काठमाडौँ । लियोनेल मेसीले यस सिजनमा क्रिस्टियानो रोनाल्डोले भन्दा २८ मिलियन पाउण्ड बढी कमाई गरेको रिपोर्ट सार्वजनिक भएको छ ।
फ्रान्स फुटबलले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार मेसीले सय मिलियन पाउण्डको ब्यारियरलाई तोड्दै २०१७-१८ सिजनमा ११० मिलियन पाउण्ड कमाई गर्ने भएका छन् ।
योसँगै मेसी यसबर्ष सबै भन्दा बढी कमाई गर्ने फुटबलर बनेका छन् । मेसीको यो कमाईमा उनको बार्सिलोनाबाट आउने पारिश्रमिक, स्पोन्सर सम्झौता र बोनस इत्यादी रहेको उल्लेख गरिएको छ ।
फुटबलमा सधै एक अर्काका प्रतिद्वन्दी रहेका रोनाल्डोलाई यस पटक मेसीले जितेका छन् । मेसीले बार्सिलोनामा गरेको नयाँ सम्झौता अनुसार पनि मेसीको कमाई बढेको हो ।
मेसीले २०२१ सम्मका लागि बार्सिलोनामा ६२६ मिलियन पाउण्डको रिलिज क्लजसहित सम्झौता गरेका छन् । साथै मेसीले बार्सिलोनामा ८० मिलियन साइनिंग बोनस पनि लिएका थिए ।
यस सुचिमा रोनाल्डो ८२ मिलियन पाउण्ड कमाई गर्दै दोस्रो स्थानमा रहेका छन् । धेरै कमाई गर्ने फुटबलरको तेस्रो स्थानमा पिएसजीबाट खेल्ने ब्राजिलियन नेइमार रहेका छन् । उनको कमाई ७१ मिलियन पाउण्ड रहेको छ ।
त्यस्तै सुचीको चौथो स्थानमा रियल म्याड्रिडकै ग्यारेथ बेल रहेका छन् । उनले ३९ मिलियन पाउण्ड कमाई गरेका छन् । त्यस्तै पाचौ स्थानमा बार्सिलोनाका जेरार्ड पिके रहेकाछन् उनले २५ मिलियन पाउण्ड कमाई गरेका छन् ।
यस सूचिको टप फाइभमा प्रिमियर लिग क्लबका कुनै खेलाडी परेका छैनन् ।
त्यसैगरि धेरै कमाई गर्ने म्यानेजरमा भने म्यानचेस्टर युनाइटेडका जोसे मोरिन्होले बाजी मारेका छन् । मोरिन्होले यस सिजनमा २३ मिलियन पाउण्ड कमाई गरेका छन् । त्यस्तै चीनियाँ राष्ट्रिय फुटबल टिमका म्यानेजर मार्सेलो लिप्पीले २० मिलियन पाउण्ड कमाई गर्दै दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै एथलेटिको म्याड्रिडका म्यानेजर डिएगो साइमेअनले १९ मिलियन कमाई गर्दै तेस्रो स्थानमा छन् भने रियल म्याड्रिडका जिनेदिन जिदानले १८ मिलियन र म्यान्चेस्टर सिटीका पप गार्डियालाले १७.५ मिलियन पाउण्ड कमाई गर्दै सूचिको चौथो र पाचौ स्थानमा रहेका छन् ।