्यक्रम शनिबार मात्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो र पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटघाटबाट सुरु हुनेछ । भ्रमणका क्रममा ऊर्जा, विज्ञान, शिक्षा र पर्यटनका क्षेत्रमा करिब एक दर्जन द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । 

गत साता टाइम पत्रिकाले सार्वजनिक गरेको विश्वका प्रभावशाली व्यक्तिको सूचीमा परेका लुलाले सोमबार उत्तरी शहर पोर्टोका व्यापारिक नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनी मङ्गलबार र बुधबार स्पेनको भ्रमण गर्नुहुनेछ । स्पेनमा राजा फिलिप छैटौं र प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । 

यद्यपि, युक्रेनको बारेमा उनको टिप्पणीलाई लिएर भ्रमण विवादमा तानिएको छ । गत साता चीन भ्रमणमा आएका लुलाले वासिङ्टनले युद्धलाई ‘प्रोत्साहन’ गर्न बन्द गर्नुपर्ने र संयुक्त राज्य अमेरिका र युरोपेली संघले ‘शान्तिका बारेमा कुरा गर्न थाल्नुपर्ने’ बताएका थिए । 

उनले युक्रेनलाई द्वन्द्वको लागि दोष दिएको भनी यूरोपेली तथा अमेरिकी नेतृत्व उनीसँग असन्तुष्ट बनेको छ । उनले युक्रेनले क्रिमिया प्रायद्वीप छोड्न सहमत हुनुपर्ने सुझाव दिएका थिए । रूसले युक्रेनविरूद्धको गत वर्षको आक्रमणपूर्व सन् २०१४ मा पिक्रमियालाई कब्जा गरेको थियो ।

लुलाले सोमबार ब्रासिलियामा रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग वार्ता गर्नुभएको थियो । लाभरोभले द्वन्द्वको समाधानका लागि दिएको सुझाबका लागि ब्राजिललाई ‘धन्यवाद’ दिएका थिए । 

पश्चिमा मुलुकहरूको आलोचनापछि लुलाले गत मङ्गलबार आफ्नो स्वर परिवर्तन गर्दै रूसले युक्रेनको क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको भन्दै निन्दा गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै